खेलकुद

मणि शाह अर्थात् ‘नेपाली म्याराडोना’

२०औँ शताब्दीका कुशल फुटबलर

बैशाख ३१, २०७७

    काठमाडौं : सन् ८० को दशकमा लामो कर्ली कपालवाला एक्लैले बल दौडाएर गोल गर्ने डिएगो अरमान्डो म्याराडोनाको शैलीले विश्वको ध्यान तानेको थियो। 

    म्याराडोनाको त्यो शैलीलाई नेपाली फुटबलरहरुलेसमेत पछयाएका थिए। अझ सवैभन्दा बढी मणि विक्रम शाहले। डिएगो म्याराडोनाको जस्तै कपाल, म्याराडोनाको जस्तो होचो कद , म्याराडोनाको जस्तै ड्रिबलिङ स्किल, लेफ्ट फुट सुटर र जर्सी १० नम्बरका कारण मणिविक्रम शाहलाई ‘नेपाली म्याराडोना’ भनिन्थ्यो। 

    अर्जेन्टिनासँग मिल्दो मनाङ मस्याङ्दीको जर्सीमा उनी मैदान उत्रँदा म्याराडोनाकै झल्को दिने गरेको अहिले चर्चा भइरहन्छ। धेरैले उनलाई ‘गड गिफ्टेड प्लेयर’ भन्छन्। 

    उनका समकक्षीले अहिलेसम्म नेपाली फुटबलले पाएको सवैभन्दा प्रभावशाली खेलाडीको रुपमा शाहलाई चित्रित गर्छन्। डेड बल उनी कमै मिस गर्थे। अहिले पनि नेपाली फुटबलमा वान स्टेप बल हान्न सक्ने खेलाडी धेरै कम छन्। उनी त्यसमा पनि पारङ्गत थिए। 

    मिडफिल्ड र फरवार्ड दुवै खेल्न सक्ने आफ्नो समयमा प्रतिभावान खेलाडी थिए मणि। २०७५ वैशाख ३१ अर्थात उनी सधैँका लागि अस्ताएको दिन। २ वर्षअघि आजकै दिन ‘नेपाली म्याराडोना’ शाह कलेजोको समस्याका कारण ५१ वर्षको उमेरमा नर्भिक अस्पतालमा अस्ताए। 

    तर उनको फुटबल कृति र किस्सा अहिले पनि उस्तै चर्चामा छ। मणिले सन् १९८५ मा बंगलादेशको ढाकामा भएको तेस्रो साफमा राष्ट्रिय टिममा स्थान बनाएका थिए। जतिबेला उनी मात्र १७ वर्षका थिए।

    त्यस प्रतियोगितामा नेपाल तेस्रो भयो। उनले पाँच पटक साफ खेले। सन् १९८७ को साफमा नेपाल तेस्रो भयो। त्यसपछि सन् १९८७ मा दोस्रो भएको नेपाल सन् १९८९, सन् १९९१ मा सहभागी मात्र भयो।  

    सन् १९९३ मा बङ्गलादेशको ढाका भएको छैटौं दक्षिण एसियाली खेलकूद प्रतियोगितामा नेपाललाई स्वर्णपदकसहितको जित दिलाएसँगै उनको चर्चा चुलिन पुगेको थियो। फाइनलमा भारतविरुद्ध २-१ ले पछाडि रहेको अवस्थामा अन्तिम ३० सेकेन्डमा गरेको बराबरी गोल अहिले पनि नेपाली फुटबलमा चर्चित छ। 

    आफूलाई फाउल हानेपछि पाएको अवसरमा भारतका ७ खेलाडीले बनाएको ‘वाल’ तोड्दै फ्री किकमार्फत मणिले गोल गरेका थिए। त्यही गोलका कारण खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो, जहाँ नेपालले ५-४ अन्तरको जित निकाल्दै दोश्रो पटक सागको स्वर्ण जितेको थियो। त्यसपछिको २३ वर्ष नेपाली फुटबल उपाधिविहीन बन्यो। सन् १९९५ मा भारतका भएको सातौँ साफसमेत उनले खेले। 

    सन् १९८५ देखि १९९८ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए मणिले। उनी एसियन कप छनोट १९८६, एसियन गेम जापान १९९४ र बैंककमा १९९८ मा सहभागी भए। 

    सन् १९९८ को एसियाली खेलकुदमा उनले राष्ट्रिय झण्डा बोकेर टिमकै नेतृत्व गर्ने अवसर पाए। उनी एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेर मार्चपास गर्ने एकमात्रै फुटबलर हुन्।

