थाहा संवाद

नेपालमा कोरोना भाइरस संकट टरेको छैन

५० वर्ष माथिकाले विशेष सजगता अपनाउनू

बैशाख १८, २०७७

    काठमाडौं : यतिबेला विश्वभर नै कोरोनाको त्रास छ। यसको औषधि र खोपबारे विश्‍वमै अध्ययन र अनुसन्धान भइरहे पनि हालसम्म औषधि पत्ता लागिनसकेको अवस्था छ। हाल विश्‍वका करिब २ सयभन्दा बढी राष्ट्रमा कोरोना संक्रमण फैलिसकेको छ।

    नेपालमा पनि ५४ जनामा कोरोना संक्रमण देखिएको छ, १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचारार्थ छन्। संक्रमण नफैलियोस् भन्‍नका लागि सरकारले लकडाउन जारी राखेको छ। नेपालमा कोरोना भाइरस फैलिएसँगै अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल चर्चामा छ। त्यही अस्पतालमा कार्यरत एकजना डाक्टर शेरबहादुर पुनले कोरोना भाइरसबारे गहन अध्ययन गरिरहेका छन्। उनले चीनको वुहानमा कोरोनाले महामारीको स्वरुप लिएदेखि नै यसको जोखिमको आँकलन गरेका थिए। नेपालमा पनि माघदेखि कोरोना फैलिएपछि उनले यसबारेमा सरकार र जनतालाई पटक पटक सचेत गराउँदै आएका छन्। यसै सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च सेन्टरका संयोजक डा. शेरबहादुर पुनसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको संवादको सम्पादित अंश:  

    नेपालमा कोरोनाको संक्रमित फैलँदो क्रममा छ। जोखिम पनि उत्तिकै छ तपाईंहरू जस्तो स्वास्थ्यकर्मीले कसरी काम गरिरहनु भएको छ?

    जोखिम बढिरहेको छ। जोखिम नहुने भन्ने कुरा भएन तर जोखिमका बाबजुद पनि काम गरिरहनु परिरहेको छ। विश्वभर जोखिम बढिरहेको छ। जबसम्म संक्रमण रहन्छ तबसम्म यसको जोखिम रहिरहन्छ।

    नेपाल पनि त्यसबाट अछुतो रहँदैन। महामारीको रुपमा रहेको यसबाट बच्नलाई जुन रणनीति अपनाइएको छ। परिवर्तन गर्नुपर्ने अवस्था आयो भने गर्नुपर्छ। जसरी यो भाइरस देखिन्छ त्यहीअनुसार रणनीति तय गर्दै जानुपर्छ।

    कोरोनाको जुन प्रवेश छ नेपालमा त्यो डरलाग्दो अवस्थामा छैन। आत्तिएर बसिहाल्नुपर्ने छैन। अहिलेको अवस्था चुनौतीपूर्ण छ भनेर भन्‍न मिल्दैन। हामी भनेको बिरामीको उपचार गर्ने मानिस हौँ। उपचारका क्रममा हामीले पिपिईको प्रयोग गरेका छौँ। हामी जुन अस्पतालमा छौँ यहाँ ठीक छ। यही कामलाई भने निरन्तरता दिनुपर्छ।

    अन्य अस्पतालमा पनि यहाँ पाएको जस्तो सेवा सुविधा पाउनुपर्छ। आइसोलेसनदेखि आइसियु निर्माण गर्ने क्रम पनि जारी छ। अहिलेको अवस्थामा भने स्वास्थ्यकर्मीलाई कुनै अप्ठयारो छैन। जुन तयारी छ यतिको राम्रो छ भन्‍ने अवस्था छ।

    नेपालमा किन संक्रमण तीव्र गतिमा फैलन नसकेको होला? माघमा देखिएको कोरोना वैशाखसम्म आउँदा पनि के कारणले सुशुप्त अवस्थामै रहेको होला?

    नेपालले परीक्षणको दायरा बढाएको छ। परीक्षण गर्दा झन् भेट्टाउनु पर्ने हो, तर नेपाललाई राहतको कुरा भनेको यो भाइरस छिटोछिटो देखा परेको पनि छैन। यदि त्यस्तो हो भने श्वासप्रश्वासको कारणले धेरै मानिसको मृत्यु हुनुपर्ने हो। अमेरिकामा त्यत्रो मानिस मरिरहेका छन्। परीक्षणले चाहिँ रणनीति तयार गर्नको लागि सहयोग गर्छ। परीक्षण कति गर्ने भनेर योजना तर्जुमा गर्न सजिलो हुन्छ। त्यसैअनुसार कति स्रोत साधनको, स्वास्थ्यकर्मीको आवश्यकता पर्छ त्यसबारे थाहा हुन्छ।

    विश्वमा देखिएको र नेपालमा देखिएको भाइरस कुन प्रकारको हो?

