विचार

प्रविधिको मनपरी प्रयोगले महिला हिंसा बढायो

फागुन ९, २०७६

    पाकिस्तानले भर्खरै बालबालिकाको यौनशोषण गर्नेलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिने प्रस्ताव संसदबाट पारित भएको समाचार मिडियामा पढेपछि म आफैँ सोचमग्‍न हुन पुगेँ। यो सही भयो या भएन भन्‍ने कुरामा मेरो मन नै जुहारी खेल्न थाल्यो।

    धेरै बेर सोचेँ पछि एक मनले भन्यो ठिकै भयो समाजमा दिनानुदिन बढदै गएको बलात्कारका घटनालाई यो निर्णयले सिर्जना हुने डरले गर्दा केही त कम गराउला नि। अर्को मनले भन्यो निर्दोषले सजाय पायो भने उसको त एकबारको जुनी नै खत्तम भयो नि। एकअर्कामा रिसको आवेगमा आएर निर्दोषलाई फसाउन पनि कति नै बेर लाग्ला र?

    विकशित मुलुकहरूमा भन्दा पनि विकासोन्मुख देशहरूमा अहिले महिला तथा बालबालिकामाथि हुने यौन हिंसा बढदै गएको समाचारले दिनहुँ सञ्‍चारमाध्यममा स्थान लिएका उदाहरणहरू प्रशस्त छन्। हाम्रो देशमा पनि यस्ता घटना दिनैपिच्छे जस्तो समाचार बनेर आइरहेकै छन्। 

    समाजमा दिन प्रतिदिन बढ्दै गएको महिला हिंसा सुन्दा र देख्दा कसको रगत नतात्ला? आमा, हजुरआमा र छोरी कसैलाई बाँकी नराखी बलात्काररूपी विकृति भित्र्याउने नरपिचासलाई कडा सजाय हुनुपर्छ।

    बालबालिका तथा महिलामाथि हुने यौनहिंसाविरुद्ध आन्दोलन जारी छ। आन्दोलनले बेग्लाबेग्लै रूप लिएर सरकारलाई घचघच्याइ रहेको छ। तर, अपराधीहरू झनझन् उत्साहित भएको अवस्था सृजना हुँदै गएको जस्तो देखिदैछ समाजमा।

    हिंसा कसैमाथि पनि हुनुहुँदैन यो सत्य हो। हाम्रो देशकै कुरा गर्नुपर्दा महिलामाथि हुने हिंसामा समाज, संस्कार, परिस्थितिले गर्दा कतै बोक्सीको निहुँमा,कतै पारिवारिक कलह, कतै दाइजो त कतै अरू प्रकारका कुसंस्कारको पञ्जाले महिलामाथि हिंसा भएको र हुँदै आएको थियो। तर, यता आएर बलात्कार र हत्या नै गर्ने जस्ता जघन्य आपराधिक क्रियाकलाप बढ्दै गएको छ।

    के महिला हिंसा र हत्या पहिलेदेखि नै हुने गर्दथे या यता आएर बढी भएको हो? यो एउटा प्रश्न आफ्नै ठाउँमा छ। तर, महिला हिंसाको कुरा पहिले सार्वजनिक गर्न नै डराउँथे भने अहिले मानिसमा यसलाई सार्वजनिक गर्नु पर्दछ भन्ने ज्ञान आएको अनुमान गरिन्छ।

    सञ्‍चारमाध्यमले पनि यस्ता कुरालाई सार्वजनिक गराउन ठूलो भूमिका खेलिरहेका छन्। सञ्चारमाध्यममा यस्ता विषयले स्थान पाउन थालेर यी विषय सार्वजनिक भएका हुन् या समाजमा बढ्दै गएको विकृतिले मानिसलाई पशु बनाउँदै लगेको हो? यो आम चासोको विषय बनिसकेको छ।