    उनले विश्वकप छनोटका लागि सन् १९८९ मा कोरियामा पनि खेले। उनी ओलम्पिक छनोटमा खेलमा पनि सन् १९८७ जापान र १९९८ मा कोरियामा सहभागी भए। सन् सन १९९७ र १९९८ मा राष्ट्रिय टिमको कप्तानको भूमिका पनि उनले निभाए। राजुकाजी शाक्यपछिका नेपाल टिमका कप्तान हुन् मणि। 

    उनले नेपालको उमेर समुहको टिमबाट समेत खेलेका थिए। १३ वर्षे सिनियर करियरमा उनले ४८ क्यापमासाथ ६ गोल गरेका थिए। क्लब करियरमा उनले मनाङ मस्र्याङ्दी, आरसीटी, एनआरटी, फ्रेण्डस क्लब, आरएनएसीबाट फुटबल खेले। उनको धेरै समय मनाङ मस्र्याङ्दी क्लबमै बित्यो। जहाँ उनले टिमको कप्तानी सम्हाले

    म्याराडोना भेट्न पाएनन्

    अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष हुँदा मणिलाई सन् २००२  विश्वकपको सेमिफाइनल र फाइनल जापानको रंगशालामा गएर हेर्ने मौका मिलेको थियो। त्यतिबेला उनले आफ्ना आइडल प्लेयर म्याराडोनासँग भेट हुने आश राखेका थिए। 

    म्याराडोनाका लागि फिफाले रंगशालामा बसेर हेर्ने विशेष व्यवस्था मिलाएको थियो। फुटबल हेर्न म्याराडोना जापान त पुगे तर भिसा विवादका कारण उनले होटलमा बसेर खेल हेर्नुपर्‍यो। 

    यसपछि म्याराडोना भेट्ने मणिको सपना त्यहीँ तुहियो। आफना प्रिय खेलाडी म्याराडोनाको चिनो मणिसँग थिएन। तर पेलेको हस्ताक्षरसहितको जर्सी उनीसँग छ। ब्राजिलमा रहेका मणिका एकजना फ्यानले पेलेको हस्ताक्षरसहितको जर्सी मणिलाई पठाइदिएका थिए। जहाँ पेलेले आफनो हस्ताक्षरसहित मणिको नाम नै उल्लेख गरेका छन्। 

    सन् २००४ को युरो कपको सिलसिलामा अन्तर्वार्ता दिने क्रममा भारतका पूर्वस्टार भाइचुङ भुटियाले मणिको विषयमा भनेका थिए, ‘मेरो नजरमा दक्षिण एसियाली देशमा युरोपको स्ट्याण्डर्डमा खेल्न सक्ने खेलाडी मणि मात्रै हुन्।’ 

    मणि अहिले यो दुनियाँमा छैनन्। छ त केबल उनको सम्झना मात्रै। नेपाली फुटबलका चम्किलो तारा  मणिलाई उनका समकक्षीहरु यसरी सम्झन्छन्। 

    दीपक अमात्य (पूर्व कप्तान, राष्ट्रिय फुटबल टिम)

    मणि शाह नेपाली फुटबलको एक जना परिचित व्यक्तित्व हुन्। उनी सारै कुशल खेलाडी थिए। अंग्रेजीमा भन्छन् नि, क्यारिजम्याटिक। उनी क्यारिजम्याटिक खेलाडी थिए। फुटबलमा उनी सधैँ समर्पित रहे। फुटबलको राजनितिमा कहिल्यै परेनन्। सधैँ फुटबलकै पक्षमा उभिए। 

    व्यक्तिगत रुपमा मणि र मेरो परिचय खेल मैदानमा भएको थियो। मलाई अहिले पनि सम्झना छ, रंगशालाको भेटघाट। उमेरमा म मणिभन्दा सानो। उनको भाइ रतन र म सँगैका थियौँ। मैले मेरो फुटबल जीवनको धेरै समय मणिसँग खेल्ने मौका पाएँ।

    रोयल नेपाल एयरलाइन्स (आरएनएसी), रानीपोखरी कर्नर टिम (आरसीटी) र मनाङ मस्याङदी क्लबबाट पनि खेल्यौं। खेल्दा खेल्दै सम्बन्ध गहिरिँदै गएको हो। पछि गएर खेलाडी भन्दा पनि मणि र मेरो पारिवारिक सम्वन्ध जस्तै नै भयो। उनले मलाई आफनो भाइ झैँ व्यवहार गर्थे। खेल जीवनबाट सन्यासपछि म धेरै समय नेपालमा रहिन। 