    नेपालमा देखिएको कोरोना भाइरस नै हो। त्यसका प्रजातिहरू छन्। सार्स र कोरोना एउटै प्रजातिको परिवारमा पर्ने सदस्यमा पर्छन्। ती प्रजातिहरुमा पछिल्लो समयमा देखिएको सार्स २ मा कोरोना भाइरस हो। त्यसको संक्रमणबाट फैलिएर उत्पन्न भएको भाइरसलाई कोभिड-१९ भनिएको हो। यसभन्दा अगाडि सातौँ प्रजातिको रुपमा पनि थिए। अझै ४ वटा प्रजाति पनि बाँकी छन् जसमा यसलाई ह्युमन कोरोना भाइरसको रुपमा चिनिने गरिन्छ।

    यो भाइरस नयाँ होइन तर,कान्छो भाइरसको रुपमा लिने गरिन्छ। एच-१, एन-१ को रुपमा स्वाइन फ्लुलाई लिने गरिन्थ्यो। सबैतर्फ लक्षित भएर नै यसको चासो लिएको हो। नेपालमा देखिएको भाइरस सार्स-२ नै हो वा सर्वसाधारणले बुझ्ने गरी यसलाई नोबल कोरोना भाइरस भनिन्छ। यसलाई कोभिडको नामले चिनिन्छ। यसलाई छोटकरीमा कोभिड-१९ भनिएको हो। यो केही व्यक्तिमा संक्रमित देखिए पनि त्यसलाई कोभिडको नै बिरामी हो भन्न जरुरी छैन।

    चीनदेखि सुरु भएर यसले लाखौँ मानिसको ज्यान लिइसकेको छ। नेपालमा देखिएको कोरोनाको जोखिम टरेको नै हो वा आउनै बाँकी छ?

    नेपालमा चीनबाट आएको मानिसबाट यसको सुरुवात भएको थियो। पछिल्लो घटनाक्रमले के देखाइरहेको छ भने भारतसँग जोडिएको सिमाना त्यो लामो खुला भएकोले लकडाउन गरेपछि पनि कतिपय मानिसहरु आइरहने भएको हुनाले समस्या बढने हो कि भन्ने छ। कमी कमजोरी भए त्यसलाई सुधार्नुपर्छ। सुरक्षा व्यवस्थादेखि अन्य व्यवस्थालाई पनि हेर्नुपर्छ। अथवा स्वास्थ्यकर्मीलाई कहाँ कति खटाउनुपर्ने त्यो कुरालाई अब सरकारले ध्यान दिनुपर्छ, परीक्षणको दायरा बढाउनुपर्छ त्यसलाई रणनीतिको रुपमा लिने गर्नुपर्छ।

    नेपालमा टरेको भन्न मिल्दैन। चीनदेखि सुरु भएर पश्चिमा मुलुकमा धेरै मानिस मरेका छन्। त्यसका पनि धेरै कारण हुन सक्छन्। सुरुवाती चरणमा लकडाउनको अवस्था छ। भारतको खुला सीमा नेपालको लागि ठूलो चुनौती बन्न सक्छ। भारत नेपालको लागि ठूलो चुनौती हुनसक्छ। जबसम्म विश्वबाट कोरोना हट्दैन तबसम्म कोरोनाको जोखिम टरो भन्न मिल्दैन। किनभने यसबाट बच्नको लागि औषधि केही बनेको छैन।

    चीनको वुहानबाट सुरु भएको यो भाइरस विश्वभर फैलन सक्छ भनेर कुनै दिन आँकलन गर्नुभएको थियो?

