कोभिड-१९ {अपडेट}

कोरोना उत्पतिको स्रोत वन्यजन्तु कि आनुवांशिक निष्क्रियता?

चैत २६, २०७६

    संसारभर यतिखेर ठूलो क्षति निम्त्याएको कोरोना भाइरसको उत्पत्तिबारे हामीसँग लगभग शुन्यस्तरकै ज्ञान छ। तर यो विपत्तीले विश्वमा यसबारे विभिन्‍न सिद्धान्तहरु फस्टाउने मौका दिएको छ।

    संक्रमणबारे जति पनि दाबी या भनाईहरु सुनिएका छन् : ती चाखलाग्दा, शंकास्पद र केही त विश्वासयोग्य पनि देखिन्छन्। 

    'यो त चीनले बनाएको जैविक हतियार पो हो त!'

    'अमेरिकी सेनाहरुले चीनको उहानमा लगेर यो भाइरस छाडिदिएका हुन्।' 

    'यो बोतलबाट रक्सी झैं दुर्घटनावश प्रयोगशालाबाट चुहिएको जिवाणु हो।'

    'यो भाइरसको शुरुवात चीनमा वन्यजन्तुको कारोबार हुने बजारबाट भएको हो।'

    कोरोना भाइरस संक्रमण फैलिएपछि हामीले यस्ता अनेक सिद्धान्त र दाबीहरु सुन्दै आएका छौं। तर वैज्ञानिकहरुले चाहिँ यस्ता उग्रराष्ट्रवादले भरिपूर्ण विवादास्पद सिद्धान्तहरुलाई परै छाडिदिएका छन्।

    तर यो सम्भावनालाई चाहिँ पूर्णरुपले नकारिएको छैन कि यसको स्रोत चीनको त्यही जंगली जनावर किनबेच गर्ने उहानको हिलाम्ये बजार हो, जहाँ जंगली जनावरलाई पिंजडामा राखिन्छ। यसरी राखिएका जनावरहरुमा चमेराका कारण संक्रमण फैलिएको हुनसक्छ।

    यी मध्ये सालकबाट पहिलोपटक मानिसमा कोरोना संक्रमण भएको हुनसक्छ। तर कसैले अहिलेसम्म यथेष्ट प्रमाणसहित यो दावीलाई पुष्टि गर्न सकेका छैनन्।

    यो भाइरस कसरी एकाएक उत्पन्न भयो र संसारभर क्षति निम्त्याइरहेको छ : अहिलेसम्म यो एक मायावी जालोजस्तै हो, जसलाई छिमोल्ने प्रयास भइरहेको छ। 
    अमेरिकी सञ्चारमाध्यम सीएनएनले भाइरसको उत्पत्तिबारे करिब एक दर्जन जिवाणु विज्ञहरुसँग कुराकानी गरेको छ।

    उनीहरुले अहिलेसम्म गरिएका दावीहरुलाई एक अनुमानमात्रै भएको बताएका छन्। चीन या अमेरिकी सरकारले यो भाइरस फैलाएको भन्ने दावीका पछाडि कुनै प्रमाण नरहेको वैज्ञानिकहरु बताउँछन्।

    सार्स र कोभिड भाइरसको चरित्र विश्लेषण गर्दा चाहिँ यी दुवै समस्याहरु चमेरोबाटै शुरु भएको मान्न सकिन्छ। किनकी चमेरोमा अन्य प्रजातिलाई हानी गर्ने अन्यन्त्रै धेरै जिवाणु हुन्छन्।

    चीनको वन्यजन्तु बजारबारेको दावी 

    कोलम्बिया विश्वविद्यालयका प्राध्यापक डा. सिमोन एन्थोनी भन्छन्, 'यो निकै सजिलो, स्पष्ट र सम्भावित अनुमान हो, वितेका एक दशकलाई नियाल्ने हो भने भाइरसहरुबारे १८० भन्दा धेरै अनुमानहरु उत्पन्न गरिएको छ।'  

    जैविक हतियारलाई जोडेर ल्याइएका विवादास्पद सिद्धान्तहरुमाथि गरिएका सवालहरुलाई वैज्ञानिकहरु स्वतन्त्र छाडिदिन चाहन्छन्। केही प्रश्नहरुमा चाहिँ उनीहरु पनि विभाजित देखिन्छन्।

    तर यहाँनेर के समानता छ भने वन्यजन्तु बजारबाटै यस्ता भाइरसहरु उत्पन्न भएको सवालमा चाहिँ लगभग एकमतजस्तो स्वीकारोक्ति देखिन्छ। भीडभाडयुक्त बजारमा मानिस र जंगली जनावरबीच एकछत्र सम्पर्क गराउने ती बगरेहरु (मासु काट्ने व्यक्ति)हरु नै यस्तो जोखिम फैलाउने पहिलो कारक हुन सक्छन्। तर यहाँनेर पनि अस्पष्ट तथ्य छ। किनकी शुरुवाती चरणमा भेटिएका संक्रमितहरु यस्ता हिलाम्ये जंगली बजारसम्म पुगेको कुनै प्रमाण भेटिएको छैन। 

