विचार

आफ्नै छायाँसँग डराएका मानिस र सपना बिग्रिएको अमेरिका

चैत २०, २०७६

    म यति वेला कोभिड १९ को वर्तमान ईपिसेन्टर बनिरहेको अर्थात संसारको राजधानी मानिएको न्यूयोर्क शहरसंगै जोडिएको न्यूजर्सी राज्यको वर्क्लीहाइटमा छु।

    कोरोनाले फैलाएको कोभिड १९ को डडेलोले हामी पनि अरु सरह घेराबन्दीमा परेका छौं।खानेकुराको जोहो हामीले पनि गर्नुपरेको छ। वरिपरिको महामारीको डढेलो कसरी पार गरेर जाने भन्ने चिन्ताले अहिलेसम्म पनि सताई रहेको छ। चारै तिरबाट भाइरसले  घेरिएको सानो टापु भित्रको घर कति दिन सुरक्षित रहला र खै ।

    हाम्रो नजिकको स्टोर पनि क्रमशः रित्तो रित्तो हुन थालेको छ। खानेकुरा लिन बाहिर निस्किनैं पर्छ। कोभिड नाईन्टिनको डढेलोको लप्का झनझन नजिक आईरहेको हरेकले महसुस गरे झैं लाग्छ। त्यसलाई कसरी पारपाउने भन्ने चिन्ताले हरेकको निन्द्रा हरण गरेको छ। कि त भोकै मर्नु पर्यो कि त कोरोनासंग लडनु पर्यो। यो बाहेक अर्को बाटो कसैसँग छैन।

    हामी यहाँ स्थायी हिसाबले बस्न आएका होईनौं। दुई अढाई महिना बसेर केही नयाँ ठाउँहरु घुम्ने योजना थियो। अमेरिकाको पश्चिमी कोष्टल क्षेत्र अर्थात प्यासिफिक महासागरको किनारका शहरहरु सानफ्रान्सिस्को,लस एन्जलस, सियाटल लगायतको अवलोकन गर्ने योजना थियो। कोरना भाईरसको यो महामारिले सबै योजना एउटा घरभित्र थुनि दियो।

    असुरक्षित मन र अधुरो रहर 

    हाम्रो घुमघामको रहरलाई कोरोना भाइरसको आगोले जलाई रहेको छ। जलेको मन लिएर इच्छाहरुलाई बन्दकोठामा राखेर महाशक्ति राष्ट्र भनिएको अमेरिकाको हविगत टुलुटुलु हेरिरहेको छु।

    एक साता अगाडिसम्म अमेरिकामा छु भनेर ढुक्क थिएँ। जब न्यूयोर्कका अस्पताल कोरनाका संक्रमितहरुले भरिन थाले त्यसपछि डर लाग्न थाल्यो। करिब करिब स्तब्ध हुने परिस्थिति आइरहेको छ। दिनहुँ संक्रमितहरुको संख्या थपिदै जाने र निरन्तर मृतकको संख्या बढदै जान थाले पछि मन स्थिर रहेन।

    न्युयोर्कका गभर्नर अन्ड्रेय एम कोलनलले संक्रमितहरुको लागि आईसोलेशन वार्डर भेन्टिलेटर जुटाउन नसकेर टेलिभिजन अन्तरवार्तामा आफैं रोए। यो दृष्य देखेर मुटुनै हल्लियो। सामान्य औषधी समेत उपलब्ध छैन भन्ने सुनेपछि लगभग आधा मृत्यु भयो। योअनुभूति अमेरिकामा बसेका म जस्ता आममानिसले गरे होलान भन्ने लाग्यो।

    यतिबेला कहिल्यै रात नहुने यहाँका शहरहरु शून्य छन्। व्यवसायहरु ठप्प  छन्। हरेकदिन कमाएर जीवनयापन गरिरहेका ज्यालादारीमा काम गर्ने कामदार अन्योलमा छन् । राहत कताबाट आउँछ, उनीहरुलाई थाहा छैन। वर्षौदेखि अमेरिकामा बसेर जीवनयापन गरिरहेका निम्न आय भएकाहरुको जीवन अन्यौलमा छ। अब उनीहरुको जीवन कुनमोडमा जान्छ अनुमान गर्न सकिदैन। नत अमेरिकाको भबिष्यका बारेमा नैं केहि भन्न सकिन्छ।