    अनुमान त गरेको थिइनँ। तर, कोरोना भाइरस सार्स जस्तो भनेर भनेको थिएँ। विदेशमा लेखिएका लेखमध्येमा पहिलो नै पर्छ होला भनेर भन्‍न सक्छु। त्यस समयमा अन्य मुलुकका ठूला मिडियाहरूले केही लेखेका थिएनन्। जुन बेलामा यो नोबल कोरोना भाइरसबारे लेख लेखेको थिएँ।

    स्वास्थ्यखबरमा लेख प्रकाशित भएको थियो। धेरै सोचेको पनि थिइनँ। यसले भयंकर रूप लिन्छ भनेर केही सोच्‍न भ्याइनँ। कहिलेकाहीँ ठूलो कुरा सानो ठाउँबाट आउन सक्छ भनेको यही हो। त्यस भाइरसबारे नामकरण नहुँदा कोभिड-१९ को बारेमा लेखेको थिएँ। व्यापक अनुमान भन्‍न मिल्दैन।

    भाइरोलोजीमा पिएचडी गर्नुभएको छ। यसअघि पनि कैयौं भाइरसको प्रकोपमा काम गरिसक्नु भएको छ। कोरोनाले पश्चिमा मुलुकझैँ प्रकोपको रुप लिन नदिन नेपालको यही तयारी कत्तिको पर्याप्त देख्‍नुहुन्छ?

    महामारी बाजा बजाएर नआउने भएकोले जति पनि शक्तिशालि देश छन् त्यसलाई यसले हम्मेहम्मे पारेको अवस्था छ। यसको कारण धेरै मानवीय क्षति भएका छन्। यसमा नेपाल पनि अछुतो रहन सक्दैन। नेपालको लागि यो नौलो छ। यो अर्थमा राम्रो पनि छ अहिलेसम्म नेपालमा केही भएको छैन। यो  बीचमा हामी पहिलो दोस्रो, तेस्रो भिक्टिम भएनौँ र हामी अन्तिम भिक्टिम पनि हुनु हुँदैन।

    अहिले गरेको जुन प्रयत्नलाई होसियारको साथ अगाडि बढाउनुपर्छ। जुन सरकारको तर्फबाट गरिएको प्रयासलाई चाँडोभन्दा चाँडो लागू गर्नुपर्छ। भाइरस सर्ने वस्तु हो। नेपालमा एकबाट अर्कोमा सरेको छैन। आशंका गरिएको हो तर, त्यसरी नै प्रमाणित भइसकेको अवस्था छैन। पश्चिमा मुलुक र नेपालमा यही फरक छ। केही नहुने भन्ने पनि होइन हामीले हाम्रो तर्फबाट तयारी गरिरहेका छौँ।

    नेपाल सरकारले यसबाट बच्नका लागि अपनाएको रणनीति कतिको सान्दर्भिक छ?

    जुन रणनीति अगाडि बढाइएको छ त्यो समस्याको समाधान गर्नको लागि अपनाइएको हो। यसमा आत्तिने कुरा छैन। धेरै विज्ञको सल्लाह सुझावअनुसार काम गर्नुपर्ने हुन्छ। हामी दोस्रो चरणमा छौँ। यसलाई बढ्न नदिनका लागि जुन रणनीति अपनाइएको छ त्यसलाई निरन्तरता दिनुपर्छ।

    नेपालमा संक्रमितको संख्या बढिरहेको छ। नेपालमा देखिएको भाइरस विकसित नभएर हो?

    सुषुप्त रुपमा यहाँ देखिएको छ। छैन भनेर भन्न मिल्दैन। कसैले पूर्णरूपमा अनुसन्धान गरेको छैन। नेपाल जस्तो देशको लागि मेरोतर्फबाट काल्पनिक कुरा छ। हावापानीको कुरा, सांस्कृतिक कुरा, परम्परा वा खानपानको कुराहरु पनि छन्।

    यी सबै कुराहरू जोडिएर आउन सक्छन्। ह्ययुमन भाइरस, सार्स भाइरस पनि छन मानिसमा। यस्ता भाइरस नेपालमा देखिसकिएका पनि छन्। कुनै न कुनै रूपमा यसको भूमिका छ। यो भाइरस यहाँको वातावरणमा समायोजन हुन नसकेको हो कि भनेर अनुमान गर्न सक्ने अवस्था छ।

    अनुसन्धान पनि राम्रोसँग भएको छैन तर,जरुरी छ। मलेरिया भएको ठाउँमा नहुने भन्ने पनि कुरा छ। तर, पनि हाम्रो कतिपय रीतिरिवाज तया हावापानीले यस भाइरसलाई कमजोर बनाउँछ भन्ने पनि छ। यद्यपी  यो भाइरस देखिदैन भन्दिन पछि देखिएला तर, जुन रुपमा पश्चिमा मुलुकमा मानवीय क्षति भएको छ त्यसरी नहोला।

    नेपालको हावापानी मजबुत भएर भाइरस कमजोर भएको हो त?

