समाज

राहतमा चामल मात्र, स्थानीय उत्पादनलाई हेला

पोषणविद् भन्छन् : भात मात्र होइन, सबै अन्‍न खाऔँ

बैशाख १५, २०७७

    पर्वत : लकडाउनको समय एक महिनाभन्दा बढी भइसकेको छ। जसका कारण दैनिक ज्यालामजदुरी गर्ने वर्ग सबैभन्दा बढी मारमा परेका छन्। त्यस्ता परिवारलाई स्थानीत तहमार्फत खाद्यान्‍न सहयोग पनि गरिएको छ।

    धेरै ठाउँमा अझै पनि मानिस अलपत्र छन्। उनीहरुलाई विभिन्न सरकारी गैह्रसरकारी निकायले सार्वजनिक रूपमा खाना खुवाउने काम गरिरहेका छन्। लकडाउनको कारण न्यून आम्दानी भएकाहरू खाद्यसंकटको अवस्थामा छन्। 

    तर के देशभर बाँडिएका राहत वास्तविक भोका र न्यून आय भएकाले पाएका छन् त ? अथवा दैनिक ज्यालादारीमा काम गर्ने विपन्न समुदायले राहतमा पर्याप्त खाद्यान्‍न र दैनिक उपभोग्य बस्तु पाएका छन् ? 

    हाल देशभर राहतका नाममा बाँडिएका खाद्यान्‍नमा के–के छन् ? मानिसको शरीरलाई दैनिक आवश्यक सन्तुलित पोषण बाँडिएको छ त ? ऋण काढेर भए पनि भात खाने नेपालीको बानी संकटको बेलाामा पनि उस्तै छ। राहतका नाममा ठाउँठाउँमा खाद्यान्‍न बाँडिएका छन्, अर्थात् दाल र चामल बाँडिएका छन्। मकै, गहुँ, जौ, कोदो, फापर, पीठो बाँडिएको छैन।  न त राहतमै यस्ता खाद्यान्‍नको माग नै गरिएको छ।  

    स्थानीय सरकारको रोजाइमा चामल

    खाद्यान्‍न भनेको दाल र चामल मात्र होइन। सबै प्रकारका अन्‍नको उत्तिकै महत्व हुन्छ। तर राहतमा भने चामलबाहेक कतै पनि अन्य खाद्यबाली वितरण गरिएको सुनिँदैन। पर्वतको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा भन्छन्, सामान्यतया जसले पनि खाना खानेभन्दा भात खानुलाई बुभ्mछन्, नागरिकले पनि चामल नै मन पराउने भएर राहतमा यही बाँडिएको हो।’ 

    गहुँ, कोदो, मकै, भट्टमासजस्ता खाद्यान्‍न सरसापट गरेर खान पनि पाइने भएकाले आम नगरबासीले चामल नै खोजेकाले बाँडिएको उनको तर्क छ। चामलबाहेक अन्य खाद्यान्‍न बाँड्न पर्दा नगरपालिकाबाट ‘धेरथोर अभ्यास’ गर्नुपर्ने उनले बताए। 

    बिहादी गाउँपालिकाका प्रमुख कमल भुसालले भने पालिकाले चामलबाहेक अन्य खाद्यान्‍न बाँड्ने सोच बनाए पनि ती अन्‍न तयार नभएकाले चामलै बाँडिएका बताए।‘गाउँमा गहुँ र जौ पाकिसकेको थिएन, मकै भर्खर छरिएको थियो। तर मजदुरहरू भने खान नपाएर भोकै मरिने भन्न थाले अनि चामल नै बाँड्नुपरेको हो,’ भुसालले भने।  

    लकडाउन लम्बिए तथ्यांक संकलन गरेर अन्य अन्‍न पनि बाँड्न सकिने उनले तर्क गरे। गाउँमा उत्पादित अन्‍न पोसिलो र अग्र्यानिक हुने हुँदा यस्ता अन्‍न बाँड्नु आवश्यक भएको उनी बताउँछन। 

    के भन्छन् चिकित्सक र पोषणविद् ? 

