समाज

लकडाउन शिक्षण : शिक्षक स्टुडियोमा, विद्यार्थी घरमा

रेडियोबाटै एसइई तयारी गरिरहेका छन् विद्यार्थी

बैशाख २८, २०७७

    पर्वत : ‘आई उड प्रिजन्ट सम कन्डिसन, रुल्स एन्ड एक्जामपल्स ह्विच यु ह्याभ टु राइट इन योर एक्ससाइज कपी। अन द सेकेन्ड पार्ट यु ह्याभ टु प्राक्टिस टु सोल्भ सम ग्रामेटिकल्स प्रबलम्स।’

    सदरमुकाम कुस्मामा रहेको पञ्चासे एफएमको स्टुडियोबाट नारायण माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक प्रकाश रिजाल यसरी नै बोल्दै थिए। केही बेरमा नै स्टुडियोको फोनमा घण्टी बज्छ, विद्यार्थीहरुले अंग्रेजी भाषामा नै प्रश्न गर्छन्, अनि शिक्षक रिजालले त्यसमा विद्यार्थीलाई सघाउँछन्। 

    कुस्माकै रेडियो कुसुममा विज्ञान विषयका शिक्षक अमृत अधिकारीले विद्यार्थीसँग फोनमा अन्तरक्रिया गर्दै थिए । रेडियो शालिग्राममा गणित विषयका शिक्षक गोविन्द पोखरेलले पनि बिहानीको समयमा रेडियोबाट बोल्दै विद्यार्थीहरूलाई गणितका समस्या समाधानका उपायबारे बताउने गरेका छन्। 

    गत चैत ६ गतेबाट सुरु हुने भनिएको यस वर्षको एसइई परीक्षा चैत ५ गते साँझ स्थगित भयो। परीक्षा दिने तयारीमा परीक्षा केन्द्र नजिकै बसोबास गरेका द्यार्थीहरुको मनस्थिति एकाएक बदलियो। अब परीक्षा कहिले र कसरी गर्ने? भन्ने टुंगो नलागेको अवस्थामा देशका धेरै स्थानीय तहले कक्षा १० का विद्यार्थीलाई लक्ष्य गरी रेडियोमार्पmत एसइई कक्षाहरू सञ्चालन गरिरहेका छन्। 

    इन्टरनेट नपुगेका ठाउँमा मोबाइल डेटाबाट अनलाइन कक्षा चलाउनुभन्दा रेडियोबाट सञ्चालन गरिएका कार्यक्रमहरू प्रभावकारी पनि भएका छन्। परीक्षाको मुखैमा भएको लकडाउनले एसइई परीक्षा दिने धेरै विद्यार्थीहरूको मनस्थिति बिग्रिएको हुन सक्ने शिक्षक र मनोविश्लेषकहरु बताउँछन्। 

    परीक्षाको तयारी गरेका उनीहरू लकडाउनका कारण न त विद्यालयमा गएर थप अध्ययन गर्न पाएका छन् न त कुनै इन्स्टिचुयुटमा पुगेर अध्ययन गर्न पाएका छन्।

    यही अवस्थालाई मध्यनजर गरेर सदरमुकामसमेत रहेको कुस्मा नगरपालिकाले रेडियो शिक्षण सुरु गरेको हो। नगरपालिका अन्तरगत शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षत्रीका अनुसार रेडियोको पहुँच सबै वर्गका मानिसमा भएका कारण इन्टरनेटको माध्यमबाट भन्दा रेडियोको माध्यमबाट सञ्चालन गरिने शिक्षण सिकाइलाई प्रभावकारी मानेर अंग्रेजी, गणित र विज्ञान विषयको कार्यक्रम सुरु गरिएको हो।

    ‘गरिब परिवारलाई नेटको पहुँच छैन, तर सामान्य मोबाइल सेटमा पनि रेडियो बज्ने भएकोले विपन्न र ग्रामीण क्षेत्रका विद्यार्थीको फाइदालाई पनि ध्यानमा राखेर रेडियोबाट कार्यक्रम सुरु गरेका हौँ।’ क्षत्रीले भने, ‘यसका लागि कुस्मा नगरपालिकाका तीन वटा रेडियोमा कार्यक्रम दिइएको छ। एउटा रेडियोलाई एक लाख रुपैयाँ दिने गरी तीन लाखको लगानीमा तीन विषयका लागि कार्यक्रम चलिरहेको छ।’

    सदरमुकाम र आसपासकै क्षेत्रमा समेत इन्टरनेटको पहुँच सबै विद्यार्थीमा नभएको बेलामा ग्रामीण क्षेत्रका विद्यार्थीलाई नेटको सुविधा हुनु कठिन कुरा हो। यही कारण विद्यार्थीहरूले बढी अप्ठ्यारो मान्ने अंग्रेजी, गणित र विज्ञान विषयको अध्यापन रेडियोबाट सुरु गरिएको हो। 

    तीन वटा रेडियोले बिहान ७ देखि १० बजेसम्म १÷१ घण्टाका दरले कार्यक्रम चलाउने गरेका छन्। रेडियोमार्पmत चलेका कार्यक्रममा विद्यार्थी निकै सक्रिय भएको र त्यसमा अभिभावकदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्षको समेत फोन आउने गरेको शिक्षक प्रकाश रिजालले बताए।

    कोरोनाको जोखिम र लकडाउनका कारण विद्यार्थीहरू आफैंले अध्ययन गर्दै आएको विद्यालयमा पनि जान सकेका छैनन्। तोकिएको समयभन्दा २ महिना ढिला भइसक्दा कतिपय विद्यार्थीले तयारी गरेको विषयवस्तुमा अलमल हुने बेला हुन लागेको छ। 

    यस्तो अवस्थामा रेडियोबाट निःशुल्क सुन्न पाइने कार्यक्रमले विद्यार्थीहरूलाई नौलो अभ्यास र नयाँ जोस दिएको छ। फलेवास नगरपालिकाका विद्यार्थी विकास भण्डारीलाई पनि रेडियो कार्यक्रमले परीक्षाको तयारीमा जुट्न सजिलो बनाएको अनुभव छ।

    ‘पढेको कुरा नै बिर्सिन लागिएको थियो। न गाउँमा ट्युसन चलेको छ, न स्कुल जान पाइएको छ,’ उनले भने, ‘रेडियोबाट सुन्दा धेरै सजिलो भएको छ, नबुझेको बेलामा रेडियोको नम्बरमा फोन गरेपछि सर बोलेर प्रश्नको जवाफ दिनुहुन्छ।’

    रेडियोबाट प्रसारित विषयवस्तुले विद्यार्थीलाई फाइदा भयो वा भएन? भनेर त्यसको मूल्यांकन गर्दै रेडियो कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्ने हो भने रेडियो शिक्षण कार्यक्रम ‘हिँड्दै छ, पाइला मेट्दै छ’ जस्तो मात्र हुने तथा पैसा खर्च भए पनि उपलब्धि नदेखिन सक्ने भएकोले कार्यक्रम चलाउने शिक्षक र स्थानीय तहले पृष्ठ पोषण लिँदै कार्यक्रम सञ्चालन गर्नुपर्ने शैक्षिक सरोकारवालाहरूको भनाइ छ। 

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]