समाज

पर्वतबाट हिँडेरै चितवन लागेका मजदुर भन्छन् : खानै नपाएर हिँडेका थियौं

बैशाख १, २०७७

    पर्वत : लकडाउनको बेलामा कसैलाई पनि घर बाहिर निस्कन अनुमति छैन, त्यसमा पनि हुलहुज्जत गर्दै हिँड्न पाइँदैन्। तर पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीको रुग्दीमा सोमबार बिहान ६ बजे ११ जनाको समूह चितवन जाँदै थिए। उनीहरु खाना पकाउने भाँडा, केही चामल र ‘म्याट्रेस’ र पातलो कम्बल पोको पारेर हिँडिरहेका थिए। 

    उनीहरूको साथमा ढुंगा फुटाउन प्रयोग गरिने घन र खन्ने सावल पनि थियो। झन्डै ८/९ सय मूल्य पर्ने सावल भने उनीहरूले ३ सय रुपैयाँमा बीच बाटोमै बेचे। उनीहरू २ घण्टाको यात्रा पार गरेर रुग्दी पुगेको हामीलाई बताए। उनीहरू ज्याला नपाएपछि पैदलै चितवन पुग्ने लक्ष्यमा हिँडेका थिए।

    फलेवास नगरपालिकास्थित राहाले बजारमा सडकमा भित्ता निर्माण र ग्याबिन जाली भर्ने काम गरिरहेका मजदुरहरू थिए उनीहरु। आफूहरुले ज्यालाबापतको रकम नपाएपछि घर हिँडेको हामीलाई बताए। पर्वतको कार्कीनेटा निस्किएका थिए उनीहरु। 

    पोखराबाट पृथ्वी राजमार्ग हुँदै तनहुँ र चितवनको मुग्लिन हुँदै चितवनकै राप्तीनगर नगरपालिका १० कोराक हिँड्ने योजनामा आफूहरु रहेको उनीहरुले सुनाए। 
    तीमध्येका एक पासाङ थिङले भने, ‘हामी फलेवासको राहालेमा काम गरिरहेका थियौँ, ठेकेदारले न त पैसा दिए न त रासन नै।’ भोकभोकै मर्नुभन्दा हिँड्दाहिँड्दै घर पुगिने आशमा यसरी हिँड्नुपरेको उनले सुनाए। 

    उनले भने, ‘यो बेला कसैले कसैले छुन मिल्दैन। हामीलाई पुलिसले पनि समात्दैन, त्यसैले हिँडेको।’ प्रहरीले छुन नपाउने भएपछि त घर पुग्न पाइने आशमा थिए उनी। उनले थपे, ‘प्रहरीले २/४ लाठी हाने पनि सहेर घर पुगेर ढुक्कले भात खाउँला।’

    समूहमा रहेका २ जनाको घर रसुवा भए पनि बीच बाटोमा क्वारेन्टाइन पर्ने भएकाले चितवन हिँडेको सुनाए। मजदुर मध्येका सबैभन्दा कम उमेरका अर्जुन प्रजाको साथमा चामल र केही भाँडा थिए। यात्राका क्रममा जंगल या त्यस्तै ठाउँ आइपरे पकाएर खान उनले जोरजाम गरेका रहेछन्।

    निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनले कामको जिम्मा लिएको सडकको काममा नुवाकोटका विदुर तामाङले मजदुरहरूको कन्ट्रयाक्ट गरेका थिए। आफूहरुको जिम्मा लिएका ठेकेदारसँग ज्याला माग्दा प्रभु बैंकको ४५ हजारको चेक दिए पनि उक्त चेक ‘ब्ल्यांक’ भएको उनीहरुले बताए। 

    ‘चैत १८ गते काटेको चेक हामीलाई आइतबार दिएका थिए,’ अर्जुनले भने, ‘पछि फोन गरेर त्यो खातामा पैसा छैन, बैंकमा नजानू भनेर फोन गरे। ५ महिनादेखि काम गर्दै आएका उनीहरुले आफूहरुले खर्च कटाएर झन्डै डेढ लाख रुपैयाँ नपाएको गुनासो गरे।

    नगरप्रमुख र निर्माण व्यवसायीले दिए पेट पाल्ने काम

    झन्डै ३ घण्टाको यात्रा तय गरेर फलेवास ३ शंकरपोखरीमा पुग्दा उनीहरूलाई एमआई कन्स्ट्रक्सन एन्ड विल्डर्स कम्पनीका सञ्चालक धनबहादुर थापाले भेटे। सोधीखोजी गर्दा ठेकेदारले पैसा नदिएपछि घरमा हिँडेको बताएका उनीहरूलाई थापाले आफूले निर्माणको काम गरिरहेको सडक र पार्कमा काम गरेर पेट पाल्न र लकडाउन खुलेपछि घर जान सुझाएको बताए।

    तर उनीहरूले ठेकेदारहरूले ज्याला नदिने भन्दै काम छाडेर हिँडेका थापाले बताए। फलेवासका मेयर पदमपाणि शर्मा सोही बाटो जाँदै गर्दा निर्माण व्यवसायी थापाले मजदुरहरूको अवस्थाबारे बताएका थिए। उनीहरुको समस्याबारे बताएपछि केही पर सडकमा हिँड्दै गरेका उनीहरूलाई ज्याला जसरी पनि दिलाउने प्रतिबद्धता गरेपछि मजदुरहरू काममा लागेका थिए। उनीहरूको साथमा १३ सय रुपैयाँ मात्र भएकोले पेट पाल्नकै लागि भए पनि उनीहरुले चितवनको यात्रा तत्कालका लागि रोकेका छन्।
     

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]