अर्थ

कोरोना महामारीकै बीच यसरी बन्दैछ मध्यपहाडी लोकमार्ग

बैशाख २८, २०७७

    पर्वत : कोभिड १९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थगित भएको मध्यपहाडी लोकमार्गको काम पुन: अघि बढाइएको छ।

    छिमेकी जिल्ला बागलुङमा कोरोना भाइरस सङ्क्रमित भएका दुईजना भेटिएपछि कडाइका साथ लकडाउन भएको पर्वतमा जोखिम कम हुँदै गएपछि ठूला आयोजना अन्तर्गतको एक मध्यपहाडी लोकमार्ग निर्माणलाई निरन्तरता दिइएको हो। सरकारले समेत बाहिरबाट श्रमिकहरू नल्याई जिल्लाभित्रै रहेर काम गरिरहेकाहरू मार्फत सडक निर्माण अघि बढाइरहेको छ। लकडाउनको समयमा जिल्लाबाट बाहिर नगएकाहरूलाई काममा लगाएर सडक निर्माण अघि बढाइएको आयोजना कार्यालयका प्रमुख आशिष थापामगरले बताए। 

    ‘यो अवस्थामा पहिलेको रफ्तारमा त काम हुँदैन, तर रोकेर राख्दा पनि निकै कठिन भइरहेको छ, सम्भव भएको काम सुचारु गराउने भन्ने निर्णय केन्द्रबाट आएका कारण नै काम थालिएको हो,’ उनले भने, ‘ठेकेदार कम्पनीले बाहिरका कामदारहरू नल्याई लकडाउनको बेलामा घर फर्किन नसकेकाहरूलाई नै काममा लगाएको छ, निकै न्यूनतम काम भइरहेको छ, पर्वतसँगै कास्की र बागलुङमा पनि काम चलिरहेको छ।’

    उनका अनुसार लोकमार्गको पर्वत खण्डअन्तर्गत कुस्माको खरेहामा कल्भर्ट निर्माण, पातिचौरमा चक्लाबन्दी तथा बेतेनी र चुवामा भीर कटान तथा चक्लाबन्दीको काम भइरहेको छ। बेतेनीमा भीर काट्ने काम भइरहेको भए पनि एक्स्काभेटर बिग्रिएको र लकडाउनका कारण मर्मतमा समस्या हुँदा त्यहाँको काम रोकिएको छ। 

    आयोजना कार्यालयका अनुसार लोकमार्गअन्तर्गत पर्वतमा २४ किलोमिटरको सडकको काम हुन्छ। अधिकांश ठाउँमा सबै काम सकेर कालोपत्रे गर्न तयारी अवस्थामा राखिएको छ। लकडाउनका कारण झन्डै डेढ महिनासम्म काम हुन नपाउँदा सडक निर्माणको रफ्तार निकै घटेको भए पनि हालसम्म झन्डै ६५ प्रतिशत काम पूरा भएको छ। आयोजना प्रमुख थापामगरले पर्वतमा गर्नुपर्ने २४ किलोमिटरको काममध्ये ४ किलोमिटरमा कालोपत्रेको समेत काम सकिएकोले अब २० किलोमिटरमा मात्र काम बाँकी रहेको र त्यो काम सक्नका लागि झन्डै तीन महिना लाग्न सक्ने जानकारी दिए। 

    ‘निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले ७५ जना मात्र कामदारलाई सामाजिक दुरी कायम गराएर काममा लगाएको छ। कालोपत्रेको काम मेसिनबाट हुने भएकोले सुरु भएपछि धमाधम हुन्छ,’ आयोजना प्रमुख थापाले भने, ‘पहिलेकै गतिमा काम हुन पाए त छिटै सकिन्थ्यो, तर अब कालोपत्रे सुरु भयो भने पनि तीन महिना लाग्ला।’

    आयोजनाका अनुसार लकडाउनका कारण बाहिरबाट ल्याउनुपर्ने कच्चा तथा तयारी सामग्रीहरू ल्याउन नपाउँदा नै अब पनि काम गर्न समस्या भइरहेको छ। स्थानीयस्तरबाट उपलब्ध हुन सक्ने सामग्रीहरूको अभाव नभए पनि आयात गर्नुपर्ने सामग्रीहरूका कारण पनि सडकको काम लम्बिएको छ।

    बाहिरबाट सामान ल्याउन परिस्थिति सहज नभएको, ठाउँ–ठाउँमा पार हुनको लागि पटक–पटक पास बनाउन झण्झट रहेको लगायतका कारण सडक निर्माण द्रूत गतिमा अघि बढाउन सकिएको छैन। लोकमार्गको बागलुङ खण्डमा भने लकडाउनकै अवधिमा पनि झन्डै पाँच किलोमिटर सडक कालोपत्रे भएको छ। यद्यपी यो बेलासम्म १७ किलोमिटर पूरा गर्ने लक्ष्य राखिएको थियो।

    आगामी भदौ ३० सम्म सक्नेगरी पर्वत खण्ड विस्तारको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले तोकिएकै समयमा काम सक्ने गरी पछिल्लो समय करिब नौ सय कामदार परिचालन गरेको प्रबन्धक गोविन्द भुसालले जानकारी दिए। वैशाख २५ पछि पनि कामलाई निरन्तरता दिन सकेमा असारसम्ममा नै पर्वत खण्डको सबैजसो सडक कालोपत्रे गरेर सक्ने योजना रहेको आयोजनाले बताएको छ।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]