    भन्न त हामी महिला नै भन्दछौँ तिमी देवी बन, काली बन आफूमाथि अन्याय गर्नेका लागि रणचण्डीका नै बन। तर, अबको अवस्थामा के भन्‍ने समाजमा मानवता नै हराएको देख्दा। तीन वर्षे बालिकालाई कसरी हामी भन्‍न सक्छौँ तिमी काली बनेर तिमीलाई बलात्कार गर्ने बाबुलाई नै मार भनेर।

    अनि आफैँले भर दिएर मात्र भित्र-बाहिर गर्ने ८० वर्षे आमालाई कसरी भन्‍ने बलात्कारीविरुद्ध किन लड्न सकिनौँ भनेर। मानिसले आफू मानिस हो भनेर सोची दिने हो भने मात्र कुनै पनि कुरा सम्झाउन सकिन्छ। तर, मानिस मानिस नभएर पशु बन्दछ भने त्यहाँ त्यो पशुलाई सजायको के डर भयो र?

    समाजमा दिन प्रतिदिन बढ्दै गएको यस्ता घटना सुन्दा र देख्दा कसको रगत नतात्ला? आमा, हजुरआमा र छोरी कसैलाई बाँकी नराखी बलात्काररूपी विकृति भित्र्याउने नरपिचासविरुद्ध कानुनसम्मत रूपबाट कडा सजायको व्यवस्था हुनु जरुरी छ। तर, महिला हिंसाविरुद्ध आन्दोलनमा उत्रिएका भनिने अधिकारकर्मीहरू खै?

    नेपालमा हिंसाविरुद्ध कानुन नभएका त होइनन्। तर, कानुनकै कठघरामा पुगिसकेको बलात्कारको घटना पनि विस्तारै दबाइन्छ भनिन्छ। यसले पीडित पक्षलाई न्याय त मिल्दैन नै भने अर्कोतर्फ पीडक पक्षलाई झनझन् हिंस्रक बनाउन प्रेरित गर्दैन र?

    २०१० लाई राष्ट्रले महिला हिंसा विरुद्धको वर्षका रूपमा मनायो। त्यसपछि हरेक वर्ष महिला हिंसाविरुद्ध १६ दिने कार्यक्रम पनि गरिँदै आइएको छ। तर, सिसिटिभीको निगरानीमा घरभित्र भएकी मुना कार्की पनि हिंसाको सिकार हुन पुगिन् भने बाहिर असुरक्षित स्थानमा हुने महिलाहरू लाई कसरी जोगाउन सकिएला र? अनि यस्ता कार्यक्रम कति सार्थक हुन पुग्लान् त?

    एकातिर सरकार दोषीमाथी कडारूपमा प्रस्तुत भएर सजाय दिने कुरा त छँदैछ। हाम्रो कानुनअनुसार पीडितको उमेरअनुसार जन्मकैददेखि सजाय कम कम गर्दै लगिएको छ। यो कानुनत: सजायअनुसार पनि पीडकले सजाय पाउने नपाउने पक्ष एकातिर विचाराधीन छ। हामीले सन्तोष गरिहाल्ने ठाउँ पनि छैन भन्दा अतिशयोक्ति पनि नहोला।

    तर, त्योभन्दा पनि यस्ता घटना नै हुन नदिनेतर्फ हामी सचेत नागरिकले  पनि सोच्‍न ढिला पो भइसकेको हो कि? यौनजन्य अपराधलाई न्यूनीकरण गर्दै लैजान हामी पनि के गरिरहेका छौँ नागरिक समाजले त्यसतर्फ पनि ध्यान दिनुपर्ने हो कि?