    एन्फाको राजनीति र नातावादबाट आफूलाई टाढा राख्ने विचार गरेँ। उनलाई सम्झँदा अहिले पनि मेरो आँखा रसाउँछ। उनी बारम्बार मलाई कहिले फर्कने भन्दै सोध्ने गर्थे। मेरो जवाफ सधैँ, म आउँछु मणि भन्ने हुन्थ्यो। उनले स्वर्गीय हुनुभन्दा एक दिनअघि फोन गरेका थिए। ५ मिनेट मात्रै कुरा भयो। 

    सधै झैँ कहिले आउँछस भनेर साधे। मैले आउँछु छिट्टै आफनो स्वास्थ्यको ख्याल गर्नु, विचार गर्नु भनेको थिएँ। धेरै नै विसन्चो भएको रहेछ क्यारे म आराम गर्छु भनेर फोन राखिदिएको थियो। भोलिपल्ट मेरो सबैभन्दा प्रिय दाजु गुमाएको खबर बैनी नवीनाबाट पाएँ। मैले आफुलाई सम्हाल्न सकिनँ।  मणि अहिले जीवित नरहे पनि उनी मेरो सम्झनामा सधैँ रहिरहनेछन्। 

    खेलमात्रै नभएर खेल बाहिर पनि तीता मीठा सम्झना धेरै छन्। खेलप्रतिको उनको योगदान अतुलनीय छ। उनी जस्ता खेलाडी नेपालआमाले विरलै पाउँछिन्। ‘आई न्यु इट्स गोन हेप्पेन आई रियल्ली मिस हिम। आई नो हि इज इन गुड प्लेस।’ भगवानसँग प्राथना छ, उनको आत्मलाई शान्ति मिलोस्। सधैँ सधैँ उनी सम्झनामा रहनेछन्। 

    खेल जीवनमा मणिको सबैभन्दा बिर्सन नसक्ने क्षण सन् १९९३ को ढाकामा भएको फाइनल नै हो। उनले गरेको फ्री किक गोल सधैँ म सम्झन्छु। त्यतिबेला उनको प्रर्दशन र अन्तिम क्षणमा गरेको गोल द्येट वास हिज बेस्ट मुमेन्ट। हामीले गोल्ड जित्न पनि सफल भयौँ। उनमा एक किसिमको घमण्ड थियो। 

    त्यो खेलप्रतिको घमण्ड हो। देखिस् त तेरो दाइले कसरी गोल गर्‍यो भनेर सुनाउँथे। सँगै मेरो प्रशंसक पनि थिए। उनी मेरो शुभचिन्तक पनि थिए, ‘हि वाज मोर लाइक ए मेन्टर।’ 

    हरि खड्का (पूर्व कप्तान नेपाली राष्ट्रिय फुटबल टिम)

    मणि दाइको त के कुरा गर्ने नाम नै काफी छ। एउटा शताब्दीमा जन्मन पाएको नेपाली फुटबलर। सवैभन्दा भन्दा ठूलो कुरो खेलाडीहरु फुटबलमा आउँछन् जान्छन् तर सबै यादगार रहँदैनन्। मणि दाइको हकमा त्यो लागु हुँदैन। 

    हामी गाउँबाट काठमाडौंमा गएर प्रशिक्षण गर्दा मणि दाइले जुन प्रकारको प्रेरणा र माया दिनुहुन्थ्यो, त्यो आजसम्म यादगार छ। मणि दाइको वान स्टेप सुट, सर्ट पास, एक्युरेसी र सबैभन्दा ठूलो कुरा उहाँले नयाँ खेलाडीलाई दिने ऊर्जाले खेलमा लगाव बढ्थ्यो। नेपालले उहाँ जस्तो खेलाडी पाउन अब सायद धेरै वर्ष कुर्नुपर्छ। 

    मणि दाइको सम्मानमा, उहाँको स्मृतिमा प्रतियोगिता होस। पुरस्कारका रुपमा त युवा पुरस्कार भनेर मणि दाइको नाममा राखिएको छ। मणि दाइको स्मृतिमा युवास्तरको प्रतियोगिता गरिदिए अझ राम्रो हुन्थ्यो। ललित दाइ (पूर्व एन्फा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ) को जसरी शालिक राखिएको छ, मणि दाइको पनि शालिक राखिदिनुपर्छ। मणि दाइ जहाँ भए पनि नेपाली फुटबलले उहाँलाई मिस गरिरहन्छ।  

