फिचर

गोलमानलाई विदेशभन्दा गाउँ नै प्यारो

बेलायत र हङकङमा २५ वर्ष बसेर फर्किए मातृभूमि

फागुन १३, २०७६

    पर्वत : राम्रो आम्दानी गर्न सकिने र विकसित देश भनेपछि नेपालका नेता, जनप्रतिनिधि, कलाकार, कर्मचारी, खेलाडी आदि सके वैधानिक बाटोबाट त्यो नभए अवैधानिक बाटोबाटै भए पनि अमेरिका, बेलायत, हङकङ लगायतका देशहरूमा पुगेर लुक्दै र बस्दै आएका छन्।

    देशमा सरकारी छात्रवृत्तिमा पढिरहेका विद्यार्थी हुन वा आफ्नै लगानीमा दक्ष बनेको जनशक्ति किन नहोस् उनीहरू पनि नेपालभन्दा बाहिरका देशप्रति लालायित छन्, गइरहेकै छन्। तर, यही भिडमा पर्वतका गोलमान गुरुङ भने सबैका लागि उदाहरण बनेका छन्। लामो समयसम्म बेलायत र हङकङ बसेर काम गरेका कुस्मा नगरपालि-३ दुर्लुङ चनौटेका ५३ वर्षीय गुरुङ विदेशी राष्ट्रमा हुने उच्च कमाइलाई त्यागेर गाउँ बनाउने अभियानमा एक वर्ष अगाडि नेपाल फर्किएर गाउँको विकासका लागि अभियन्ता बनेर दिन–रात खटिरहेका छन्।

    महिनामै कमाउथे साढे दुई लाख

    गोलमानले १३ वर्ष हङकङ र १२ वर्ष बेलायतमा बिताएका थिए। हङकङमा निर्माण सुपरभाइजर, सुरक्षा, र २ वर्ष स्थानीय गैरसरकारी संस्थामा काम गरेको अनुभव उनीसँग छ। त्यो बेलामा उनको कमाई मासिक नेपाली २ लाख रुपैयाँ थियो।

    गैरसरकारी संस्थामा काम गर्दाको बखत उनले नेपाल, बङ्गलादेश लगायतका ठाउँबाट गएर बसिरहेका अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्दै उनीहरूको अधिकार स्थापनाको लागि आवाज उठाए। हङकङमा अल्पसंख्यकमाथि भइरहेका जातीय भेदभावको विरुद्धमा लड्ने मौका पाएपछि त्यो मुद्दालाई अदालतसम्म पुर्‍याउन महत्वपूर्ण   भूमिका खेल्दै अल्पसङ्ख्यकहरूको अधिकार स्थापित गरेर राष्ट्रिय मूलधारमा समाहित गर्न महत्वपूर्ण योगदान दिए। 

    ‘विदेशीहरूले बालुवाका मरुभूमिहरू देखाएर कमाएको देख्दा मेरो घर छेउमा रहेको ७० हेक्टर क्षेत्रफलको वन क्षेत्र रोइरहेको जस्तो लाग्थ्यो’ उनले भने, ‘पढाइले डिग्री गरेको मान्छे, मैले त देशका लागि प्रयास गर्न नसके अरूलाई के भन्ने? यही कारण गाउँको हरियालीलाई सिँगारेर इको टुरिजमको सोच पलायो।’

     

    बेलायतमा रहेको बेलामा उनले डिपार्टमेन्टल स्टोर्सको वितरण केन्द्रसहित केही कम्पनीका शाखाहरूमा सुपरभाइजरको काम गरे। त्यहाँ पनि उनको कमाई मासिक झन्डै साढे २ लाख रुपैयाँ थियो। बेलायतमा रहँदा साइक्लिङ क्लब, प्रमटिङ क्लब र एडभेन्चर क्लबमा आबद्ध भएर एडभेन्चर टुर तथा हाइकिङमा जान थाले।

    विशेषत बेलायतमा रहँदा सिकेको साहसिक खेलको अभ्यास उनले अहिले गाउँमा नै अभ्यासमा ल्याएका हुन्।

    किन फर्किए गाउँ?