    महिलालाई नांगो बनाएर प्रस्तुत गर्ने गरिएका मनोरञ्‍जनात्मक कार्यक्रमहरू, पत्रपत्रिका, इन्टरनेट सञ्‍जाल र बाबुआमाको लापरबाहीपनाले गर्दा जानकारी नै नभएको उमेरमा बालबालिकामा सेक्सका चाहना बढेको हो कि भन्ने पनि देखिन्छ। परिणाम के हुन्छ थाहा नपाएका युवायुवतीले जानकारीको कौतुहलताले यौनजन्य ठूला ठूला अपराध गरेको पनि समाजमा देखिन थालेको छ।

    कतै अर्जुनकार्की दम्पतीले छोरा जस्तै मानेर राखेका विजय चौधरी पनि यसैको सिकार त भएका होइनन्? हामी संयुक्त परिवारबाट एकल परिवारमा परिणत हुँदै गएका छौँ। हजुरबुवा हजुरआमाबाट ज्ञानगुणका कुरा सुन्‍न पाउने नातिनातिना कमै छन् हाम्रो समाजमा। व्यस्त बाबुआमा अनि शिक्षामा पनि नैतिक शिक्षाको कमी पाएका केटाकेटीले परिवार र समाज भन्‍ने कुरा नै सिक्न पाउँदैनन्।

    रोजगारीको कमीले गर्दा आर्थिक अवस्था कमजोर हुन पुगेर युवा पेसेवर यौन अपराधी हुन पुगेका घटनाहरू पनि हाम्रो समाजमा देखिएकै छन्। सरकारले आफ्ना नागरिकलाई सक्दो रोजगारीको व्‍यवस्थापन गर्न सकेमा पनि यस्ता घटनामा कमी आउने निश्चित छ।

    उनीहरू यदि गलत संगतमा परे भने यस्ता यौन हिंसाका घटना घट्न पुग्‍नु कुनै नौलो कुरा होइन। अर्कोतर्फ आर्थिक अवस्थाले पनि यौनजन्य अपराधलाई प्रोत्सा‍हित गरिरहेको देखिन्छ।

    रोजगारीको नभएकै कारण आर्थिक अवस्था कमजोर हुन पुगेर युवाहरू पेसेवर यौन अपराधी हुन पुगेका घटनाहरू पनि हाम्रो समाजमा देखिएकै छन्।

    त्यसैले विद्यालय शिक्षादेखि नै केटाकेटीमा नैतिक तथा सामाजिक विषयलाई प्राथमिकताका साथ पढाउने हो भने पनि यस्ता अपराध केही कम गर्न सकिन्थ्यो कि। सरकारले आफ्ना नागरिकलाई सक्दो रोजगारीको व्‍यवस्थापन गर्न सकेमा पनि यस्ता घटनामा कमी आउने निश्चित छ।

    हो महिलाहरू नरम, कोमल दिलका हुन्छन र महिलालाई साना साना फितलो आश्वासनले दंग पर्ने मानिन्थ्यो। हिजोका दिनमा मर्ने मार्ने भनेपछि महिलाहरू डराउँथे। तर, दिनदिनै सार्वजनिक हुँदै गएका महिला हिंसा र हत्याका स्वरूपहरू हेर्दाहेर्दै आज महिलाको मन यति कठोर भइसकेको छ कि महिला नै मृत्युदण्डको माग गर्न पुगिसकेका छन्। प्रतिदिन अराजक र अनियन्त्रित बनाउँदै लगिएको समाजमा विकृति भित्र्याउने यस्ता पशुहरूविरुद्ध कडा कानुन भयो भने मात्र महिलाहरू स्वतन्त्र भएर हिँडन सक्ने थिए। 

    अमेरिका, चीन, कोरिया जापान जस्ता देशमा पनि यदि गम्भीर प्रकृतिका अपराधमा संलग्‍न हुनेलाई मृत्युदण्ड दिने कानुन छ। हामी अरू सबै क्षेत्रमा यी विकसित मुलुकहरूको अनुशरण गर्छौं भने न्याय र कानुनका विषयमा किन नगर्ने? हत्या, हिंसा, मानव बेचविखन, बलात्कार, अपहरण र भ्रष्टाचार जस्ता अपराधविरुद्ध मृत्युदण्डको सजाय भयो भने समाजबाट यस्ता काय पक्कै नियन्त्रण हुने थिए।

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]