समाज

गाउँ फर्किएका युवाको उत्तम व्यवस्थापन नै कृषि र पशुपालन

बैशाख २७, २०७७

    पर्वत :  यतिबेला कोभिड १९ को संक्रमणबाट जोगिनका लागि जिल्लाभित्र, बाहिर र वैदेशिक रोजगारीसम्म पुगेर फर्केका युवा गाउँमै छन्। देश लकडाउन र रोजगारी स्थगित बनेपछि उनीहरू गाउँमै बसेका हुन्।

    कतिपयको रोजगारी गुमिसकेको छ। त्यस्तै, रोजगारीका लागि विभिन्न ठाउँ युवा अब बेरोजगार बनेर गाउँमै फर्किनुपर्ने अवस्था आउनसक्नेप्रति धेरैले चिन्ता व्यक्त गरेका छन्।

    प्राथमिकतामा कृषि तथा पशुपालन

    कोरोनाले रोजगारीबाट विस्थापन गर्दा गाउँ फर्किएका युवाको व्यवस्थापनको लागि पर्वतका स्थानीय तहहरूले भने कृषि तथा पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।

    गाउँमा स्वरोजगार बन्नको लागि साना उद्योग वा कृषि क्षेत्र बाहेकका विकल्प मुस्किल हुने भएकोले विदेश वा सहरबाट गाउँ फर्किएकाहरूलाई कृषि क्षेत्रमै संलग्न गराउने गरी योजनाहरू निर्माणको काम गरिरहेको जिल्लाका स्थानीय तहहरूले बताएका छन्।  

    महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले कृषि र निर्माणको क्षेत्रमा गाउँपालिकाले रोजगारीका अवसरहरू सिर्जना गरेर कोरोनाका कारण गाउँ फर्किएकाहरूलाई काम दिने योजना बनाउन लागिएको बताए।

    १५ सय युवालाई रोजगारी दिने महाशिलाको दाबी

    ‘महाशिला विकास स्वयंसेवक कार्यक्रममा अहिले पनि ११ प्रकारका काममा युवाहरूलाई लगाएका छौँ। अब कोरोनाबाट फर्किएकाहरूलाई पनि काम दिनको लागि अध्ययन गरेर टिम नै बनाइएको छ’, उनले भने, ‘उनीहरूको सीप र क्षमताको आधारमा रोजगारी दिइनेछ। गाउँमा बाँझिएका जग्गाहरूको सदुपयोग गरेमा फर्किएकाहरू खाली बस्न पर्ने छैन।’

     मासु, दूध र तरकारी उत्पादनमा कम्तीमा पनि १५ सय युवालाई रोजगारी दिन सकिने महाशिला गाउँपालिकाले दाबी गरेको छ। आधुनिक कृषिमार्फत उत्पादनको महाअभियानमा उनीहरूलाई जोड्ने गाउँपालिकाले बताएको छ। महाशिला गाउँपालिकामा अहिलेसम्मको तथ्यांकअनुसार झण्डै ६ सय जनालाई रोजगारी दिनुपर्ने देखिएको छ।

    फलेवासको पनि कृषिमै जोड

    फलेवास नगरपालिकाले पनि गाउँ फर्किएकाहरूलाई कृषि तथा पशुपालनमा नै जोड्ने तयारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले त्यसैअनुसार योजना र बजेट तयार पार्ने बताए।

    रोजगारी गुमाएकाहरूलाई स्वरोजगार बनाउने उपायका रूपमा व्यावसायिक तथा फार्म लेभलमा गरिने तरकारी उत्पादन नै भएको उनको भनाई छ।

    ‘खेतीपाती गर्ने, गाई भैँसी पाल्नेलगायत कुराहरूमा सघाउने गरी हामीहरूले योजना तयार पारिरहेका छौँ।’ रिजालका अनुसार चैत १० पछि गाउँ भित्रिएकाहरूको सङ्ख्या झन्डै डेढ सय छ।

