कोभिड-१९ {अपडेट}

कोरोना डायरी : भित्ता, चिन्तन र मान्छेको बहिखाता

चैत २६, २०७६

    बिहान आमाले गर्नुभएको फोनको घन्टी बजेपछि उठ्छु। बेलुकी चाहिँ दिनभर भएका घटनाको वृतान्त आमालाई नै सुनाएर सुत्छु। यो उठ्नु र सुत्नुअघिको नित्यकर्म हो। म लकडाउन पालना गर्दैछु नि त! प्रभातीय हिँडाई र साथीहरूसँग सन्ध्याकालिन जमघट त यतिखेर गर्नै भएन। 

    समय त कटाउनै पर्नेछ। शुरूमा बरू यसो चाहिँ गरेँ : कोठामा चारैतिर भित्ता छँदैछन्‌, ती चारै वटा भित्ताहरूमा अनगिन्ती पटक आँखा डुलाएँ। साँच्ची त! मानिसहरू अन्न र दलहनको दाना गनेर समय कटाउनुपर्छ भनिरहेथे। ज्या! मैले त भित्तामा कतिपटक हेरेँ, गन्नै पो बिर्सेछु। (हाँस्नुभयो त?)

    यसो गरेको कसैले देख्यो भने फेरि अर्को आपत्‌ आउने हो कि? कोठाभित्र एक्लै बसेर यस्तो हर्कत गर्दा समाजले मानसिक असन्तुलनको जामा लगाइदेला भन्ने डर!  (दुईजना भएको भए कसले यस्तो गर्थ्यो र?) धन्न कोठाभित्र समाज अट्दैन र अहिलेसम्म सद्दे नागरिककै हैसियतमा छु। यथार्थ : एकै ठाउँमा पाँच मिनेटभन्दा बढी समय टिक्न नसक्ने म जस्तो मान्छे कोठाभित्रै थुनिनु परेपछि हेर्ने त भित्तो नै हो नि! 

    उमेर पाक्दै छ। बालसुलभ चञ्चलता नहटेर हो कि : कार्यालय र घरमा घडी हेरेरै पाँच मिनेटभन्दा बढी एकै ठाउँमा सायदै बसेको हुँला। अहिले त लकडाउनले पिञ्‍जडाको सुगा नै पो बनाइदियो। फेरि भित्तो हेर्दै सोच्छु-अफिसका साथीहरू दिनभर एउटै कुर्सीमा बसेर काम गरिरहन्थे, म चाहिँ केही घन्टाकै अवधिमा १५ पटक भित्र-बाहिर गर्ने गर्थेँ। अहिले कोठामा एक्लै बस्दा मैले भित्तो नापिरहेको पो समाजले नदेखेको त! अफिसमा साथीहरूले त मेरो अस्थिरता देखेकै हुन्‌। हैट! कतै स्वास्थ्यस्थितिमै त शंका गरेनन्‌? गाउँघरमा पनि त मैले कैयौंपटक 'चुर्ना परेको जस्तो...' कटाक्ष सुनेकै हुँ।

    .....

    यायावरहरूको जीवन गज्जब लाग्छ मलाई। गन्तव्यको टुङ्गो होस्‌/नहोस्‌ : हिँडिरहन्छन्‌। अझ भनौं न, हिँडिरहन पाउँछन्‌। म यायावर त होइन, तर लगभग त्यस्तै हुन खोज्ने मनुष्य हुँ। मलाई जीवनमै जोखिम नभएसम्म एकै ठाउँमा बसिरहने उल्लुचरो पटक्कै मन पर्दैन। बरू पंखा फट्फटाउँदै हावाको तीव्रतामा पनि अडिन सक्ने र आँखा झिम्क्याउन नपाउँदै निकै टाढासम्मको उडानमा वेग मार्न सक्ने बाजचरो मनपर्छ। बरू हिँड्दा-हिँड्दै खुट्टा फतक्कै गलोस्‌, मलाई पर्वाह हुँदैन। तर एकै ठाउँमा अडिँदा कुकरमा पिँडालु राखेर २० पटक सिट्ठी लगाएजस्तो महशुस गर्छु। किनकी हिँडिरहनु मेरा लागि असली मज्जा हो।


