कोभिड-१९ {अपडेट}

लकडाउनमा पिल्सिँदै श्रमिक, भन्छन्‌ : ‘भोकभोकै मरिने भइयो’

चैत २७, २०७६

    रुपन्देही : घरैबाट काम गर्न र सामाजिक दूरी कायम राख्न नेपाल सरकारले बैशाख ३ गतेसम्मका लागि दोस्रो पटक देशव्यापी लकडाउन थप गर्‍यो। 

    तर, शारीरिक श्रम गर्ने ज्यालादारी मजदुरहरुका लागि सामाजिक दूरी कायम गर्नु भनेको साँझमा भोकै सुत्नु हो। किनभने सडक बालबालिकादेखि साँझ खानका लागि दिनभर काम गर्नै पर्ने फेरीवाला सडक व्यापारीहरुका लागि ‘घर देखि काम’ गरेर राती चुलो बल्दैन। 

    यस्ता ज्यालादारी वा सडकका खुद्रा व्यापारीहरुमध्ये आधाभन्दा धेरै श्रमिकहरु अनौपचारिक क्षेत्रमा काम गरिरहेका छन्। उनीहरुलाई काममा सुरक्षा छैन। श्रम अधिकारका कानुनहरुले सम्बोधन सकेका छैनन्। अधिकांश निर्माण क्षेत्र, फ्याक्ट्री र सडकमा खुद्रा व्यापारीका रुपमा काम गरिरहेका छन्।

    हामीले बन्दाबन्दीको १५ औं दिन आज मंगलबार बिहान बुटवलको तिनाउ नदी, सुख्खानगर, हाटबजार, बसपार्क, गोलपार्कलगायतका क्षेत्रमा बिहानै देखि काममा जुटेका श्रमिकहरुलाई बन्दाबन्दीमा पनि कसरी आफ्ना आवश्यकता पुरा भइरहेका छन् भनेर सोधेका थियौं। 

    ‘अहिले काम नगरे राती पेट खाली हुन्छ’


    तिनाउ नदीमा ड्याम बनाइरहेका श्रमिकहरू ।

    विहानको सूर्यले तताएको तिनाउ नदिको बगरमा ड्याम बनाउनका लागि बेसीनमा माटो खनिरहेका श्रमिकहरुलाई हेर्दा लाग्छ : शहरमा बन्दाबन्दी नै छैन। ‘भोक लाग्छ त के गर्नु। काममा आउनै पर्‍यो,’ अर्घाखाँची मालारानी स्थायी घर ३४ वर्षीय महेन्द्र कुवँरले ड्यामको जगमा भरिएको ढुँगा निकाल्ले बाहिर फ्याँक्दै भने। 

    गाउँमा रहेको ६ जनाको परिवार र यहाँ आफूलाई बचाउने सबै जिम्मेवारी उनकै हो। बन्दाबन्दी हुने भनेर थाहा पाउदासमेत गाउँमा झनै कठिन स्थिती देखेर उनी शहरमै बसे। बरु यतै बाँच्न सकिएला भन्ने थियो। 

    ‘हड्तालको (बन्दाबन्दी भन्न खोजिएको) सुरूका दुई दिनजती काम रोकिएको हो, एक दिनमै रासन सकियो, अनि ठेकेदारलाई खान देउ हामीले काम गरिरहन्छौं भनेर काममा आएका छौं,’ उनले भने। 

    उनीसँगै त्यहाँ अन्य १२ जना श्रमिकहरुले काम गरिरहेका छन्‌। कोही बेल्चाले माटो फालिरहेका छन्‌, कोही ढुँगा उठाउँदै छन्‌ भने कोहीले छड बाँध्ने काम गरिरहेका छन्‌। 

    स्थलगत रिपोर्टिङमा पुग्दा यीनै निर्माण मजदुरमध्ये दाङ घर भएका सन्दीप कुमालले टाउकोमा ढुँगा बोकिरहेका थिए। उनी १४ बर्षका भए। ‘हामीहरु थुप्रै छौं। दाङ, प्यूठान, रोल्पाका मान्छेहरु पनि छन्। एकै ठाउँमा सँगै खान्छौं। ठेकेदारले सामान ल्याइदिन्छ,’ उनले भने। 

    त्यो भीडमा अमृता कुमाल पनि थिइन्। उनी पनि बालश्रमिक हुन्। दाङ घर भएकी उनले साँझ खान नपाइने डरले काममा आएको बताइन्।

    ‘तर, कोरोना सर्ने डर लाग्दैन ?’

    ‘कोरोनासँग भन्दा भोकसँग डर लागिरहेछ हजुर,’ उनले भनिन्। 

    ‘उपनगरपालिकाले केही दिएको छैन ?’ 

    ‘दिएन, हामीलाई कसैले चिन्दैन,’ उनले भनिन्। 

    ‘पुलिससँग डर लाग्छ’ 


    रिक्सा लिएर यात्रुको खोजीमा निस्किएका ३८ वर्षीय पदम थापा ।

    बुटवल जितगढीमा रहेको साहुको घरमा बहालमा बस्ने पदम थापा बिहानै रिक्सा लिएर निस्किए। श्रीमान घरबाट निस्कँदैदेखि उनी कतिबेला पैसा बोकेर आउलान् र केही खानेकुरा ल्याउँलान्‌ भनेर एक छोरा र एक छोरीलाई काखमा लिएर पदमकी पत्नीले बाटो हेरिरहेकी छन्।

    घाँटीमा मास्क र टाउकोमा कालो टोपी पहिरिएर बिहानैबाट रिक्सा तानिरहेका पदमले बन्दाबन्दीका कारण एक जना पनि यात्रु पाएका पाएका छैनन्। 

    ‘खानलाई पैसा छैन,’ मैलो भइसकेको सेतो टि–सर्टले अनुहारबाट तप्केका पसिना पुछ्दै ३८ वर्षीय पदमले भने,‘अब यस्तो वन्दीमा कहाँ मान्छे पाइलान् र!’