    तीन महिनाको अन्तरमा ठूलो अनुसन्धान भएको छैन। नेपालीको रीतिरिवाजले प्रभाव पारेको छ। हात धुने वा खाने कुरा खाँदा राम्रोसँग पखालेर खाने। यस्तो बानीले ठूलो सहयोग गरेको छ। पश्चिमा मुलुकमा लाखौँ संक्रमित भए भन्ने छ। उनीहरुको बानीले पनि प्रभाव पारेको छ।

    हावापानीको कुरा गर्दा जस्तो घामबाट निस्कने अल्ट्राभ्वाइलेट किरणबाट पनि यो भाइरस नष्ट हुने भनेर पश्चिमा मुलुकका वैज्ञानिकले भनेका छन्। नेपालको हावापानी नै मजबुत भएर यसले प्रभाव पारेको छ कि भन्ने छ।  अनुसन्धान गरेर प्रमाणित गर्न नसकेतापनि ती कारणलाई पनि हामीले नजरअन्दाज गर्न सकिन्छ।

    संक्रमित निको पनि भइरहेका छन्, यो पक्षबाट कुरा गर्ने हो भने सकरात्मक हो तर, पनि संक्रमित गम्भीर बिरामी हुन सकेनन् के कारण होला जस्तो लाग्छ?

    धेरै कारण छन्। जस्तै ह्ययुमन कोरोना भाइरस पनि सक्रिय भएको छ। अहिले नै यसो हो भनेर भन्न सकिने अवस्थामा छैनौँ। शरीरको ह्युमन भाइरसले पनि हो कि जस्तो लाग्छ।

    मौसमी फ्लु जस्ता रोगहरुले पनि यसलाई जितेको छ कि भन्ने लाग्छ।अहिलेको सन्दर्भमा नेपालले अपनाइएको रणनीतिले पनि हो कि जस्तो लाग्छ। होसियारी अपनाइएको छ र लकडाउनको पालना सबैभन्दा महत्वपूर्ण हो जस्तो लाग्छ।

    पश्चिमा मुलुकको मृत्युदर बढेको छ त्यसो भए त्यहाँको हावापानी कमजोर भएर हो  भन्न मिल्छ?

    हावापानी सबैभन्दा महत्वपूर्ण हो। गर्मी भए पनि उनीहरु भित्र बसेर एसीमा बस्छन्। त्यसले गर्दा बाहिरी हावापानी वा घामको किरण पाउँदैनन्। हामी नेपाली भने बढी घाम ताप्छौँ। यसलाई सापेक्षित आद्रताको कुराले पनि प्रभाव पार्छ जस्तो लाग्छ।

    अनुसन्धानकर्ताले पनि यसलाई भन्दैछन् तर प्रमाणित गर्न सकेका छैनन्। अहिले पनि अनुसन्धानले पूर्णता पाएको छैन। अनुसन्धान अहिले पनि जारी छ।

    नेपालमा कोरोना संक्रमण पूरा देखिएको छैन, तपाईंले कसरी हेरिरहनु भएको छ?

    मैले यसलाई अवलोकन गरिरहेको छु। अहिले ६० वर्षमाथिका बिरामी पनि राम्रो भएर गइरहेका छन्। युवावस्थाका पनि छन त्यसको पनि राम्रो नभएसम्म नपठाउने भनेर राखिएको अवस्था छ। अनुसन्धानले वृद्ध-वृद्धामा बढी समस्या आउने देखिएको भन्ने थियो तर नेपालमा अलिक फरक छ। नेपालमा कोरोना नियन्त्रणका लागि गरिएको कोसिस एकदमै राम्रो छ। 

    अन्तर्राष्ट्रिय स्वास्थ्य प्रणाली पनि अध्ययन गर्नु भएको छ। नेपालको स्वास्थ्य संरचना प्रणाली कस्तो लाग्यो, नेपालको प्रणालीले महामारी थेग्न सक्छ त?