    कोठाको भित्तोमा हजारौं पटक नजर डुलाउँदै गर्दा म दार्शनिक पो बनिरहेछु कि भन्ने लाग्न थालेको छ। लकडाउनको यो १५ दिनको अवधिमा आँखाले उही भित्ता नापिरहेछ। मिल्ने भए फित्ता लिएर म पनि आँखाको यात्रा नाप्ने थिएँ कि! 


    अँ त, म दार्शनिक बनिरहेछु झैं लाग्छ। अरस्तु या प्लुटोलाई नै माथ गर्छु कि क्या हो। या नित्से नै पो मेराअघि असफल भैदिन्छन्‌ कि! साँच्ची उनीहरूको पालामा यस्तो लकडाउन भयो कि भएन होला? उनीहरूले मैले झैं कोठाभित्रको भित्तो नापे कि नापेनन्‌ होला? नापेको भए त पक्कै लेख्थे नि! बरू उनीहरूले त सभ्यता र विकासको एक चरणमा मानिसहरूलाई दुर्बोधको चक्रव्युहबाट निकाल्न हजारौं किलोमिटरको चेतना यात्रा नै गरेका हुन्‌। यतिखेर चाहिँ कोरोना महामारी फैलाइरहेको जिवाणुले हजारौं जीवन निखारिरहेछ।

    एक त्रासदीले छट्पटाहट भैरहेको छ। ज्यान कोठाभित्र थन्किएको छ। मन सेतीको खोँच झैं भासिएको छ। मेरो मनभन्दा बढी ती मानिसहरूको आत्मविश्वास भासिएको र टुटेको होला : जसले प्रिय आफन्तहरु गुमाए, त्यो पनि अकालमै। अब उनीहरूले ती आफन्तको न्यानो आलिंगन पाउने छैनन्‌। अन्तिम संस्कार र अन्तिम विदाई नै गर्न नपाई छुटेका आफन्तहरूको वियोग उनीहरूले कसरी बिर्सन सक्लान्‌ र?

    .....

    अर्को आश्चर्य चाहिँ मेरै जीवनमा भइरहेको छ। परिबन्धले मान्छेलाई त ज्याद्रो पो बनाउँदो रहेछ। एकै ठाउँमा अडिन सकेपछि ती साथीले फेसबुकमा लेखेको कुरा सम्झिँदैछु। रूमानी प्रेममा डुबेका मान्छेहरूलाई व्यंग्य गर्दै ती मित्रले लेखेका थिए, 'तिम्रो अनुहार नहेरी एक पल पनि बाँच्‍न सक्दिन भन्नेहरूलाई आज १४ दिनसम्म अनलाइनमै देखिरहेको छु।'

    एकान्तवासले मानिसमा भ्रम टुटाउँदो रहेछ। तर यसका लागि मस्तिष्कलाई सांसारिक मोहजाल केलाउनेतिर कुदाउनु चाहिँ पर्छ। समयले अचेटेपछि मानिसले एक-अर्कोसँग गरेको वाचाबन्धन कसरी पूरा गरून्‌ र? 'तेरा लागि जे पनि गर्न सक्छु' भन्ने साथीहरू यतिखेर मलाई जति समस्या परेपनि सायदै घर बाहिर निस्कन्छन्‌। म पनि त निस्कन्‍नँ नि! हिसाब त बराबरै छ। मानिसले गर्ने वाचाबन्धनको आयु सायद संकटले नलपेटेसम्मका लागि मात्रै हो। त्यसपछि त लालचीले धनको पोको देखेजस्तै मान्छेलाई आफ्नै महत्व हुन्छ।


