समाज

लकडाउनमा शिक्षकका दैनिकी : डोको बुन्‍नेदेखि अनलाइन कक्षा

बैशाख १, २०७७

    पर्वत : पर्वत सदरमुकाम कुस्मामा रहेको नारायण माध्यमिक विद्यालयका शिक्षक गोविन्द ढकाललाई एक जना विद्यार्थीले म्यासेन्जरमा फोन गरे। विद्यार्थीले के सोधे कुन्नि अनि उनले ‘हलो बाबु उम भन, गणितको त्यो साध्य पुष्टि गर्न फिगर आवश्यक छ। चित्रबाट बनायौं भने त्यसको कन्सेप्ट क्लियर हुन्छ। अरू केही नबुझे फेरि पनि अनलाइनमा आउनू।’ भन्दै जवाफ दिए। त्यो बीचमा अरू केही विद्यार्थीलाई पनि अडियो, भिडियो र टेक्स्टबाट उनले पढाइमा सघाए, तरिका बताए।

    विज्ञान र गणित विषयका शिक्षक ढकाल साहित्यमा पनि उत्तिकै रुचि राख्छन्। त्यसलै विद्यार्थीहरूसँगको कुराकानी सकेपछि उनले मुक्तक र गजलका किताबहरू जम्मा पारे। 

    आफूलाई मन परेका रचनाहरू छनोट गरिसकेपछि फेसबुक लाइभमा आएर वाचन गरे, अरूले पनि उनलाई आफ्ना रचनाहरू पठाए, ती पनि उनले वाचन गरे। त्यति मात्र होइन, फुर्सद निकालेर करेसाबारीको कामदेखि डोका, नाम्ला बनाउन पनि उत्तिकै जाँग झिक्छन् उनी ।

    कुस्मा नगरपालिका २ खुर्कोटमा रहेको हिमालय माध्यमिक विद्यालयमा गणित पढाउने शिक्षक जीवनाथ शर्माको काम पनि आइसिटीमै बितिरहेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन सक्ने डरले अन्तिम चरणमा एसइई परीक्षा रोकिएपछि उनले विद्यार्थीहरूलाई दूर शिक्षाकै माध्यमबाट पढाउने तयारी थालेका छन्। 

    ‘अन्तिम समयमा परीक्षा रोकियो, तयारी अवस्थामा रहेका विद्यार्थीहरूले पढेका कुरा बिर्सिए, उनीहरूलाई ताजा राखिराख्न रेडियो र अनलाइनबाट कक्षा चलाउन साथीहरू मिलेर सहकार्य गरेका छौँ,’ उनले भने, ‘लकडाउनको बेलामा बाहिर जान पाइँदैन, दिनभर सुत्नुभन्दा यसैबाट(दूरशिक्षा) भए पनि विद्यार्थीलाई सघाउनु राम्रो।’

    कुस्मामै घर भई चुवामा रहेको मंगलोदय माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक देवेन्द्र पौडेल यसबेला कविता, मुक्तक जस्ता साहित्यिक विधामा पनि व्यस्त छन् । साहित्य क्षेत्रमा रुचि भएका कारण समय बिताउन सजिलो भएको उनी बताउँछन् । 

    भन्छन्, ‘घरबाट बाहिर जान पाइँदैन, जानु पनि हुँदैन, समयलाई सदुपयोग गर्‍याे अनि साहित्यिक रचना गरेर बसेको छु । यो समयलाई उनी महत्वपूर्ण भएकाले सदुपयोग गर्न सके आफ्नै ज्ञान अभिवृद्धि हुने उनको बुझाइ छ । पौडेल थप्छन्, ‘खालि दिमाग सैतान हाजिर भनेजस्तो केही न केही रचनात्मक काम गरेर बस्दा मनमा चिन्ता र नराम्रो कुरा खेल्न पाउँदैन।’

    बजार क्षेत्रमा नै स्थायी बसोबास भएका शिक्षकहरूको दैनिकीभन्दा गाउँमा भएकाको अलि फरक छ । बजार क्षेत्रमा कोठामै थुनिएर इन्टरनेट र किताबमा प्रायः शिक्षकको समय बित्छ। तर गाउँमा भने शिक्षकहरू कृषि उत्पादनमा पनि व्यस्त हुन थालेका छन् । 

    कुस्मामा रहेको राष्ट्रिय बाल शिक्षा सदनमा विज्ञान विषय अध्यापन गराउने शिक्षक ऋषि रेग्मी सबेरै उठ्छन् । अनि लाग्छन् करेसाबारीमा तरकारी गोडमेल गर्न । दाउरा काट्ने र चिर्ने काममा पनि उनी व्यस्थ भइरहन्छन् । सानैमा गाउँ छाडेका उनी गाउँले काममा त्यति अभ्यस्त नभए पनि काम नगर्नुको विकल्प नरहेको बताउँछन्। 

    ‘बजारमा छँदा पढाउने काममै बिजी हुनुपर्ने थियो, अहिले गाउँमा छँदा गाउँकै काम गरिएको छ,’ ऋषि भन्छन्, ‘सुतेरै पनि दिन जाने कुरा भएन, गाउँमा आएका बेलामा सकेको काम गर्न सकियो भने बुबा आमाको काममा पनि सघाउ पुग्छ।’

    रुग्दी नै घर भई बागलुङ नगरपालिकामा रहेका शिक्षक राजु रेग्मी पनि लकडाउनका बेला घरका काममा सघाउँछन् । ‘घरबाहिरका काममा पनि परिवारका सदस्यहरूलाई सघाउने गरेको छु,’ उनले भने, ‘बाँकी समयमा मेरै अध्ययनका लागि विभिन्न अनलाइन कोर्सहरू पनि हेर्ने गरेको छु, लोकसेवाका किताबहरू पनि हेरेर समय बिताउँछु।’ 

    ऋषि र राजु जस्तै गाउँमा रहेका धेरै शिक्षक पर्म गर्दै गाउँकै काममा खटिरहेका छन् यसबेला । सदरमुकाममा रहेर ट्युसन, कोचिङ, भाषा कक्षा सञ्चालनका काममा व्यस्त हुने उनीहरू अहिले चाहेर पनि सदरमुकाम वा बजारमा रहन पाएका छैनन्। यही कारण गाउँमा बाँझा रहेका खेतबारीमा उम्रिएका झाडी सफा गर्ने, तरकारी लगाउने तथा गोडमेल गर्ने, घरायसी काममा व्यस्त देखिने गरेका छन् । 

    लकडाउनको अवस्थामा अनलाइन माध्यमबाट शिक्षक र विद्यार्थीसँग सम्पर्कमा रहनु र उनीहरूको अध्ययनमा सघाउ पु¥यानु आवश्यक रहेको ठान्छन् शिवालय बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र पहाडी। 

    ‘शिक्षकहरू गाउँमा रहँदा कृषिमा लाग्नु र इन्टरनेटमा रहँदा विद्यार्थीसँग सहकार्य गर्दा विद्यार्थीहरूमा कोरोनाका कारण परेको मनोवैज्ञानिक असरलाई कम गर्न सहयोग पुग्छ,’ उनले भने, ‘यसो गर्दा अनावश्यक चिन्ताबाट मुक्ति मिल्छ, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुन्छ।’

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]