    दुई चिनियाँ अनुसन्धानकर्ताहरुले पहिलोपटक यस्तै सम्भावित सिद्धान्त अघि सारिदिए, जुन विस्फोटकमा आगो फैलिएझैं व्यापक भयो। उनीहरुको दावीअनुसार उहानमा चमेरामाथि अनुसन्धान गर्ने एउटा प्रयोगशालामा एक दुर्घटना भयो र त्यहीँबाट यो संक्रमण फैलियो। तर यो पनि शंकाको सिद्धान्तमात्र हो। किनकी उनीहरुको दावीलाई कुनै प्रमाणले सघाएको छैन। चीन सरकार र प्रयोगशालाका अधिकारीहरुले पनि यो दावी झुठो भएको बताइसकेका छन्। 

    जीव–रासायिनीक र जैविक हतियारसम्बन्धी विज्ञ प्राध्यापक रिचार्ड इब्रिटले प्रयोगशाला दुर्घटनासम्बन्धी सिद्धान्तलाई एकीन गर्न सकिने दावी गरिरहेका छन्। उनी भन्छन्, प्रयोगशालामा भएको दुर्घटनापश्चात यो भाइरस मानिसमा सरेको सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन। 

    चमेराकै शिकार गर्नेहरुमा छैन संक्रमण 

    यो भाइरस जनावरबाट मानिसमा सरेको भन्नेमा वैज्ञानिक र अनुसन्धानकर्ताहरु सहमत देखिन्छन्। यस्तो अवस्थालाई 'जुनोटिक स्लिपओभर' भनिन्छ।

    फेब्रुअरीको शुरुवातमा चिनियाँ अनुसन्धानकर्ताहरुले नेचर जर्नलमा एक लेख छापेका थिए। सो लेखमा चमेरोका कारण कोरोना भाइरस उत्पन्न हुनसक्ने सम्भावना अधिक देखाइएको छ। 

    यी र यस्ता दावीहरु आइरहेको छ। तर यस्ता दावीहरुलाई स्वास्थ्य वैज्ञानिकहरुले डर, हल्ला र अनुमान फैलाएर संक्रमणविरुद्ध लड्ने विश्व अभियान प्रभावत तुल्याउने कदम भनिदिएका छन्। यस्ता विवादास्पद सिद्धान्तहरुले कुनै काम नगर्ने उल्लेख गर्दै वैज्ञानिकहरुले जिवाणुहरु वन्यजन्तुमै उत्पत्ति हुनु स्वभाविक रहेको बताएका छन्। 

    चीनमा १० वर्षदेखि भाइरसबारे नै काम गर्दै आएका वैज्ञानिक पिटर दास्जाकले कोभिड १९ जिवाणु चमेराबाटै फैलिएको हुनसक्नेमा आफु विश्वस्त रहेको भनेका छन्। 'यो भाइरसको उत्पत्ति ठ्याक्कै यहीँनेरबाट भयो भन्न त सकिँदैन, भविष्यमा यस्ता जिवाणु उत्पत्तिका सम्भावनाहरुलाई पनि कसैले नकार्न सक्दैन, तर एउटा बलियो सम्भावना चाहिँ के हो भने यो चमेराको कुनै प्रजातिबाटै फैलिएको हुनसक्छ, तर त्यो प्रजाति पत्ता नलागेसम्म हाम्रो अनुमान एक दावीमै सीमित रहन्छ।'

    के यो आनुवांशिक जासुसीको कथा हो ?

    कोरोना भाइरस चमेराबाट मानिसमै पहिलोपटक सरेको हो या मानिसभन्दा पहिल्यै अन्य जीवजन्तु यसबाट प्रभावित भइसकेको थियो ? 

    हजारौंको जीवन नष्ट गरेको यो भाइरसको उत्पत्तिबारे वैज्ञानिकहरुले अहिलेसम्म एकीन तथ्य पत्ता लगाएका छैनन्। तर उनीहरु निरन्तर यसको खोजमा लागिरहेका छन्।

    चीनमा भाइरसबारे अनुसन्धान गरिरहेका उनै प्राध्यापक दास्जाक भन्छन्, 'यो संक्रमण पहिले नै कुनै पाल्तु वा फार्मका जनावरमा भएको हुनुपर्छ, सो जनावर बजारमा ल्याइयो र मानिसहरुले खरिद गरे। चीनको पशुपंक्षी बजारको अवस्था हेर्दा यसो हुनु सामान्य हो।' 