    राम्रो स्वास्थ्य प्रणाली भएको ठाउँमा पनि यसले व्यापक असर गरेको छ। राम्रो स्वास्थ्य सामग्री  र चिकित्सक भएका मुलुक अमेरिका, इटालीले थेग्न सकेका छैनन्। महमारी भनेको नै स्वास्थ्य प्रणालीलाई चुनौती दिने हो। धेरै संक्रमति देखिनुभन्दा पनि एक-दुई जना देखिएर  त्यसलाई नियन्त्रण गर्दै जानुपर्छ। त्यो भनेको रणनीति हो ।

    परीक्षणको दायरा अझै बढाउनुपर्छ। संक्रमितसँग सम्पर्कमा भएकाहरूको सबैको परीक्षण व्यापक गर्नुपर्ने हुन्छ। परीक्षण बढाएर जाने हो भने नेपालमा त्यसरी समस्या आउँदैन भन्ने लाग्छ। स्वास्थ्य संरचना प्रणाली पनि राम्रो छ। अहिले उपत्यका बाहिरका अस्पतालका साथीहरूले राम्रो गरिरहेका छन्। भविष्यमा यसविरुद्ध लडनका सबै एकजुट हुनुपर्छ।

    नेपालमा कोरोनाको परीक्षण सोचे अनुसारको हुन सकेको छैन। यसमा के कारणले होला प्रविधि नभएर हो वा स्वास्थ्य संरचना प्रणालीअनुसार हो?

    प्रविधि र प्रणाली दुवै सँगसँगै जोडिएर आउँछन्। जुन अहिलेको आएको प्रविधिले विकासको क्रम जारी छ भन्ने सिकायो। यो एउटा समस्या हो तर, नेपालको लागि पाठ र अवसर दुवै हो। स्थानीय सरकार र केन्द्र सरकारको अब समन्वय हुन जरुरी छ। जे जति सामग्री छ त्यो नेपालको लागि पर्याप्त छैन।

    अझ बढाउँदै लानुपर्ने देखाएको छ। मानव स्रोत र साधनलाई सधैँ तयारी राख्नुपर्छ। यसले बुझ्ने अवसर दिएको छ। यो कोरोना भाइरस अन्तिम होइन अरू आउन सक्छन् र यो तयारी गर्ने समय पनि हो। नेपालको लागि मात्र होइन, विश्वलाई पाठ हुन सक्छ।

    सरकारले कोरोनामाथि विजय प्राप्त गर्ने भनिरहेको छ। प्रयोगशालामा किट सकिएको छ भन्ने कुरा सार्वजनिक हुँदा सोचेअनुसार कोरोनालाई जित्न सकिन्छ?

    सरकारीस्तरबाट हुने कुरा हो। सरकारले के गरिरहेको छ त्यसबारेमा थाहा भएन। सरकारको जिम्मा लिने मैले होइन। स्वास्थ्यकर्मीको नाताले मैले भन्नुपर्दा हाम्रो काम भनेको सेवा गर्ने हो। सरकारको तर्फबाट भएको कामलाई निरन्तरता दिनुपर्छ।

    र्‍यापिडले दिएको नतिजा उल्टिरहेको छ, किन यस्तो भयो, किट नै खराब भएर या भरपर्दो नभएर हो?

    र्‍यापिडमा अन्य रोगको पनि उल्टो आउँछ। त्यसैले गर्दा पनि पिसिआरलाई भरपर्दो प्रविधिको रूपमा लिइन्छ। र्‍यापिडको क्षमता पिसिआरको तुलनामा कम हुन्छ।

    र्‍यापिड टेस्टले संक्रमितको सम्पर्कमा आएका मानिसको खोजी गर्न सहयोग गर्छ। धेरै मानिसको र्‍यापिड टेस्ट परीक्षण गर्नुपरेमा चाँहि यसले सहयोग गर्छ। र्‍यापिड टेस्टको आधारमा भन्दा पनि पिसिआर टेस्टलाई आधार मानेर नै उपचार गरिएको छ।

    कोरोनाका बिरामी र सर्वसाधारणलाई केही भन्न चाहनुहुन्छ?

    ५० वर्षमाथिका नागरिक सुरक्षित रहनुहोस्। विदेशमा जस्तो नराम्रो अवस्था नेपालमा छैन। सामान्यरूपमा बिरामी डिस्चार्ज भइरहेका छन्। विदेशमा भएका बिरामीलाई सम्झेर आत्तिहाल्नुपर्ने अवस्था छैन। अन्तिम भइयो भन्ने कल्पना नगरौँ। लकडाउनको पालना राम्रोसँग गरौँ। होम क्ववारेन्टाइनमा बसेर सरकारको नियमलाई आत्मसाथ गर्नुहोला।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]