विचार

कोरोनाको त्रास र हाम्रो विकल्प

चैत २४, २०७६

    कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। जसले आम नागरिकमा थप त्रास पैदा गरिरहेको छ। त्यसमाथि ‘लकडाउन’का कारण घरभित्र बस्नु पर्ने बाध्यता। नबसौँ पनि कसरी ? कारोनाबाट बँच्नुको अरु विकल्प पनि त छैन। तर रातदिन घरभित्र बस्नु पर्दाको पीडा हुने खानेका र हुँदा खानेहरुको बिल्कुल फरक छ।  

    हुनेखानेहरुलाई घरभित्र बस्दाको छटपटाहट, खाद्यान्न, अतिआवश्यकीय बस्तु अभाव हुने डर होला तर, हुँदा खानेहरुलाई छाक कसरी टार्ने, साना लालाबालाहरुको भोक कसरी मेटाउने ? अनि दैनिक ज्याला मजदुरी गर्न कहाँ जाने ? जस्ता छटपटाहट छ। त्यसमाथि सबैको एक मात्र भरोसा र आशाको केन्द्र मानिने सरकारको कार्यशैली, उफ कति असहज दिनहरुको सामना गर्नु पर्ने। 

    सरकारले दिएको आदेश पूर्णरूपमा पालना पनि गरिरहेका छौँ र हामी पूर्ण रुपमा ‘लकडाउन’मा नै छौँ सरकार ! तर निदाएका भने छैनौँ। सरकारको नेतृत्वमा हुनेहरुले गरेका र गर्न खोजेका हरेक काम, कारबाहीलाई नजिकैबाट नियाँल्दै बसेका छौँ। जनताका आवाज सुन्दै पनि छौँ। पर्यो भने आवश्यक भौतिक सहयोगमा पनि खटिने छौँ। हामी जस्ता युवालाई खटाउ र वातावरण तयार गर। यस्ता आपतकालीन र विपद्को घडीमा जरुरी पनि छ। तर खै वातावरण ? 

    चुनावी मैदानमा बाँडिएका चिउरा मासु र पैसासँग साटिएको म जस्ता हरेक नागरिकको हजारौँ भोटको हैसियत निकम्मा सावित हुँदै गएको छ। 

    ती मजदुर जो दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँथे। अहिले उनीहरुको चुलोमा आगो बलेको छैन। उनीहरुको  चुलो नबल्दा तिमीहरुको छातीभित्र आगो दन्किनु पर्ने हो। तर लकडाउनको यतिका दिन हुँदा पनि राहतको फारम मात्र आयो, राहत आएन भन्ने पीडितहरुको आवाज पनि सुनिरहेका छौँ।
     
    महामारीको यो विषम परिस्थितिमा पनि हाम्रा मन्त्री ज्यूहरु जनताको राहतमाभन्दा आफ्नै भकारी भरिपूर्ण गर्नमा लागेको कुरा पनि सुनिरहेका छौँ। यो सब थाहा पाएर जनताले खबरदारी गर्दा जनआवाजमाथि धम्किदिने सल्लाहकार ज्यूहरुको रबैया पनि हेरिरहेका छौँ। 

    अहिलेको युग विज्ञान प्रविधिको युग हो। संसार निक्कै साँघुरो भइसकेको छ भन्ने कुरामा कोही पनि अनभिज्ञ छैन। जुन सुकै चिज लुकाउन, दवाउन खोजेर दबिने वाला छैन। यो विज्ञानले पनि प्रमाणित गरिसकेको छ। जुन न्यूटनको नियमले भन्छ, यदि कुनै चिजलाई दबाउन खोज्यो भने त्यसको रियाक्सन बिपरित दिसामा फैलन्छ। हो यहाँ यस्तै भएको छ।

    केहीलाई लाग्छ होला काम गर्न सजिलो काहाँ छ र ? हो काम गर्न कहीँ सजिलो छैन तर, नियत र ईच्छा शक्ति सही भयो भने जुनसुकै कुरा असम्भव पनि छैन। 
    बरु काम गर्न सकिने अवस्था नै छैन भने जबर्जस्ति टाँसिनुभन्दा त्यहाँबाट निस्किनु नै राम्रो। जनतालाई दोष दिएर वा अरुलाई गाली गरेर राज्यको ढुकुटी दुरुपयोग गरेर बस्ने छुट् कसैलाई छैन र त्यो सह्य पनि हुन्न। 

    लामो संघर्ष र संक्रमणबाट गुज्रिएर आएका हामीसँग स्थायी र बहुमत प्राप्त सरकार छ भन्ने आम जनताको धारणा छ। स्वभाविक रुपमा हिजो बिजेता दलका नेताहरुले चुनावी मैदानमा गरेका बाचाहरु ताजै छन्। जनअपेक्षा असाध्यै धेरै छ। तर जनताको त्यो अपेक्षा, विश्वास र भरोसामाथि कुठाराघात गर्ने अधिकार शक्तिमा रहेकाहरुको छँदै छैन।