    यति भोगेर बाहिर निस्केपछि फेरि साथीले पक्कै भन्नेछ-'आफैं मरिएला भनेर हो, नत्र त तेरा लागि यो मरिजाने ज्यान सँधै हाजिर छ नि!' म पनि यसै भन्नेछु। मेरी प्रेमिकाले पनि यसै भन्नेछिन्‌ सायद। बाबुआमा...अँ हँ! यो जीवन नै त उहाँहरूले दिनुभएको हो। सन्तानका लागि हरेक बाबुआमा पलपल मर्न तयार भइदिन्छन्‌ नि!


    आँखाले भित्तो नाप्दै गर्दा पटक-पटक आध्यात्मिक र धार्मिक तरंगहरूले लपेटिरहेका हुन्छन्‌। सोच्छु : यो कस्तो समय हो? कलि भनेको यही पो हो कि? भित्तो नापिरहेको म एकाएक युग नाप्न तम्सिन्छु। श्रृष्टीको अन्त्य पश्चात यो गोल भूगोलमा जुन शुन्यता कल्पना गरिएको छ, लकडाउनमा घरभित्र थुनिएका मानिसहरूमा त्यस्तै शुन्यता छाइरहेको होला त? छैन, पक्कै छैन। त्यस्तो हुने भए म यो हजार गन्थन किन लेखिरहेको हुन्थेँ र! मान्छे साँच्चै ज्याद्रो छ नि!

    लकडाउने दिएको अर्को दिव्य ज्ञान : स्वतन्त्रता भनेको मनमौजी हेल्चेक्य्राइँ होइन रहेछ। नसक्ने र नहुने कुराका लागि प्रतिवद्धता जनाउनु घातक रहेछ। जस्तो कि लकडाउन अघि 'ज्यान दिन तम्सने' साथीहरूले घरमा आउनै बन्देज लगाएका छन्‌। कसैले कोठाको ढोका ढक्ढक्याए मैले पनि त खोल्ने गरेको छैन नि!

    .....

    समूहमा बस्ने मानिसहरूलाई समय त्रासदीले एकान्तवासमा कोचिदिएको छ। यो सभ्यताको क्षणिक 'रिभर्स' हो भन्‍ने जान्दछु। 'एक्लै जन्मेको हो, एक्लै संघर्ष गर्नुपर्छ, अनि एक्लै मर्नुपर्छ' भन्ने भुलेको मलाई भित्ताका किरिङमिरिङ रेखाहरूले आत्म-स्वीकारोक्तितर्फ डोहोर्‍याउँदैछ। 


    यति फराकिलो तत्वज्ञान पाएको मन क्षणभरमै बुर्कुसी मार्छ। उ त्यो परको चिया पसलमा सटर लागेको छ। त्यो सटरभित्र बस्‍ने कुर्सीहरू छन्‌। साहुजीले चिया पकाउँछन्‌। साथीहरू भेला भएपछि अनेक फूर्तिफार्तीका गफ लडाउँदै चियाको चुस्की लगाइन्छ। लगाइन्छ होइन-लगाइन्थ्यो। आज त १५ दिन भैसक्यो नि!


    साथीहरू ज्यान जोगाउन घरको गेटमा चाबी झुण्याएर बसेका छन्‌। म पनि छेस्किनी अड्काएर कोठाको भित्ता नाप्दैछु। लाग्दैछ-त्यसरी बाह्र/सत्ताइस डिङ नहाँकेको भए हुने रहेछ। बोलीमा चाबी र छेस्किनी लगाउनुपर्ने रहेछ। तर के गर्नु? साथीको फोन आउनेबित्तिकै गफ जोतिहाल्छु। उसले पनि महामारीविज्ञले भन्दा चर्को 'प्रेस्क्रिप्सन' ठेल्छ। 