    विकसित देशहरू बेलायत र हङकङमा मनग्‍ये आम्दानी गरिरहेका गोलमानलाई विदेशमा रहँदा पनि गाउँको यादले नै सताउने गर्दथ्यो। विदेशमा भएका परिवर्तन र विकासका कामहरूलाई आफ्नो गाउँमा पनि लगेर लागू गरौँ जस्तो उनलाई लाग्थ्यो।

    ‘विदेशीहरूले बालुवाका मरुभूमिहरू देखाएर कमाएको देख्दा मेरो घर छेउमा रहेको ७० हेक्टर क्षेत्रफलको वन क्षेत्र रोइरहेको जस्तो लाग्थ्यो’ उनले भने, ‘पढाइले डिग्री गरेको मान्छे, मैले त देशका लागि प्रयास गर्न नसके अरूलाई के भन्ने? यही कारण गाउँको हरियालीलाई सिँगारेर इको टुरिजमको सोच पलायो।’

    चित्रकारले कोरेको काल्पनिक गाउँको आकर्षक चित्र जस्तै ढुङ्गाका छाना र ढुङ्गाकै छपनीका सिँढी भएको गुरुङ कल्स्टरमा नै उनले सम्भावना देखे। गाउँमा रहेको ३ सय वर्ष पुरानो तामाखानीको गुफामा साहसिक केभिङ, खोलो बगिरहेको अग्ला छाँगामा क्यानोनिङ र चट्टानले बनेका अग्ला पहरामा रक क्लाईम्बीङलाई खेलका रूपमा विकास गर्दै गाउँको विकास गर्न सकिन्छ भनेर नै गाउँ फर्किएको गोलमान बताउँछन्।

    जिल्लामै पहिलो इको टुरिजम सुरु

    मानिसले गर्ने हरेक क्रियाकलापहरू वातावरण र पर्यावरणमैत्री हुनुपर्छ भन्ने मान्यता राखेका गुरुङले पर्वत जिल्लामा नै पहिलोपटक इको टुरिजमको मर्मअनुसारको काम गरिरहेका छन्।

    कुस्मा नगरपालिकाको अम्बोटबाट चनौटे, हलहले हुँदै घोडेपानीसम्म पुग्ने पदमार्गअन्तर्गत परेका खोलाहरूमा सिमेन्ट र बालुवाबाट कल्भर्ट बनाउने कुरामा उनले नै असहमति राखे। यही कारण पदमार्गमा खोला तर्नका लागि बनाइएका सिमेन्टेड पुलको ठाउँमा ग्यावीन जालीमा ढुङ्गा भरेर माथिबाट ढुङ्गाका लामा स्ल्याटहरु हालेर पुल निर्माण गरिएको छ।

    उनको गाउँ चनौटेको गुरुङ बस्तीका सबै घरका छानाहरू ढुङ्गाले छाइएका छन् भने शौचालय छाउन प्रयोग गरिएका हरेक जस्ता पातामा हरियो रङ्ग पोतिएको छ। त्यति मात्र होइन क्यानोनिङ र रक क्लईम्बीङमा प्रयोग हुने हेलमेट, जुत्ता, डोरी, जाली, कपडा सबै हरियो रङको राखिएको छ।

    मानवीय व्यवहारकै कारण हरेक जीवजन्तुको भविष्य सङ्कटमा पर्दै गएको भन्दै उनले यसका लागि आफ्नो गाउँबाट इको टुरिजमको अभ्यास थालेका हुन्। ‘अरूलाई यसो र उसो गर्नुहोस् भन्नुको ठाउँमा म आफूले सुरुवात गरेर देखाउन सकेँ भने मात्र अरूले सिक्ने हो।’ गोलमानले भने, ‘मलाई रस खान नपाएको मौरी देख्दा टिठ लाग्छ, मौरीकै लागि भनेर घरमुनिको बारीका ठूला पाटाहरूमा तोरी लगाइदिएको छु, हामीले पनि त शुद्ध तेल खान पाइन्छ।’

    होमस्टे र साहसिक खेलको सुरुवात

    गाउँलेहरूलाई बसाइँसराइबाट जोगाउन आम्दानी र साहसिक खेलमा पर्यटकहरु आउने बनाउनका लागि खाने र बस्ने व्यवस्था हुनु जरुरी थियो।

    यी दुवै समस्याको समाधान होमस्टेबाट हुने भए पनि गाउँका १० घरहरूसँगको सहकार्यमा उनले चनौटे होमस्टे सञ्चालनमा ल्याए। होमस्टे सञ्चालन भएसँगै गाउँको खानपान र साहसिक खेलको मज्जा लिन पाहुनाहरूको लर्को लाग्न थाल्यो। गाउँ नजिकै रहेको झन्डै ३ सय वर्ष पुरानो तामा खानीमा रहेका गुफाहरू अवलोकन गरेर गुफाभित्र छिर्ने कामलाई उनले केभिङका रूपमा विकास गरे। पहरामा रक क्लाईम्बीङ र छहरामा क्यानोनिङको निर्माण  गरे।

    ‘क्यानोनिङ, रक क्लाइम्बिङ, केभिङ जस्ता तीन साहसिक गेम अनि तिनको छेवैमा होमस्टे भएको ठाउँ नेपालमा अन्यत्र छैनन् भन्ने लाग्छ।’ उनले भने, ‘यो मात्रै होइन अम्बोटबाट घोडेपानी पुग्नको लागि ३ दिनको पदमार्ग पनि निर्माण भइरहेको छ।’

