समाज

कोरोना हटलाइनमा अनावश्यक फोनले वाक्क चिकित्सक

छिमेकीको चासोका फोन धेरै, रिजार्च कार्डसमेत माग्छन् : चिकित्सक

बैशाख २४, २०७७

    पर्वत : कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणमा लिन गण्डकी प्रदेश सरकारले गत चैत १० गतेबाट १०९२ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्यायो।

    उक्त हटलाइनमा दैनिक सयौं फोन आउने गरेका छन्। प्रदेश सरकारले स्वास्थ्यसँग सम्बन्धित तीव्र रुपमा राहत तथा उद्धारका लागि सधैँभरि प्रयोग गर्न सकिने गरी यो हटलाइन सञ्चालनमा ल्याएको हो। अहिले भने यसले कोरोना भाइरस संक्रमणबारे परामर्श दिने गर्छ। 

    शंका भएका व्यक्तिहरूले आफ्ना लक्षण तथा अन्य तौरतरिकाबारे जान्न प्रयोग हुने हटलाइनमा अनावश्यक फोनहरू पनि उत्तिकै मात्रामा जाने गरेका छन्।प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माका अनुसार गत शनिबारसम्म हटलाइनमा ७ सय ७२ जनाले मात्र कोरोना संक्रमण वा यससँग सम्बन्धित विषयमा जानकारी लिएका छन्। 

    दैनिक रूपमा आउने सयौँ फोनहरूमा अनावश्यक कल पनि आउने गरेको पाइएको छ। हटलाइनमा गरिएका फोनमध्ये कोरोनाको विषयमा सोधिएका प्रश्नहरू भएमा ती फोनलाई रेकर्ड गरेर तथ्यांकमा राख्ने गरिएको छ।

    ‘म यस्तो ठाउँबाट आएको हुँ, मेरो छिमेकी अन्य जिल्लाबाट आएको छ। मेरो पेट, टाउको दुख्यो, रुघा लाग्यो, यस्तो औषधि खाएको छु अब के गरौँ? लगायतका कुराहरू धेरै राख्ने गरेको पाइएको छ,’ संयोजक शर्माले भने, ‘७ सय ७२ त हाम्रा रेकर्डेड कलहरू हुन्। अनावश्यक आउने फोनहरूको संख्या त यसको तेब्बर होलान्।’ हटलाइनमा फोन गर्दा पैसा नलाग्ने भएका कारण पनि अनावश्यक फोनहरू आउने गरेका उनको भनाइ छ। 

    हटलाइनमा फोन गरेर माग्छन् रिचार्ज कार्ड

    कोरोना भाइरसको विषयमा जानकारी दिन स्थापना गरिएको हटलाइनमा कतिपयले फोन गरेर हाँसो र मजाकसमेत गर्ने गरेका शर्मा बताउँछन्। कतिपयले त आफ्नो मोबाइलमा ब्यालेन्स सकिएकाले रिचार्ज गरिदिन पनि भन्ने गरेका उनले गुनासो गरे। 

    ‘यसलाई सञ्चालन गर्नुको प्रमुख उद्देश्य त कोरोनाका शंकास्पद बिरामीहरूले गोप्य रूपमा अस्पतालमा नगई घरबाटै पनि जानकारी लिन सकून् र प्रदेश सरकारले पनि उनीहरूको तथ्यांक राख्न सकोस् भन्ने हो,’ शर्मा भन्छन्, ‘तर रमाइलो र हाँसोको रूपमा दैनिक धेरै फोन पनि आउने गरेका छन्।’ यसले गर्दा हटलाइनमा समस्याबारे जवाफ दिन बसेका चिकित्सकहरुलाई हैरानी हुने गरेको उनले बताए। 

    संयोजक शर्मा भन्छन्, ‘यस्तो अनावश्यक कुराले साँच्चीकै समस्यामा परेका व्यक्तिले चिकित्सकसँग कुरा गर्ने अवसर गुम्छ।’ हटलाइन दुरुपयोग नगर्न प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले अनुरोध गरेको छ।

    छिमेकीका चासोका फोन धेरै

    हटलाइनमार्फत कमैले मात्र आफ्ना समस्या बताउने गरेका छन्। दीर्घरोग, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेलगायत लक्षणहरू, त्यसको निदान यस सेवामार्फत दिइन्छ। तर धेरैजसो फोन एउटा छिमेकीको चासो बुझ्न आउने गरेका संयोजक शर्मा बताउँछन्। 

    ‘प्रायः छिमेकीहरूले मेरो घर छेउको, पल्तिरको, पारिको मान्छे फलानो ठाउँबाट आएको छ। आएर उसलाई लैजानुहोस् र क्वारेन्टाइनमा राख्नुहोस्। मेरो फलानो छिमेकीप्रति शंका छ। भन्ने फोनहरू आउने गरेका छन्,’ उनले भने, ‘व्यक्तिहरू सुरक्षाका उपायहरू अपनाएर बसेको अवस्थामा पनि छिमेकीहरूले फोन गरेर संक्रमित व्यक्ति नै भएको जस्तो गरिदिनुहुन्छ।’

    बाहिरबाट आएकाले पनि हामीलाई फोन गरेका हुन्छन्, स्थानीय तहले खोज्छन्। छिमेकीले अनावश्यक फोन गरेर दुख नदिन उनले अनुरोध गरे। 

    इमरजेन्सी अवस्थाका लागि हटलाइन

    कोरोनाको जोखिम रहेको अवस्थामा आफूमा देखिएका लक्षण, खाएका औषधि वा उपचार प्रक्रियाबारे जानकारी लिन यो हटलाइन प्रयोगमा ल्याइएको हो। तर आउँदा दिनमा प्रदेशमा हुने आपतकालीन स्वास्थ्य समस्या समाधानका लागि हटलाइन प्रयोगमा नै रहने प्रदेश सरकारले बताएको छ।

    कोरोना भाइरसको जोखिम अतिउच्च रहेको अवस्थामा २४ सै घण्टा हटलाइनको फोन उठ्ने गर्छ। तर यिनै समस्याका कारण केही दिनयता भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उठाउने गरिएको शर्माले बताए। 

    हटलाइनमा आएका जिज्ञासाको समाधान गर्न पालोअनुसार मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गोर्खा वेलफेयर ट्रस्ट नेपालबाट कन्सल्टेन्ट चिकित्सकहरूको व्यवस्थापन गरिएको छ।

    कोरोना भाइरसको जोखिम कम हुँदै गएपछि वा यसको समस्या नरहे पनि प्रदेशमा भइपरी आउने बाढी, पहिरो, रोगलगायत कारण नागरिकको स्वास्थ्यमा समस्या आएमा तत्कालै उद्धार गर्न तथा राहत दिन हटलाइनलाई सुचारु गराइरहने प्रदेश सरकारको योजना छ। 

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]