    अमेरिका विशेष गरि आर्थिकरुपले सम्पन्न छ । यस विषयमा बहस गर्नु जरुरी छैन। जतिसुकै सम्पन्न भएपनि व्यवस्थापन गर्न नसके पछि अर्थहीन हुँदोरहेछ।अमेरिकामा सब थोक छ र पनि अहिलेको विपत्तिमा केही नभए जस्तो देखियो। बरु सानासाना देशहरुले आफ्नो हैसियत अनुसारको व्यवस्थापन गरेका समाचारहरु पढेर थाहा पाए। नेपाल सरकारले गरेका पूर्वतयारी यहाँको हेरेर अभूतपूर्व लाग्यो। महाशक्ति राष्ट्र अमेरिका भन्ने म भित्रको भ्रम यतिबेला  तोडिएको छ।

    फागुनको पहिलो सातामा जेएफके विमानस्थलमा उत्रदा मैंले जे सोचेको थिएँभोग्दै जाँदा ठिक उल्टो पाए । त्यतिवेलासम्म पनि अमेरिका प्रवेशमा कुनै परीक्षण थिएन।

    सबै यात्रु सहज रुपमा प्रवेश गरिरहेका थिए। जबकि कोरना भाइरस अमेरिका प्रवेश गरेको जानकारी क्यालिर्फोर्नियाले दिईसकेको थियो। विमानस्थल भएर प्रवेश गरेको भाईरललाई शुरुबाटै खेलाची गरियो।

    राज्यले गरेको त्यो हेलचेक्र्याइँको परिणाम आज भोग्दैछन अमेरिकीहरु। अमेरिकीहरु आज आफ्नै छायाँसंग डराईरहेका छन। संसारलाई जितिरहेको भ्रममा बाँचिरहेकाहरु यतिबेला कोराना भाइरससँग हारिरहेका छन।

    कोरना भाइरस एक्कासी हिजो देखियो भनेर तर्किन मिल्ने ठाउँ छैन। यो भाईरस  डिसेम्बरमा चीनमा  देखिएर जनवरीको शुरुमा नैं  अमेरिका प्रवेश गरिसकेको अनुमान छ। यसको उदाहरण अमेरिकाको पश्चिमी राज्य वासिंगटन, सियाटल हो। जहाँ जनवरी २० मा कोराना भाइरसले ३५ वर्षीय युवाको ज्यान लिएको थियो। भाइरसको घण्टी अमेरिकामा त्यति बेलै बजेको हो ।

    कमजोरीको श्रृङ्खला

    कोरना भाईरससँग अमेरिका हार्नुका कारणहरु धेरै होलान। ति मध्ये , पहिलो कुरा चीनमा कोरोना भाइरस देखियो। विश्व स्वास्थ्य संगठनले भाइरस महामारीको रुपमा आउन सक्ने भन्दै सबै देशलाई सतर्क रहन सन्देश प्रसारण गर्यो। तर पनि यहाँ यातायातका माध्यमहरु कुनै पनि बन्द गरिएन।

    चीनमा रहेका अमेरिकी र अमेरिकामा वसोवास गरेका चिनियाँहरु दिनहुँका उडानमा अमेरिका प्रवेश गरे। तिनीहरुलाई क्वारन्टाईनमा राखिएन। त्यति मात्र होईन कोरिया जापान तथा खाडी मुलुकबाट पनि उत्तिकै प्रवेश गरे। यसलाई पनि अमेरिकी सरकारले सामान्य किसिमले लियो। उल्टै चाईना मेड भाईरल भनेर लान्छना लगाए मजाक उडाए। अहिले त्यसैले सबैलाई रुवाएको छ।