    यूवाहरु त यहाँको बिकृति र बेथिति सहन नसकेर पलाएन हुने क्रम त छनै तर, यहीँ सम्भावनाको झिनो आशा देख्ने धैर्यवान नागरिकहरुको पनि अब धैर्यताको बाध फुट्ने देखिन्छ। हिजो जसले अनेक सपना देखाएर आशाको दियो जगाइदिएको थियो आज त्यो फगत झुठा आश्वासनमा मात्र सिमित हुँदै गएको छ। 

    सार्वभौम नागरिक हुँ भनेर गर्व गर्ने म जस्ताहरुले आज आफ्नै देशको राजनितीको शिकार हुनु पर्दाको पीडा सानो छैन। चुनावी मैदानमा बाँडिएका चिउरा मासु र पैसासँग साटिएको म जस्ता हरेक नागरिकको हजारौँ भोटको हैसियत निकम्मा सावित हुँदै गएको छ। 

    कसरी गर्व गरौँ सार्वभौम नागरिक हुँ भनेर।  अनि अब के गर्ने त ? के छ हामीसँग बिकल्प ? के नेपालमा बहुदलीय संसदीय व्यवस्थाको औचित्य समाप्त भयको हो त ? प्रश्ज उब्जिएको छ।  

    संसार पीडाले छटपटाईरहेका बेला पनि आफ्ना नागरिकको सारथि र साहारा बन्न नसक्ने हाम्रा कथित सरकार, दल र नेताबाट वर्तमान पुस्ताले  केही पाउनेवाला छैन। जनताबाट बिश्वास र भरोशा गुमाईसकेकाहरुबाट राहत र समृद्धिको आशा गर्नु नै बेकार छ। 

    किनकि हिजो सबैखाले आन्दोलन, कठोर त्याग, बलिदान र संघर्षबाट आएका भनिएका सबै नेताहरुको ल्याकत, कार्यशैली परीक्षण गरिसकियो। अब कसैमाथि आशा भरोषा बाँकि छैन तर समस्याहरु अनेकन रुपमा देखा परिरहेका छन्। गरिबि, अशिक्षा, बेरोजगारी, भ्रष्टाचार जस्ता कुराहरु नेपालको परिचय नै हुन थालिसक्यो। 

    यीभन्दा जटिल सामाजिक न्यायका प्रश्न, समावेशिताका मुद्दा, महिला हिंसाका मुद्दा, जातीय बिभेद र अनगिन्ती सामाजिक, साँस्कृतिक प्रश्नहरुको हल गर्नु पनि त्यतिकै आवश्यक छ। यी जटिल प्रश्नको हल खोज्ने ल्यागत वर्तमान सत्तासंग छैन भन्ने कुरा विस्तारै प्रष्ट हुँदै गएको छ। 

    स्वदेशको कमजोर शिक्षा र स्वास्थ्य प्रणालीबाट जोगिन बिदेशिनेहरु पनि आज संकटका बेला आफ्नै देश भित्रिन पाउँ भनेर चिच्याईरहेका छन्। यसले हामीलाई राम्रो पाठ सिकाएको मात्रै होइन कि आफ्नो देशलाई गाली गरेर बिदेश पलायन हुनुभन्दा आफ्नै देशलाई सबल र उन्नत बनाउन लाग्नु नै बेश रहेछ भन्ने कुरामा आँखा खोलिदिएको छ। 

    आधुनिक युगमा बैज्ञानिक पद्धति अँगाल्दै हरेक चुनौतिको समाना गर्ने हो भने देशको मुहार फेरिन समय लाग्ने छैन भन्ने तर्फ अबका युवा पीढिँले सोच्ने बेला आएको छ। 
    हिजो संघर्ष गर्ने हरेक नयां पुराना भनाउँदाहरुले आफ्नो लगानीको व्याज उठाईसकेका छन्। अझ पनि यहि सोँच र प्रवृत्तिबाट आएकालाई राजनिती र शासन सुम्पेर मुकदर्शक बन्ने हो भने भोली अर्काे रक्तपात नहोला भन्न सकिन्न। 

    यसर्थ बेलैमा अबका पुस्ताले आफ्नो भविष्य र देशको भविष्यको नक्सा आफैँ बनाउन अघि सर्नुको बिकल्प छैन। किनकी कारोनाले विश्वको अर्थतन्त्रमा गम्भीर असर पारेको छ। त्यसमाथि हामी जस्तो विकासोन्मुख देश, रेमिट्यान्सले धानेको हाम्रो अर्थतन्त्रमा कोरोनाले गम्भीर समस्या खडा गर्नेछ।

    संसार पीडाले छटपटाईरहेका बेला पनि आफ्ना नागरिकको सारथि र सहारा बन्न नसक्ने हाम्रा कथित सरकार, दल र नेताबाट वर्तमान पुस्ताले  केही पाउनेवाला छैन। जनताबाट बिश्वास र भरोसा गुमाईसकेकाहरुबाट राहत र समृद्धिको आशा गर्नु नै बेकार छ। त्यसैले म भन्छु, यसबेला सचेत देशभक्त युवा पुस्ताले देशको बारेमा नसोच्ने हो भने कसैले हल गर।

प्रदीप घताने

लेखक युथ फर नेपालका संयोजक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]