फिचर

सुक्खा डाँडामा हरियो तरकारी फलाउँदै कृष्णप्रसाद शर्मा

कृषिलाई नमुना बनाउन लागौँ

बैशाख ११, २०७७

    पर्वत :  पिउने पानी समेत नभएको ठाउँमा सिँचाइका लागि आवश्यक पानी पाउनु त निकै कठिन कुरा हो। नेपालका धेरै जिल्लामा  वर्षौंदेखि पिउने पानीको अभाव रहेको छ।

    यस्तै, अभाव पर्वत जिल्लाको फलेवास नगरपालिका ३ शंकरपोखरी डाँडामा पनि रहेको छ। अझै पनि यहाँ पिउने पानीको लागि समेत आकाशको पानी जम्मा गरेर फिल्टर गरेर खानुपर्ने अवस्था छ। मानिसले समेत खानेपानीको समस्या झेलिरहेको शंकरपोखरीका बासिन्दाका लागि सिँचाई गरेर तरकारी उत्पादन गर्नु कठिन कुरा हो।

    यही परिस्थितिका बिचमा पनि शंकरपोखरीका कृषक कृष्णप्रसाद शर्मा भने सबैका लागि उदाहरण बनेका छन्। आकाशको पानी जम्मा गरेरै उनले टनेलमा गरिरहेको बेमौसमी खेतीले शंकरपोखरीसहित आसपासका ठाउँको तरकारीको माग समेत धानेको छ।

    शर्माले निर्माण गरेको नेट सहितको एउटा हाइटेक टनेल र अन्य तीन ओटा सामान्य खालका टनेलमा फलाइएको तरकारी शंकरपोखरी बजारसहित नजिकैको थापाठाना, साईकलचोक र सदरमुकाम कुस्मासम्म पुग्ने गरेको छ।

    ‘यो ठाउँमा पिउने पानी त छैन, चौपायालाई पनि उस्तै समस्या छ, तरकारीमा सिँचाई गर्न पाउनु त धेरै कठिन कुरा हो। यो ठाउँ डाँडामा रहेका कारण नजिकमा कतै पनि पानीको मुहान छैन।’ उनले भने, ‘आकाशको पानी जम्मा गर्न ट्यांकी निर्माण गरेको छु, त्यही ट्यांकीको पानीले सिँचाई गरेर तरकारीको उत्पादन राम्रो गरेको छु।’ कृष्णले सिमेन्टबाट बनाइएको ६६ हजार लिटर पानी अट्ने सहित अन्य प्लास्टिकका ट्याङ्कीहरु पनि राखेका छन्।

    रासायनिक पदार्थको प्रयोग निषेध

    टनेलमा लगाइएका तरकारीमा कुनै पनि विषादीहरू प्रयोग नगरिएका कारण तरकारीले राम्रो बजार पाएको कृष्णको भनाई छ। बजारमा बिक्रीका लागि राखिएका तरकारीहरूमा रासायनिक पदार्थहरूको प्रयोग गर्ने गरिएको भएपनि आफूले उत्पादन गरेका तरकारीहरूमा गहुँत र जैविक मलको उच्च प्रयोग गर्ने गरेको उनले सुनाए।

    ‘यहाँ लगाइएका कुनै पनि तरकारी र फलफूलमा अहिलेसम्म बिषादी र भिटामिनको प्रयोग गरेको छैन। तरकारीको लागि उत्तम औषधि गहुँत हो',  उनले भने, ‘जैविक मल हालेर उत्पादन गरिएका तरकारीको माग राम्रो छ, उत्पादन गर्न सके बजारको समस्या छैन।’

    रासायनिक औषधि प्रयोग गरेको भन्दा जैविक मल राखिएको तरकारीको उत्पादन राम्रो, दीर्घकालीन र मानवीय स्वास्थ्यमा खेलबाड नहुने भएकोले आफू जिम्मेवार कृषक बनेको कृष्णको भनाई छ। उनका टनेलहरूबाट बेमौसमी तरकारीको रूपमा सबैभन्दा बढी बोडी, सिमी, काउली, बन्दा, प्याज, रायो, साग, टमाटर लगायतका तरकारीहरू फल्ने गरेका छन्।

    जे.टी. बाट रिटायर भएको अनुभवले राम्रो

    शंकरपोखरीको सिंगो वडा सहित छिमेकी वडाहरूमा पनि पशुपक्षीमा देखिएका समस्या समाधान गर्न र उन्नत जातको खेतीका लागि बीउ लिन सबैले कृष्णलाई नै सम्झिने गरेका छन्। कृषि प्राविधिक (जे.टी) को जागिर खाएर त्यसैबाट डेढ वर्ष अगाडि अवकाश पाएका उनले गर्ने हरेक कृषि कर्म सफल बन्नुको कारण उनको जागिरे अनुभव नै प्रमुख हो।

    ‘लामो समयसम्म जे.टी.को रूपमा कार्यरत रहँदा धेरै समस्याहरूसँग जुध्ने मौका पाएँ, कृषि र कृषकका हरेक समस्याहरू भोग्दै तिनीहरूको समाधान गरेँ।’ उनले भने, ‘त्यही प्राविधिक अनुभवले नै मैले गरेका कृषि उत्पादनहरू सफल बनेका छन्, अहिले पनि नागरिकहरू समस्या परेमा मलाई नै बोलाउनुहुन्छ।’

    पशुपक्षीमा देखिने रोग, आकस्मिक समस्या, खेती बालीमा लागेका रोग तथा किराको प्रकोप नियन्त्रणको लागि आवश्यक औषधिहरू पनि घरबाटै बिक्री गर्दै आएका शर्माको घरमा दैनिक जसो कृषकहरूको भीड लाग्ने गरेको छ।

    ‘आर्थिक उपार्जनको लागि कृषि पेसा उत्तम’

    अवकाश पाएको जागिरबाट आउने पेन्सनले भन्दा पनि आफूले गरेको कृषि उत्पादनले गरेको आम्दानीले घरको आर्थिक क्रियाकलाप गर्न सजिलो भएको कृष्णले सुनाए। बजारमा बसेर अध्ययन गर्दै आएका छोराहरूको खर्चदेखि घरको दैनिक गुजारा चलाउनको लागि पनि टनेलमा फलाइएका तरकारी उपयोगी बनेको उनको भनाई छ।

    ‘आर्थिक उपार्जनको लागि त कृषि पेसा निकै उत्तम रहेको मैले अनुभव गरेको छु’, शर्माले भने, ‘गरौँ के रे जे हुन्छ हुन्छ भनेर खेती गरेर हुँदैन, जसरी हुन्छ नमुना बनाएरै उत्पादन गर्छु भनेर लागि परेमा नहुने भन्ने छँदै छैन।’

    एउटै बोकाको मूल्य १ लाख २५ हजार

    कृष्णको घरमा पालिएको उन्नत ‘बोयर’ जातको बोको ब्याडेको रूपमा पालिएको छ। झन्डै १ सय ५० किलो तौल भएको बोकाको मूल्य १ लाख २५ हजार पर्ने कृष्णले सुनाए। स्याङ्जाको पेखुबाट किनेर ल्याएको उक्त बोकाले ब्याठेको रूपमा अहिलेसम्म झन्डै ८५ हजार रुपैयाँ आम्दानी गरिसकेको छ।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]