    बन्दाबन्दी सुरू भएदेखि उनले निकै मिहिनेत गरेर हालसम्म जम्मा २ हजार रुपैयाँ जति कमाएको अनुमान लगाउँछन्। एकतिर मान्छे नपाइनुको पिडा त छँदैछ, अर्कोतर्फ पुलिसको नजरबाट लुकी लुकी हिँडिरहेका छन् उनी। 

    ‘अस्ति पुल तर्न नपाउँदै बीचबाटै घर फर्काइदिए, आज त नयाँ पुल बाट वारी आएँ,’ उनले भने,‘पुलिसले काम गर्न दिएकै छैन।’ 

    ‘अनि यसरी सुरक्षा बिनै हिँड्दा कोरोनाको डर लाग्दैन ?’  

    ‘हाम्लाई कोरोनाको के मतलब ! घरमै बसे भोकै भइन्छ, बरु प्रहरीले कुरा बुझिदिए हुन्थ्यो,’ उनले भने। 

    ‘उपमहानगरपालिकाले रासन दिएको छैन र ?’ भनी प्रश्न गर्दा उनले भने, ‘अझैसम्म पाईएको छैनऽ रासन पाएको भए काममा नै आउने थिइनँ।’ 

    ‘कि भोकले लान्छ कि कोरोनाले !’ 


    साइकलमा पानमसाला राखेर बेच्दै हिँडेका ४१ वर्षीय रमेश कुमार ।
     

    साईकल पछाडी पुरानो ग्यासको स्टोभ, त्यसमाथि बोरा र अगाडी ह्याण्डलमा ग्यासको पाइप र कुकरका केही मर्मत सामग्री झुण्ड्याएर सुख्खानगरबाट दीपनगर जाने बाटोमा मंगलबार विहानै रमेश कुमार भेटिए। बुटवलका गल्ली–गल्लीका घरहरुमा बिग्रेका ग्यास तथा कुकरहरु बनाउँदै नहिँडे उनको घरमा पनि चुल्हो बल्दैन।

    रौतहतबाट कमाउन भनी उनी बुटवल आएका हुन्। तर, लकडाउन सुरू भएपछि कोरोनाको डरले मान्छेहरुले उनलाई घरभित्र बोलाउन छाडेका छन्। त्यसैले उनको गोजी पनि रित्तिँदै गएको छ।

    पहिले उनको दैनिक न्यूनतम आठ सय रुपैयाँ कमाइ हुन्थ्यो रे। अहिले कमाई स्वात्तै घटेको छ। खान नै नपुग्ने भएपछि लकडाउनका बावजुद बुटवलका गल्ली चहार्दै हिँडेका छन् उनी। 

    ‘हामीलाई कोरोनाको के डर!’ उनी भन्छन्,‘कोरोनासँग डराए त भोकले लगिहाल्छ नि !’ 

    ‘काम गर्न देउ नत्र खान देउ’ 


    ठेलामा केरालगायत फलफूल राखेर बेच्न हिँडेका ५५ बर्षीय तुल्सीराम मरासिनी ।

    बुटवल जेसीज चोकबाट हाटबजारतिर केही दिनका पुराना केरा राखेर ठेला धकेल्दै ओरालो झरिरहेका थिए तुलसीराम मरासीनी। अर्घाखाँचीको सत्रदेव गाउँपालिकाका स्थायी बासिन्दा उनी बुटवलमा परिवार पाल्न भनेर आएका हुन्। त्यसकै निम्ति ठेलामा फलफूल व्यापार गर्छन्। 

    कपाल फुलेर सेतै भइसक्दासमेत साँझ खान दिनभरी काम नगरी पुग्दैन उनलाई। तर, बन्दाबन्दी भएपछि भने न त दिनभर काम नै गर्न पाएका छन्, न त पेट भरी खान नै। माथि गोलपार्कमा बस्छन्। 

    बन्दाबन्दीमा उनले फलफूल बेच्नै नपाउने त होइनन्, तर कोरोना त्रासका कारण उनको ठेलासम्म ग्राहक नै आइपुग्दैनन्। त्यसैले पहिले एकैठाउँमा राखेर बेच्ने ठेलालाई सकि-नसकी गुडाएर फलफूल बेचिरहेका छन्। त्यै पनि पहिले भन्दा व्यापार घटेकोमा उनलाई चिन्ता छ। 

    ‘यो कस्तो अफ्ट्यारोमा परियो। बाहिर निस्कन पनि नहुने हो, तर, भोक मेट्नै पर्ने,’ ढाकाटोपी बाहिरैबाट सेतो फुलेको कपाल कन्याउँदै उनले भने, ‘एकातर्फ रोग छ, अर्को तर्फ भोक!’ 

    उनलाई यस्तो विपद्को बेलामा राज्यले केही सहयोग गर्नुपर्छ भन्ने हेक्का रहेछ। थोरै आक्रोश पोख्दै उनले भने, ‘कसरी शासन चलाईरहेका छन् यिनले? गरीबहरुलाई नै हेर्दैनन्।’

    उनले नगरपालिकाले वितरण गरिरहेको राहत नपाएको गुनासो पोख्दै भने, ‘घरबाटै काम गर भनेर हुन्छ? खान पाए को निस्कन्छ र घरबाट?’

जीवराज चालिसे

चालिसे थाहा खबरका रुपन्देही समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]