    अर्को गल्ती परीक्षणमा गरियो। शंका लागेर डाक्टरकोमा गएकाहरुको परिक्षण समेत गरिएन। सिकिस्त भएकाहरुको मात्र परिक्षण गरियो। परिवारमा एउटाको परीक्षण पोजेटिभ देखियो भने सबैमा छ अरुलाई परिक्षण गर्न पर्दैन भनेर फर्काईयो । न्यूयोर्क उडसाईडमा बसोवास गर्दै आएकी नीमा शेर्पा र सोम गुरुङको परिवार प्रतिनिधि पात्र छन्। चार जनाको परिवारमा सोम गुरुङको मात्र परिक्षण गरियो, बाँकीलाई त्यसै छोडियो। नीमा नेपाली थिइन उनले नेपाली खाना र जडीवुटीबाट ठिक पार्छु भनेर जिम्मा लिईन र सफल पनि भईन। अमेरिकीहरु त्यसो गर्न सक्तैनन र दिंदैनन् पनि। 

    तेस्रो गल्ती प्रयोगशाला परिक्षणबाट संक्रमित देखिएका बिरामीलाई आवश्यक पर्ने आईसोलेसन वार्ड र भेन्टिलेटरको व्यवस्थापन नहुँदा एक्कासी बढेका बिरामीलाई उपचार गर्न अस्पतालको क्षमताले नभ्याउदा मृत्यु हुनेको संख्या बढ्यो। जसले गर्दा कोरनाले भन्दा पनि बढी त्रासले मानिसहरु बिरामी भए। जनतालाई आश्वस्त पार्न नसक्नु ठूलो कमजोरी देखियो।

    “सु... पनि गरि सके दैलो पनि देखें” भने झैं मर्नेहरुको संख्या चारहजार भन्दा माथि पुगेपछि अमेरिकी सरकारको आँखा बल्ल खुलेको छ। पीपीई समेत नपाएर उपचारमा खट्न नसकेका मेडिकल टिम पनि अहिले सक्रिय त भएका छन्।  क्रीटिकल अवस्थाका विरामीको संख्या अप्रत्यासीत बढेको तथ्यांक छ। समय भएर पनि तयारी अवस्थामा नबस्नु अमेरिका जस्तो महाशक्ति राष्ट्रको ठूलो गल्ति हो।

    चौथो कुरा, अमेरिका जस्तो मुलुकले भाइरल रोकथामलाई तत्कालका लागि कुन औषधी चलाउने भन्ने निर्णय लिन निकै ढिलो गर्यो। मार्च १७ मा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ हेल्थ एण्ड हुमन सर्भिसेजले बल्ल दुईटा औषधी स्विकृत गर्यो।

    यो औषधी एक महिना अगाडि स्विकृत गरेको भए यति धेरैको ज्यान जाने थिएन । अहिले हाईड्रेक्सीक्लोरोक्वीन सल्फेट ३०० मीलीको डोज र क्लोरोक्वीन फस्फेट एक मीलिको डोज दिनु भनिएको छ। यो नयाँ औषधी होईन। अरु देशहरुले महिनौ अगाडिदेखि प्रयोग गरेर सफलता प्राप्त गरि सकेको औषधी स्वीकृत गर्न पनि यसरी समय लगाउनु गल्ति थियो।

    हालको अवस्था  दुई साता भन्दा बढि समय बिति सक्यो, जनता स्वंम घर बस्न थालेका छन्। आ-आफ्नो रसदपानीको जगेर्ना  पहिलेभन्दा अलिकति बढी उठाउन खोज्दा दुई दिनमै  वस्ती परिपरिका डिपार्टमेन्टल स्टोर्सहरु खाली भए। स्टोरमा मासु अण्डा पाउरोटी फलफूल र ट्वाईलेट पेपर सबभन्दा पहिले सकियो।