    चिकित्सक तथा पोषणविद्का अनुसार शरीरलाई आवश्यक  एन्टिअक्सिडेन्ट र भिटामिन कोदोबाट प्रशस्त मात्रामा पाइन्छ। जसले कोलेस्ट्रोल घटाउने, छालालाई राम्रो बनाउने र पाचन प्रक्रियालाई बलियो बनाउने काम गर्छ।

    भिटामिन ‘बी’, पोटासियम, फस्फोरस र पोटासियम मकै र गहुँबाट मिल्छ। फापरबाट रेसादार तत्व, भिटामिन ‘बी’, बी २, बी ६, प्रोटिन, खनिज, एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ, जसले शरीरलाई बलियो बनाउँछ। 

    मानिसको प्रतिरक्षा शक्तिलाई बलियो पार्न जौ अति नै उपयोगी हुने पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटा बताउँछन्। 
    डा. देवकोटा भन्छन्, ‘बाहिरबाट ल्याएको चामलमा कोरोना भाइरस पनि सरेर आउने खतरा हुन्छ। जुन तरिकाबाट हेर्दा पनि गाउँघरमा उब्जेका अन्‍नले कोरोनाविरुद्ध हाम्रो शरीरलाई तयारी अवस्थामा राख्न सघाउँछन्।’

    राहतमा बाँडिएका ‘फास्ट फुड’ले तत्कालका लागि भोक मेटाए पनि ती खाद्यबस्तुमा रोगसँग लड्ने क्षमता कम हुने र क्यालोरी नहुने देवकोटाको भनाइ छ। त्यसैले गाउँघरमै उत्पादित कोदो, मकै, भटमास, फापर, गहुँ, जौलगायत नै खाद्यान्‍न प्रयोग गर्नु बुद्धिमानी हुने हुँदा यस्तै खाद्यान्‍नमा खरिद तथा खानुपर्नेमा उनले जोड दिए।

    ‘दैनिक मजदुरी गर्नेहरूलाई तत्कालका लागि भोक मेटाउन चामल ठिकै हो, सजिलै पाउन पनि सकिन्छ,’ देवकोटा थप्छन्, ‘मैले पनि तपाईँले भनेको जस्तै राहत बाँडिरहेको ठाउँमा चामल मात्र होइन अरू खाद्यान्‍न पनि बाँडौँ भनिरहेको छु।’

    आर्थिक सम्पन्नताको खोजीमा कृषक

    संकटका बेला राहत उपलब्ध गराउँदा स्थानीय तहले गाउँकै अन्‍न किनेर राहत बाँड्न सके स्थानीय तहहरुले स्थानीयस्तरका कृषकलाई प्रोत्साहन गरेको बुझिने धेरै कृषक बताइरहेका छन्। 

    रैथाने अन्‍न थन्क्याएर आयातीत चामल बाँड्नुले जनप्रतिनिधि कृषकमैत्री बन्न नसकेको जिल्लाका किसानहरुले बताउँदै आएका छन्। ‘यो बेलामा बाहिरबाट किन चामल बाँड्नु ? हामीले फलाएको गहुँ र कोदो पनि त बाँड्न सकिन्छ, गाउँका हरेक मान्छे मकै र कोदो खाएर नै हुर्केका त हुन्, नखाने को छ र?’ फलेबास नगरपालिकाका कृषक विष्णुप्रसाद शर्माले भने, ‘बजारमा फेसन पार्न महँगो मूल्यमा कोदोको ढिँडो किनेर खान हुने, त्यसैलाई राहतमा बाँड्न किन नहुने?’

