समाज

सहरमा बसेका बालबालिका लकडाउनमा गाउँ चिन्दै छन्

बैशाख १९, २०७७

    पर्वत : जिल्लाको फलेवास नगरपालिका ३ शंकरपोखरीकी ८ वर्षीया जेनी रेग्मी सदरमुकाम कुस्माको पर्वत गुरुकुल एकेडेमीमा पढ्छिन्। लकडाउनका कारण विद्यालय नखुलेपछि उनी एक महिनादेखि गाउँमै छिन्। 

    बजारमा बस्दै आएका बालबालिका पशु चौपायाको नजिक पर्न डराउँछन्। तर उनले भने भैंसी दुहुन सिकिन्। अहिले उनी मज्जाले भैंसी दुहुन सक्ने भइकी छन्।शंकरपोखरीकै १० वर्षका विवश क्षत्री पनि सदरमुकाममा रहेको नारायण माध्यमिक विद्यालयमा अध्ययनरत छन्। 

    उनी पनि लकडाउनकै कारण गाउँमै छन्। घरायसी काम सिक्दै छन्। भन्छन्, ‘दाउराको भारी बोक्नेदेखिन सागपात तरकारी गोड्न जानें, स्कुल बन्द भएको छ। कुस्मा जान पाएकै छैन।’ उनी थप्छन्, ‘ममी र अंकलले घरका काम सिकाइरहनुभएको छ। कुस्मा बस्दा त यस्ता काम जानिएको थिएन।’

    फलेवास ४ मुडिकुवामा रहेको शारदा आधारभूत विद्यालयमा अध्ययनरत ९ वर्षीया मल्लिका भण्डारी पनि जानी नजानी नांगोलोमा अन्न केलाउँदै गरेकी थिइन्। ‘घरमा जतिसुकै बेला पढ्दा अत्यास लाछ। आमासँग खाना पकाउने, तरकारी गोडमेल गर्ने, जाँतो नांगलो चलाउ सिक्दै छु,’ उनले बताइन्। 

    रेग्मी, क्षत्री र भण्डारीजस्तै धेरै बालबालिका यतिबेला लकडाउन सदुपयोग गर्दैछन्। घरायसी कामहरू सिकिरहेका छन्। पछिल्ला पुस्ताका बालबालिका कि त अध्ययन कि ‘इलेक्ट्रिक ग्याजेट्स’ मा मात्र व्यस्त हुने गरेका बेला गाउँमा उनीहरू परम्परागत काममा अभ्यस्त हुन थालेका छन् यतिबेला। उनीहरूका अभिभावक पनि यो लकडाउनले केटाकेटीम केही सिक्ने अवसर मिलेको बताउँछन्। 

    ‘अघिपछि त बच्चाहरू बजारमै हुन्छन्, गाउँका काम, संस्कार र शैली सिक्न पाएका छैनन्,’ जेनीका हजुरबुबा रामकृष्णले भने, ‘गाउँमा आएका बेला घाँस काट्नेदेखि भैंसी दुहुन पनि सिकाएको छु। यो बेलामा उनीहरूले काम सिके भने कहिल्यै पनि बिर्सिँदैनन्, आफ्नो जीविका चलाउन सक्ने बन्छन्।’

    कुस्मा नगरपालिकाअन्तर्गत नगर शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षत्रीले पनि किताबी अध्ययनले मात्र बच्चाहरूमा सीप विकास नहुने बताउँछन्। त्यसैले लकडाउनमा बालबाािलकालाई फरक खालका सीप सिकाउन र ग्रामीण जीवनबारे बताउन आवश्यक भएको उनी ठान्छन्।यस्ता क्रियाकलापमा संलग्न गराउन सके बालबालिकाको भविष्य राम्रो हुने देख्छन् क्षत्री।

    भन्छन्, ‘किताबका सूत्र र पाठ घोक्दैमा बच्चाहरू टाठा बन्दैनन्। उनीहरूले गाउँ र सहर दुवै ठाउँबारे जान्नुपर्छ, त्यहाँका संस्कार सिकेको हुनुपर्छ, लकडाउन नभएको भए कति जाती हुनेथियो, तर नगरी नभएकोले यो अवस्थालाई रचनात्मक समयका रूपमा आर्जन गर्नुपर्छ।’

    बालबालिकाहरूलाई काम सिकाउनु राम्रो हुने तर उनीहरूलाई जबर्जस्ती काममा लगाउने वा लाद्न नहुने शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी बताउँछन्। 

    ‘सबै गाउँमै थुनिएर बसेको अवस्थामा बालबालिकामाथि दुव्यवहार पनि हुन सक्छन्, श्रम शोषणको खतरा पनि हुन सक्छ,’ पहाडी भन्छन्, ‘अभिभावकको साथमा रहेका बालबालिकामाथि त्यो खतरा नहोला, तर सबै बालबालिकाहरू सुरक्षित नै छन् भन्ने हुँदैन।’ 

    बालबालिकाको अधिकारलाई ख्याल गर्न तथा उनीहरूको रचनात्मक सीप विकासमा ध्यान दिन जिल्लाका सबै स्थानीय तहलाई ध्यानाकर्षण गराइएको पनि पहाडीले बताए।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]