    'यदी तपाईँ पश्चिमा हुनुहुन्छ र पहिलोपटक चीनको वन्यजन्तु बजारमा जानुहुन्छ भने त्यहाँको अवस्था देखेर अचम्भित पर्नुहुन्छ, एकैस्थानमा धेरै प्रकारका वन्यजन्तु राखिएका हुन्छन्, पशुपंक्षी थुनिएका पिंजडाहरुको खात लगाइएको हुन्छ, त्यहाँका बाटोमा रगत र मासुमा चिप्लिँदै हिँड्नुपर्छ। चीनको पशुबजार जिवाणु फैलनका लागि सबैभन्दा उपयुक्त स्थान हो। बच्चाहरु त्यहीँ खेलिरहेका हुन्छन्, कैयौं परिवारहरुले त्यहीँ जीवन बिताइरहेका हुन्छन्।' 

    बेलायतको जुलोजिक सोसाइटीका प्राध्यापक एन्ड्रयु कुनिङ्घम पनि ओसिला वन्यजन्तु बजार भाइरस फैलनका लागि उपयुक्त स्थान भएको दावी गर्छन्। विगत ३० बर्षमा भाइरस फैलावटको स्रोत विश्लेषण गर्दा यस्ता बजार नै प्रमुख रहेको उनी बताउँछन्।

    उनी भन्छन्, 'यदी तपाइँ जंगली जनावर ल्याउनुहुन्छ भने ती जनावर समात्न तपाइँ जंगल नै जानुपर्छ, ती जीवजन्तु थकित भइसकेका हुन्छन् र जिवाणुका कारखाना नै बनिसकेका हुन्छन्, मानिसहरुसँग निकट सम्पर्कमा रहँदा ती पशुपंक्षीबाट भाइरस नफैलने भन्ने कुरै हुँदैन।' 

    तर चीनमा जसरी कोरोना भाइरस फैलियो, घटनाक्रम विश्लेषण गर्दा पशुबजारबाटै भाइरस फैलिएको भन्ने तर्क विवादास्पद देखिन्छ। पहिलोपटक संक्रमित भएका ४१ जना मानिसहरु यस्ता पशुबजारमा नगएको र सो स्थानसम्म प्रत्यक्ष सम्पर्कमा नरहेको पाइएको छ।

    डिसेम्बर १ तारिखमा कोरोना संक्रमणको लक्षण देखिएको पहिलो व्यक्तिको यात्रा विवरणमा उनी पशुबजार गएको या सो स्थानको प्रत्यक्ष सम्पर्कमा रहेको कुनै प्रमाण भेटिएको छैन। पछिल्लोपटक प्रकाशित एक रिपोर्टमा लेखिएको छ, 'प्रथम र त्यसपछिका संक्रमितहरुमा पशुबजारको कुनै सम्बन्ध देखिएको छैन।'

    संक्रमणको कारक भनिएको चीनको पशुबजार जनवरी १ तारिखमै बन्द गरियो। डिसेम्बर ३० मा उहानमा पहिलो कोरोना संक्रमित भेटिएको भोलीपल्टै उहान प्रशासनले स्वास्थ्य सतर्कता जारी गर्दै यस्ता बजारहरु बन्द गरिदिएको थियो। 

    मलाई लाग्छ कि पहिले नै संक्रमित भएकाहरु माछा बजारमा गए, माइक्रोबायोलोजिका प्राध्यापक भिन्सेन्ट राक्यानेइलो भन्छन्, उनका कारण अरु मानिस संक्रमित भए र क्रमशः यो फैलँदै गयो।

    प्रयोगशाला सिद्धान्तमाथि अधिकांश असहमत 

    प्राध्यापक राक्यानेइलो यो सिद्धान्त अस्वीकार गर्नेमध्ये एक हुन्। उनका अनुसार कोरोना भाइरस संक्रमण सबैभन्दा पहिले किसानहरुमा देखिएको हुनुपर्छ।

    चमेराहरुमा हुने जिवाणुहरुमध्ये यो एक अत्यावश्यक जिवाणु हो, यदी हामी चमेरा रहेको गुफामा जान्छौं भने त्यहाँ बिष्टाहरु हुन्छन्, किसानहरु चमेरे गुफामा गई ती बिष्टा संकलन गरी बारीमा मलका रुपमा प्रयोग गर्छन्।

    कतै यो भाइरस क्रमविकासमा लुक्ने लुप्त गुणजस्तै या धेरै पहिले देखिएर हराएको, तर अहिले फेरि देखिएको त होइन? वैज्ञानिकहरूले गरिरहेको आनुवा‌ंशिक निष्क्रियतामाथिको अनुसन्धानले नै यसको पर्दा खोल्नेछ। 

    कारण जे-जे भएपनि विश्वका सबै मानिसहरूले यतिखेर यो महामारी फैलन नदिन लागु गरिएका नियमहरू र स्वास्थ्य सजगता चाहिँ अपनाउनैपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]