    साहसिक गेम र होमस्टेमा पूर्वाधार निर्माणका कामहरू चलेकाले एक वर्षसम्म उद्घाटन नगरी अब फागुनमा उद्घाटन गर्ने तय भएको छ। तर साथीभाइहरूले त्यहाँको बारेमा गरेको प्रचारप्रसार र आफूहरूले दिएको आतिथ्यताका आधारमा औपचारिक सञ्चालनमा नआउँदै गाउँमा पाहुनाहरू भरिने गरेको गुरुङको भनाइ छ।

    साइकल टुर र प्याराग्लाडिङको सपना

    बेलायतमा रहेको बेलामा स्थानीय साइक्लिङ तथा हाइकिङ क्लबमा रहेका बेलामा उनलाई विदेशीहरूले साइकल यात्रालाई कति मन पराउँछन् भन्ने थाहा पाएका छन्। यही कारण उनले पर्यटकीय क्षेत्र कास्कीको पोखरा देखि कुस्मा हुँदै दुर्लुङसम्म ‘टुर दी दुर्लुङ’ नाम गरेको साइकलयात्रा परियोजना निर्माण गर्ने सपना देखेका छन्।

    एक महिना अगाडि पोखरामा सम्पन्न भएको ‘टुर दी पोखरा’ मा भाग लिन आएका साइकलयात्री तथा आयोजकसँग पनि उनले यो विषयमा कुरा राखिसकेका छन्। यस्तो खालको लामो दूरीको साइक्लिङ युरोपमा हुने गरेको र त्यताका साईकलयात्रीलाई नेपालमा भित्राउने बिचार आएको गोलमानले बताए। बाह्य पर्यटकहरु गाडीमा भन्दा दृश्य हेर्दै साइकल यात्रामा हिँड्न मन पराउने भएका कारण सडकमा रहेका होटलहरुको आम्दानी बढ्ने पनि उनको विश्वास छ।

    गोलमानले भविष्यको योजनाका रूपमा पर्वतबाटै प्याराग्लाईडिङ उडाउने पनि सोचेका छन्। जिल्लाका अग्ला टाकुराका रूपमा रहेका हलहले, दुर्लुङ, शंकरपोखरी, माटेको लेक लगायतका ठाउँबाट प्याराग्लाईडिङ उडाएर सदरमुकाम कुस्मामा ल्यान्ड गराउन सकेमा पोखराको सराङकोटमा उड्न आउने पर्यटकहरु पर्वतमा पनि आकर्षित हुने गुरुङको सोच छ।

    बसाइँ सरेकालाई गाउँ फर्काउने अभियान

    आफू जन्मेको ठाउँ र माटोलाई सधैँका लागि भुलेर जानेहरू देख्दा गोलमानलाई दुःख लाग्छ। कमाउने उमेरमा जहाँ गएर कमाए पनि आराम गर्ने उमेरमा आफ्नै माटोमा रहनुमा मज्जा मान्ने उनले आफ्नो गाउँबाट बसाइँ सरेर गएकाहरूलाई पनि गाउँ फर्काउने अभियानमा लागिरहेका छन्।

    चनौटेमा रहेको गुरुङ गाउँमा रहेका ७० भन्दा परिवारमध्ये १५ परिवार बसाइँ सरेर पोखरा र काठमाडौँ गएका छन्। बसाइँ सरेकाहरूको गाउँको घर भत्किन लागेको छ। गोलमानले तिनी घरहरूलाई प्रयोग गरेर बाहिरिएका गाउँलेहरूलाई गाउँमै फर्काउने सोच बनाए। त्यसको उत्तम उपाय होमस्टे हुनसक्ने मानेर विदेशबाट फर्किए लगत्तै एक वर्ष अगाडि होमस्टे सञ्चालनमा ल्याए। गाउँमा आएका पाहुनाहरूलाई गाउँमा भएकाहरूले बाँडेर खुवाउने र सुताउने गर्न थाले, सुत्ने ठाउँ अभाव हुँदा गाउँलेहरूले छोडेका घरहरू प्रयोग हुन थाले।

    गोलमानले तयार पारेको योजनाअनुसार नै होमस्टे, क्यानोनिङ, रक क्लाइम्बिङ, केभिङ र ट्रेकिङको काम गाउँमा भइरहेका छन्। उनले सुरु गरेका योजनामा अथाह सम्भावना देखेपछि स्थानीय नागरिक र नेता त भई नै हाले स्थानीय सरकारका प्रमुख र संघीय सरकारका सांसदले पनि आवश्यक सहयोग गरिरहेका छन्। क्यानोनिङ र रक क्लाइम्बिङ भएको ठाउँ पदयात्राको मध्यभागमा पर्छ।