    महँगा गोरु र खेताला खोजेर अन्‍नबाली लगाउँदा त्यसको उत्पादनले कृषकहरूलाई घाटा परिरहेको अवस्थामा गाउँमा त्यही अन्‍न पनि बिक्री हुने गरेको छैन। भात मात्रै खाने प्रवृत्तिका कारण कोदो र मकै गाईबस्तुलाई खुवाएर सक्ने गरिएको छ भने केही कोदो घरेलु मदिरा बनाउन बिक्री हुने गरेको कृषकहरू बताउँछन्।

    स्थानीय अन्‍नको प्रवर्द्धन भएन

    हिजोआज बजारका चलेका होटलहरुमा कोदोको ढिँडो, रोटी तथा मकै, गहुँ र जौका परिकारहरू महँगो मूल्यमा बिक्री हुन्छन्। होटलहरुमा सामान्य खानाको भन्दा कोदोको ढिँडोको बढी मूल्य हुने गर्छ। यस्ता खाद्यान्‍नको माग बजारमा पनि निकै छ। गाउँका उत्पादनलाई बिक्री गर्ने र कृषकहरूलाई आर्थिक रूपमा सम्पन्न बनाउने यो मौकाको रुपमा लिनुपर्ने जिल्लाका सरोकारवाल नागरिकहरू नै बताउँछन्। 

    अध्ययनका लागि पोखरा बस्ने गरेका कमल भण्डारी भन्छन्, ‘बजारका मान्छेहरू पनि बाँच्नका लागि गाउँ आएका छन्। यो बेलामा गाउँले अन्‍न बाँड्नुपर्छ, गाउँले अन्‍न खानुपर्छ, अनि बल्ल गाउँले अन्‍न र जीवनको महत्व बजारकाले थाहा पाउँछन्।’

    प्रवद्र्धन हुन सकेमा गाईबस्तुले खाने हरियो घाँसलाई नै विस्थापित गरिरहेका गाउँमा उत्पादित अन्‍नले बजार पाउँदा मूल्यहीन नहुने र ती अन्‍न मदिरा बनाउने काममा दुरुपयोग पनि नहुने जनप्रतिनिधिको पनि बुझाइ छ। बुझेर पनि अरूले यस्तै खालको अभियान थालेमा आफूले पनि थाल्ने सोचेर बसेका जनप्रतिनिधिहरू कसैले पनि पहिलो हुने आँट भने गर्न उनको भनाइ छ। 

    यस्तो छ पर्वतमा अन्‍नको अवस्था

    जिल्लामा वार्षिक २ हजार मेट्रिक टन बढी खाद्यान्‍न उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी बताउँछन्।रेग्मीका अनुसार जिल्लामा २९ हजार मेट्रिक टन खाद्यान्‍न वार्षिक रुपमा आवश्यक पर्छ। ‘महाशिला, पैयुँ, फलेवासलगायत नाका हुँदै अन्य जिल्लाबाट चामल आयात हुन्छन्, तर कुनै पनि स्थानीय तहले यसको तथ्यांक राखेका छैनन्,’ रेग्मी भन्छन्, ‘तर हामीले राख्दै आएको तथ्यांकमा झन्डै ८ हजार मेट्रिक टन आयात हुने गरेको छ।’

    राहतमा चामल मात्रै बाँड्नुले व्यापारी मोटाउने मात्र काम भएको उने तर्क गरे। कसले कति बाँड्यो, त्यसको उपभोग्य मिति के थियो? तौल के थियो? लगायत विषयमा खासै चासो नदेखिएको पनि रेग्मीले दाबी गरे। 

    गाउँमा कृषकहरूले ठूलो लगानी र दुःख गरेर उत्पादन गरेको तरकारी, दूध, अण्डा, माछामासुलगायत खाद्यान्‍न बाटोमा पोख्नुपर्ने र गाईबस्तुलाई खुवाएर सक्नुपर्ने बाध्यता छ। आयातित चामलसहित राहतमा कृषकहरूले स्थानीयस्तरमा उत्पादन गरेका खाद्यान्‍न पनि समावेशी तरिकाले बाँड्न सके कृषकहरूलाई समेत राहत हुने र सबैलाई सन्तुलित आहार मिल्ने कृषि विकास अधिकृत रेग्मीले बताए। 

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]