    अमेरिकीहरुलाई मासु पाउरोटी र ट्वाईलेट पेपर नभए घर चल्दो रहेनछ। खाली स्टोरमा पुगेका वृध्दाहरु आँखाभरि आँसु लिएर रित्तै फर्केका पटकपटक देखिएका दृष्य कम पिडादायक थिएनन्।

    अरुलाई गाली गरेर बस्ने समय थिएन । जहाँ जसले गल्ति गरेको भएपनि पछि खोजी हुन्थ्यो। तत्कालको महामारि रोकेर मात्र महाशक्तिको इज्जत जोगिन्थ्यो।

    अबको बाटो

    अमेरिकी सरकारले अहिले जनतामा उत्पन्न भय हटाउनु जरुरी छ। मानसिकरुपमा मानिस विक्षिप्त भएका छन। समयमा सम्हाल्न सकिएन भने मानसिक समस्या अमेरिकामा भाईरस भन्दा जटिल हुने छ।

    आपूर्ती व्यवस्था सहज बनाउनु जरुरी छ। डिपार्टमेन्टल स्टोरहरुमा  अण्डा, मासु ,पाउरोटी र ट्वाईलेट पेपर पर्याप्त हुनुपर्दो रहेछ। अमेरिकीहरु संकटको बेलामा मासु पाउरोटी र ट्वाईलेट पेपर भए निर्वाह गर्न सक्ता रहेछन। यतिबेला त्यै पनि  नपाएर रोएका बुढाबुढीहरुको आँसु धेरै बह्यो अब त्यसरी बग्न नदेउ।

    औषधी उत्पादक मल्टिनेशन कम्पनीहरु र  जनस्वास्थ्यको  जिम्मा लिएका विमा कम्पनीहरुलाई संकटको बेलामा जिम्मेवार बनाउनु पर्छ । यिनको चलखेलले पनि यो अवस्था निर्माण भएको विज्ञहरुको कथन छ।   

    म आउँदादेखि नै अमेरिकी आकाशमा कोभिड १९ को कालो बादल मडारिएको थियो। कोभिड १९को डढेलो चीन हुदै कोरिया, जापान, इरानलगायत देशहरुमा बल्न थालेको थियो। व्यक्तिबाट व्यक्तिमा सर्दै जाने कोरोना भाइरस यातायातका माध्यमबाट संसारभरि फैलिईसकेको थियो।

    साना भन्दा साना राष्ट्रहरु कोरना विरुध्द लडने योजना बनाउन लागेका थिए । अमेरिका भने कोरना भाईरसको सिरानीमा सुतिरहेको थियो। अमेरिकाबाट प्रभावित र आश्रित देशहरु अमेरिकाको निर्णय र औषधीलगायत स्वस्थ्य उपकरणको बाटो पर्खिइ रहेका थिए। जब युरोपका देशहरु इटली, स्पेन, फ्रान्सलगायत देशमा दैनिक हजार भन्दा बढीको ज्यान जान थाल्यो, त्यस पछि बल्ल शक्तिराष्ट्र ब्यूँझियो। तर समय धेरै अगाडि गइसकेको थियो।

    संसारका २ सय भन्दा बढी देश काेराेनासँग जुधिरहेका छन। आकाश, पातल, पूर्व ,पश्चिम ,उत्तर र दक्षिण क्षेत्रबाट एकसाथ फैलिएको भाइरसले संसारका सबै राष्ट्रहरुको क्षमता परीक्षण गरिरहेको छ। साधन र श्रोतको अभाव झेलिरहेको राष्ट्र नेपालबाट यता आउदा आफूलाई खुब सुरक्षित महसुस गरेको थिएँ । तर मेरो सुरक्षाको कवच हेर्दाहेर्दै खोसियो । म अहिले नेपालको सिमित श्रोत साधनमा बाँचेको अर्गानिक जीवन संझिरहेको छु।

    हाल अमेरिकामा रहेका बद्रीविनोद प्रतिक वरिष्ठपत्रकार हुन्

बद्रीविनोद प्रतिक

वरिष्ठ पत्रकार 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]