    बसाइँ सरेर गएकाहरूले गाउँमा रहेको खाली घरले समेत कमाई गरेको देखेपछि अब बजारको कोलाहलमा बस्नुभन्दा थोरै भए पनि आम्दानी गरेर गाउँमै बस्ने सोच बनाएको गोलमानले बताए। ‘बाहिरिएकामध्ये ८ घर जति अब फर्किने तयारीमा छन्।’ उनले भने, ‘उनीहरू पनि गाउँमा केही उपार्जन नभएकाले गएका हुन्। अहिले पाहुनाहरूले होमस्टे भरिएको छ। गाउँमै आम्दानी छ, बाहिर किन जाने ?’

    उनले पाहुनाहरूलाई गाउँको अनुभव प्रदान गर्नका लागि गाउँमा रहेका कुनै पनि पुराना घरहरू नभत्काउन अनुरोध गर्दै छोडिएका घरहरूको पनि रेखदेख गर्दै आएका छन्।

    व्यवहारले विश्वास

    होमस्टेमा बस्न जाने जति पनि पाहुनाहरू छन् उनीहरू गोलमानकै नाम लिएर जान्छन्, सिधै उनकै घरमा पुग्छन्। पाहुना आएपछि होमस्टेमा आबद्ध रहेका १० परिवारका सदस्यलाई उनले आफ्नै घरमा बोलाएर खाना पकाउन र खुवाउन लगाउँछन्।

    क्लाम्बिङमा मात्र ३० लाख लगानी

    पाहुनाहरू सुत्नको लागि सबैका घरमा भाग पुग्ने गरी पठाउँछन्, खाना खुवाउँदा र पाहुनालाई सुताउँदा भएको आम्दानी सबै जना मिलेर बाँड्छन्। ‘दाइको मनमा पाप नै छैन। जे हुन्छ सबैलाई हुनुपर्छ भन्ने मान्यता राखेका कारण नै सबै गाउँलेहरूले उहाँलाई मानेका छन्।’ होमस्टे सञ्चालक तथा स्थानीय निजी विद्यालयकी शिक्षक मिरा गुरुङ भन्छिन्, ‘उहाँका घरमा बस्न भनेर आएका पाहुनाहरूलाई बाँडेर सकेसम्म सबैको घरमा पाहुना पर्ने गरी बाँडफाँड गरेर पठाउनुहुन्छ।’

    गोलमानले क्यानोनिङ र रक क्लाईम्बीङमा मात्र निजी ३० लाख रुपैयाँ खर्च गरेका छन्। यिनीहरूबाट आम्दानी पनि राम्रो हुन थालिसकेको छ। तर उनले गाउँलेहरूलाई बसाइँ सरेर जान नदिनको लागि गाउँमा रहेका सबै ५६ परिवारलाई नै शेयर सदस्य बनाउँदै छन्।

    सरकारसँग सहकार्य

    गोलमानले तयार पारेको योजनाअनुसार नै होमस्टे, क्यानोनिङ, रक क्लाइम्बिङ, केभिङ र ट्रेकिङको काम गाउँमा भइरहेका छन्। उनले सुरु गरेका योजनामा अथाह सम्भावना देखेपछि स्थानीय नागरिक र नेता त भई नै हाले स्थानीय सरकारका प्रमुख र संघीय सरकारका सांसदले पनि आवश्यक सहयोग गरिरहेका छन्। क्यानोनिङ र रक क्लाइम्बिङ भएको ठाउँ पदयात्राको मध्यभागमा पर्छ।

    पदयात्रामा हिँडेकाहरूलाई र साहसिक खेलका लागि गएकाहरूलाई शौचालयको आवश्यकता भएपछि कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको पहलमा १६ लाख रुपैयाँ विनियोजन भएर इको टुरिजममा आधारित शौचालय निर्माण भएको छ।

    चनौटेनजिकै घर भएका सङ्घीय सांसद पदम गिरीको पहलमा पदमार्ग निर्माणको लागि ५० लाख रुपैयाँ बजेट आयो। ‘सुरुमा त सङ्घीय सांसदले यसलाई गन्तव्यको रूपमा छनोट गर्न ठूलो सहयोग गर्नुभयो, पछि बजेट पनि मिलाइदिनुभयो।’ उनले भने, ‘कुस्मा नगरपालिकाको मेयर रामचन्द्रजीले पनि आएर अवलोकन गर्नुभएको छ, बजेट दिनुभएको छ। स्थानीय र केन्द्रीय सबै सरकारको सहयोग पाएको छु। काम गर्न जोस बढेको छ।’

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]