    सदरमुकामसमेत रहेको कुस्मा नगरपालिकाकी उपमेयर सीता काफ्ले लामिछानेले पनि कोरोनाका कारण रोजगारी छाडेर गाउँमा आएकाहरूको व्यवस्थापनको उत्तम विकल्प कृषि क्षेत्र नै रहेको बताइन्।

    ‘कुस्मा नगरपालिकामा पर्यटनको पनि सम्भावना बलियो छ, तर कोरोनाका कारण यो क्षेत्र पनि तहसनहस भएको छ। उनीहरूको उत्तम विकल्प कृषि क्षेत्र नै हो’ उनले भनिन्। कृषि र पशुपालनमा गएका वर्षमा भन्दा बढी बजेट विनियोजन गरी एक घर एक रोजगार सिर्जना गरिने विषयमा छलफल चलिरहेको उनको भनाइ छ।

    गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल पनि कृषिलाई गुजारामुखीबाट व्यावसायिक बनाउँदै लानुपर्ने बताउँछन्। ‘कोरोनाले गाउँ फर्काएको यो अवस्थालाई चुनौतीभन्दा पनि मौकाको रूपमा लिनुपर्छ। गाउँमा फर्किएकाहरू व्यावसायिक कृषिमा लाग्नु उत्तम विकल्प हो’, लम्सालले भने।

    प्रदेशको बजेटमा युवाहरूलाई योजनाका प्रस्ताव ल्याउन उनको सुझाव छ। नयाँ वन ऐनले ६० टुरिज्म र एग्रो टुरिजमसँग सम्बन्धित ६० प्रकारका कामहरू काम गर्न दिएको भन्दै बेरोजगार युवालाई यसैमा लगाउन सकिने उनको भनाइ छ।

    श्रम र क्षमताका आधारमा काम

    त्यस्तै, पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पदम गिरी भने संघीय सरकारको सहयोगमा स्थानीय सरकारले विशेष योजनाहरू तयार पार्नुपर्ने बताउँछन्।

    गाउँ फर्किएका युवाहरूको श्रम र क्षमताको आधारमा काम दिनुपर्ने उनको भनाइ छ। कोही कसैले पनि खाली बस्नुनपर्ने अवस्था तयार गर्न सरकारले सहयोग गर्नपर्ने उनको भनाइ छ।

    ‘नेपालभित्रै रोजगारीका अवसर खोजिनुपर्छ। स्थानीय सरकारले दक्ष, अर्धदक्ष र अदक्ष श्रम शक्तिको डाटा उठाएर श्रमिकको चहाना अनुसारका काम दिनुपर्छ’, उनले भने।

    बिचौलियाको अन्त नभई काम गर्न सकिन्‍न : स्थानीय युवा

    गाउँको बाँझो जग्गाको सदुपयोग गर्न सकिने उत्तम विकल्प भए पनि कृषि क्षेत्रमा रजाइँ गरेका बिचौलियाहरूको अन्त्य नभएसम्म कृषिबाट सफलता पाउन नसकिने स्थानीय युवाको बुझाइ छ।

    वैदेशिक रोजगारीबाटै फर्किएका फलेवास नगरपालिकाका युवा प्रदीप रेग्मीले भने, ‘भारतबाट चोरी बाटो हुँदै आउने कृषि उत्पादनहरुले नेपालको अर्गानिक कृषि उत्पादनलाई विस्थापित गरेको छ’,

    उनले भने, ‘अब स्थानीय तहले कृषकहरूले उत्पादन गरेको वस्तुको बजार र मूल्यको लागि प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ। भाषणमा मात्र कृषि विकासको नारा बोकेर युवाहरू स्वरोजगार बन्न मुस्किल छ।’

    सरकारी तथ्याकंले पनि लकडाउन सकिनासाथ ५ लाखभन्दा बढी व्यक्तिहरू भारत बाहेकका देशबाट नेपाल फर्कन चाहने देखिएको छ। तिनलाई रोजगारी वा कुनै न कुनै कामको व्यवस्थापन गर्न नसक्ने हो भने बेरोजगारी र भोकमरीको अवस्था एकैपटक सामना गर्नुपर्ने हुन सक्ने जोखिम छ। 

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]