    तर कोरोनाले हामीभित्रको भ्रम चाहिँ टुटाइदिएकै छ। मानिसले केही समयसम्म भएपनि आफ्नो धरातलबारे कुरा गर्नुपर्ने भएको छ। म चाहिँ बोध गर्दैछु - अब एउटा आहान बनाउँछु र बुढापाकालाई माथ गर्छु। उनीहरू भन्थे-'भित्ताको कान हुन्छ।' अब म भन्नेछु-'बुढाहरूको आँखा नै कमजोर! भित्ताको अनुहार पनि हुन्छ, अनुहारमा मुख हुन्छ, त्यो मुखबाट मानिसका लागि हजारौं दिव्यज्ञानका पर्रा छुट्छन्‌, तीन सातासम्मको लकडाउनमा लगातार भित्तो हेरेर वैराग्यता प्राप्त गरी घोर चिन्तनपछि यो तत्वज्ञान प्राप्त भएको हो, सबैले आजदेखि भित्तोको अनुहार पनि हुन्छ भन्नु!' मेरो कुरा दुनियाँले पत्याउला त? 

    .....

    जति किरिङमिरिङ कुरा गरेपनि यतिखेर सर्वहितायका लागि एकमात्र कामना गरिरहेको छु : कोरोना भाइरसको ओखती चाँडै पत्ता लागोस्‌। विकसित देश र संस्थाहरूले खर्च गरिरहेको अर्बौं रुपैयाँ रकम खेर नजाओस्‌। 

    अत्यावश्यक ठानिने सञ्चारकर्ममा लागेकाले मलाई सरकारले बेलाबखत बाहिर निस्कने अवसर दिएको छ। यसबीचमा पाँचपटक बाहिर निस्किएको छु र कोठाको भित्तोभन्दा फराकिलो संसार नियाल्न पाएको छु। तर कोठामा बस्नु र बाहिरफेर निस्कनुबीच खासै अन्तरचाहिँ महशुस गरेको छैन। कोठाजस्तै सुनसान बनेको बाहिरी वातावरण देख्दा प्राणीहरूले दैनन्दिन हतारो भोग्दाभोग्दै केही क्षणका लागि आफूलाई कुनै बिसौनीमा बिसाइदिएको जस्तो लाग्छ।

    खासै मन्दिर नधाउने म यसबीचमा पशुपतिनाथ परिसर पुगेँ। मन्दिरहरूको शहरमा बसेर पनि यसअघि कहिल्यै नदेखेका अन्य धार्मिक स्थानहरू पनि अवलोकन गरेँ।

    पशुपति पुग्दा मलाई अलि असहज महशुस हुन्छ। घर भएर पनि बेघर भएका र सन्तान भएर पनि अपुतो भएका बुबाआमा देख्दा मलाई औडाहा महसुस हुन्छ।  म सँग न उनीहरुको घाउमा दलिदिने मल्हम छ, न त उनीहरुको पीडा सुन्ने ल्याकत। 

    त्यसैले अन्य समयमा पनि म तीनवटा संयोग/दुर्योग पर्दा मात्रै त्यहाँ जान्छु। पहिलो बुबाको वार्षिक तीथि पर्दा, दोस्रो आफन्त बित्दा मलामी र तेस्रो आकस्मिक आउने रिपोर्टिङका बेला। 

    लकडाउनको बेला पशुपति क्षेत्रमा अनाथ र अलपत्र परेका व्यक्तिहरुलाई विभिन्न संस्थाले खाना खुवाउँदै रहेछन्‌। भोकसँग सिगौरी खेल्दै थाकेर खानाको लाइनमा बसेका व्यक्तिको अनुहारमा भेटिने मलिनताले मन कुँडिनुसम्म कुँडिन्छ। खानाको लाइनमा एक जना बुढा बा भेटिए। उनलाई मैले सोधेँ, 'कहाँ बाट आउनु भएको?' उनले पूर्व खोटाङबाट आएको बताए। उनको जवाफ थियो, 'श्रीमती बितेर गैहाली, छोरा बुहारीले हेरेनन्‌, अब बाँकी जीवन भगवानको शरणमा!'

