स्वास्थ्य

चिकित्सकहरू भन्छन् : पिपिई गुणस्तरीय भएन, जोखिम झनै बढ्यो

‘कपडाबाट सिलाइएका मास्क लगाउन बाध्य छौं’

चैत २९, २०७६

    पर्वत : कोरोना भाइरस (कोभिड १९) फैलन नदिन आम नागरिकहरू लकडाउनमा बसिरहेको बेलामा चिकित्सकहरूको  पीडा भने फरक छ। लकडाउनको बेलामा सबै जना होम क्वारेन्टाइनमा छन् तर संक्रमित भएका व्यक्ति भेटिएमा उनीहरूको समीपमा जाने र सम्पर्कमा रहने भनेका चिकित्सक नै हुन्। 

    कोरोना सङ्क्रमण पैmलिएका देशहरूका चिकित्सकहरूको लागि सुरक्षाका विभिन्न तरिकाहरू अवलम्बन गरिएका भए पनि नेपालका चिकित्सकहरूले भने सोही अनुसारका सुरक्षा कवचहरू पाउन सकेका छैनन्। 

    आयातित पिपिई(पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) सेटहरू विभिन्न जिल्लाहरूमा बाँडिसकिएको भए पनि कतिपय ठाउँमा अपूरा त कतिपय ठाउँमा सेटहरू अपुग भइरहेको छ। स्वास्थ्यकर्मीहरूलाई निजी क्षेत्रका संघसंस्थाहरूले समेत सहयोग गरिरहेका छन्। 

    सरकारबाट आफूहरूले पाएका सुरक्षा कवच (पिपिई) सेटहरू कमजोर रहँदा कोरानाबाट सङ्क्रमितहरूको उपचार गर्नुपर्ने अवस्थामा झनै जोखिमपूर्ण हुने पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटा बताउँछन्। 

    ‘हामीहरूले अझै पनि स्टान्डर्ड खालका पिपिई सेटहरू पाएका छैनौँ, उपचारमा खटिने चिकित्सकहरूलाई बिमाको प्रबन्ध हुनुपर्ने हो त्यसबारेमा पनि कुनै कुरा भएको छैन।’ उनले थपे, ‘बरु कुस्मा नगरपालिकाकाले यसमा खटिने चिकित्सकहरूलाई केही इन्सेन्टिभ दिने बताउनुभएको छ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायबाट भने आवश्यक सहयोग पाएका छौँ।’

    बजार क्षेत्रमा रहेका र ठूला अस्पतालहरूमा सबैका नजर जाने भए पनि विकट ठाउँहरूमा रहेका स्वास्थ्यकर्मीहरूलाई बढी जोखिमको अवस्था रहेको ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरू बताउँछन्। फलेवास नगरपालिका ३ शंकरपोखरीमा रहेको स्वास्थ्य चौकीका इन्चार्ज निर्मल पौडेलले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसारका पिपिई सेटहरू आफूहरूले नपाएका कारण स्वास्थ्यकर्मीसहित आम नागरिक पनि जोखिममा रहने बताउँछन्। ‘खास त एउटा बिरामीलाई डिल गरेको पिपिईले अर्कोलाई डिल गर्नु हुँदैन, तर त्यो पाउनु त परको कुरा भयो, एन नाइन्टी फाइभ र सर्जिकल मास्क नपाउँदा सामान्य कपडाबाट सिलाइएका मास्क लगाएका छौँ।’ 

    स्वास्थ्यकर्मीलाई अहिले उपलब्ध गराइका सुरक्षा कवचहरू प्रयोग गरिरहेको अवस्थामा कोही संक्रमित व्यक्ति भेटिएमा संक्रमण बढ्ने जोखिम झनै उच्च हुने पौडेल बताउँछन्। डक्टरहरूका सुरक्षा कवच नै गुणस्तरीय नहुँदा तिनै कमजोर सामग्रीबाट अरुमा संक्रमण फैलने सम्भावना हुन्छ। त्यसैले ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरू झनै जोखिम रहेका उनले बताए। 

    जिल्लाको सदरमुकामसमेत रहेको कुस्मा नगरपालिकाले हेर्ने विभिन्न स्वास्थ्य संस्थाहरूमा आवश्यकताअनुसार व्यक्तिगत सुरक्षाका सामग्री केही उपलब्ध गराइएको र केही खरिदको क्रममा रहेको नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले बताए। ‘सहरी स्वास्थ्य केन्द्रहरूमा १/१ सेट र स्वास्थ्य संस्थामा २/२ सेटका दरले पिपिई सेट, गाउन, गम्बुट, ह्यान्ड सेनिटाइजरलगायत सामग्री प्रदान गरिएको छ।’ उनले भने, ‘बिरामीसँग डिल गर्ने डक्टरलाई आवश्यक मात्रामा पिपिई उपलब्ध नभए समस्या हुन्छ, उनीहरूलाई एन नाइन्टी फाइभ मास्क, चस्मालगायत सामग्री दिन मन फुकाउनुपर्छ।’

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]