    राजुकाजी शाक्य (पुर्व कप्तान एवम् प्रशिक्षक नेपाली राष्ट्रिय फुटबल टिम)

    मणि शाह हामी सिनियर टिममा हुँदा जुनियर टिममा थिए। साह्रै राम्रो खेलाडी थिए, सिनियर दाइहरुले एकदमै मनपराउने उनलाई। लेफ्ट फुटर सुट, एक्युरेसी, पासहरु एकदमै टिम स्प्रिट भएको खेलाडी थिए। 

    ‘नो नर्भस’ ‘हाइ डोमिनेटिङ पावर’ भएका मणि मैदानमा छिरेपछि जित्नैपर्छ र खेल्नैपर्छ भन्ने भावना बोक्ने खेलाडी हुन्। सन् १९८५ मा आएर हामीसँगै राष्ट्रिय टिममा आए। बीचमा खुट्टा बिग्रिएर खेलमा ब्रेक पनि भएको थियो। १९९५ सम्म त हामीसँगै खेलेको हो। करिब १० वर्ष सँगै खेल्यौँ। 

    क्लबबाट पनि खेल्यौं। हामीले आरएनएसीबाट खेल्यौँ, मनाङबाट पनि खेल्यौँ। धेरै राम्रा खेलाडी हुन्। त्यसबेला हामी उनलाई म्याराडोना भन्थ्यौँ। अहिले पनि हामी उनलाई सम्झँदा म्याराडोना नै भन्छौँ। सबैले मन पराउने एकदम मज्जाको मान्छे। टिम स्प्रिट भएको जुनियर भए पनि हामीलाई जोस्याउने। खेल्नुपर्छ, जित्नुपर्छ भन्थे। 

    अब उनको सम्मानका लागि हामीले हुनेवाला केही छैन। मणि शाह कस्ता खेलाडी हुन् भन्ने तथ्य लुकाएर लुक्दैन। उनको सम्मानमा यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्दा पनि नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् र एन्फाले निर्णय लिउन्। तर मणिप्रति सम्मान चाहिँ गरिनुपर्छ। उनको आत्माको चिरशान्तिको कामना। 

    बालगोपाल महर्जन (पूर्व खेलाडी एवम् प्रशिक्षक नेपाली राष्ट्रिय फुटबल टिम)

    उहाँ नेपालमा मात्रै नभएर दक्षिण एसियामा नेपाली म्याराडोनाको रुपमा चिनिनुहुन्थ्यो। उहाँलाई किन यसो भनियो भन्दा मणि दाइको खेल्ने शैली, हाउभाउ, कद लगभग म्याराडोनासँग मिल्दोजुल्दो थियो। 

    उहाँको स्किल र स्कोरिङ क्यापासिटी राम्रो थियो। गेममा फोकस गर्ने, टिमलाई कन्सन्ट्रेट र व्यालेन्स गर्ने उहाँको अब्बल पक्ष हो। उहाँसँग मैले राष्ट्रिय टोली र क्लबमा पनि सँगै खेल्ने मौका पाएको थिएँ। मलाई त्यसमा एकदम खुशी लागेको छ। 

    बिडम्बना अहिले उहाँ हामी माझ हुनुहुन्न। त्यसलाई नेपाली फुटबलको दु:खद क्षण भन्नुपर्छ। नेपाली फुटबलले उहाँ जस्तो क्षमतावान खेलाडी पाउन अझै धेरै वर्ष कुर्नुपर्छ। उहाँ साधारण स्वभाव र मिजासको हुनुहुन्थ्यो।

    खेलका क्रममा उहाँको व्यवहार कडा हुन्थ्यो, त्यो स्वभाविक पनि थियो। लिडिङ क्यापासिटी भएको खेलाडी हुनुहुन्थ्यो। खेल क्षेत्रमा अविस्मरणीय योगदान दिएकाले उहाँको नाममा एन्फाबाट पुरस्कार दिन सुरु भएको छ। अब उहाँको नाममा प्रतियोगिता गर्नुपर्छ। अन्तर्राष्ट्रियस्तरको प्रतियोगितालाई उहाँको नाम दिएर आयोजना गरिए उच्च सम्मान हुनेछ। 

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]