    ललितपुरको बटुक भैरव मन्दिर पुगेँ। त्यहाँ पनि भोकसङ्ग लडिरहेका वृद्ध बाबुआमा थिए। उनीहरु कतैबाट खाना आउँछ कि भनेर बाटो हेर्दै थिए। मानिसहरू 'भगवान भरोसा' भन्दै मन्दिर वरिपरि शरणमा छन्‌। मन भरिने गरी फूल, अक्षेता र प्रसाद नपाएको यो बेला अनाथको भोकलाई निमिटान्न पार्ने उपाय सायद भगवानसँग पनि छैन। 


    म आफूलाई कर्मवादी ठान्छु। अनेकन प्रगतीशील र उत्तरआधुनिक सामग्रीहरूको अध्ययनले मानिसलाई यस्तो बनाउने हो कि! यसैले म सहिष्णु पनि छु। मानिसहरूको आस्था र विश्वासलाई म सँधै सम्मान गर्छु। आमाभित्र रहेको 'भगवान भरोसा' प्रति त मैले गुनासो गर्ने सवालै भएन।


    त्यहाँ रहेकी एक बुढी आमालाई सोधेँ, 'कहाँ बाट आउनु भएको?' आमाले 'नुवाकोटबाट' भनिन्‌। 'अनि किन आउनु भयो त?' जवाफ अघि कै बुबाको जस्तो थियो। 'बुढा बितेर गए। छोरा बुहारीले हेरेनन्‌।'

    बाबुआमालाई अलपत्र पार्नेहरू पनि यतिखेर घरभित्रै थुनिएका होलान्‌। उनीहरूले पनि भित्तो हेरिरहेका होलान्‌। भित्तोको रेखाहरूमा उनीहरूले विगतको कर्मप्रति प्रायश्चित गरिरहेका होलान्‌ कि नाईं? उनीहरूलाई यी भगवानजस्ते बनिसकेका मानिसहरूको याद आएको होला कि नहोला? बाबुआमालाई भीरबाट फाल्न डोको बोकेर जाने निर्दयीलाई उसैको छोरोले 'डोको फिर्ता ल्याउनु, पछि तपाइँलाई पनि यसरी नै फाल्न काम लाग्छ' भनेको कथा सम्झिरहेछु। उनीहरूले बोध गरून्‌ : बाबुआमालाई आफूले गरेजस्तै आफूलाई पनि छोराछोरीले त्यसै गर्न सक्छन्‌। किनकी त्यो पुस्ता त उनीहरूको कर्मले नै तयार गरिरहेको छ।

    म आफूलाई कर्मवादी ठान्छु। अनेकन प्रगतीशील र उत्तरआधुनिक सामग्रीहरूको अध्ययनले मानिसलाई यस्तो बनाउने हो कि! यसैले म सहिष्णु पनि छु। मानिसहरूको आस्था र विश्वासलाई म सँधै सम्मान गर्छु। आमाभित्र रहेको 'भगवान भरोसा' प्रति त मैले गुनासो गर्ने सवालै भएन। 

    यो गन्थन लेख्दालेख्दै आमालाई फोन गरेर सोधेँ, 'आमा तपाइँको देवताले कहिलेसम्म कर्मको फल दिन्छन्‌? केही अड्कल छ?'

    आमाले भन्नुभयो, 'ढिलोचाँडो भगवानले सबैको हिसाब तलमाथि नपारी चुक्ता गर्छन्‌।' 

    म यतिखेर बाबुआमा अलपत्र पार्ने सन्तानको हिसाबकिताब भगवानले गर्लान्‌ कि समयले भनेर भित्तोसँग सोध्दैछु। उनीहरूको बहिखाता खुलोस्‌।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]