फिचर

सरकारलाई कस्तुपको प्रश्न–'कलाकारलाई कर लगाउन किन डराएको ?'

'छोराछोरीलाई कलाकार बन्‍नू भनेर आशीर्वाद दिए हुन्छ'

मंसिर २२, २०७६

    पर्वत : नेपाली लोक र सुगम दुवै संगीतमा सदाबहार छाइरहने एउटा नाम हो कस्तुप पन्त। पर्वतको फलेवास नगरपालिका-७, लिमिठानामा जन्मिएका पन्त १८ वर्षदेखि सांगीतिक यात्रामै छन्। स्वर भर्नमा भन्दा पनि मीठा लय र शब्द बनाउन माहिर मानिने कस्तुपको सांगीतिक यात्रा खासै उतार-चढावपूर्ण चाहिँ हाेइन। उनी जति सजिलै सांगीतिक क्षेत्रमा ‘इन्ट्री’ भए उनको हालसम्मको यात्रा पनि त्यति सकसपूर्ण छैन। 

    लोक र सुगम संगीतका गरेर झण्डै एक हजार गीतहरूमा विभिन्न तरिकाले काम गरिसकेका पन्त आनन्ददायी जीवन बिताउने कलाकार मध्येका एक हुन्। सबैसँग समदुरीकाे सम्बन्ध राख्न सिपालु उनको सांगीतिक क्षेत्रमा भएको प्रवेश नै अकल्पनीय छ। आज यो स्थानको कलाकार बन्न सक्छु भन्ने उनी आफैँलाई लागेको थिएन। 

    पुलिसको जागिर छोडेर विदेश यात्रा 

    लोक संगीत धेरै रुचाइने पर्वत जिल्लामा जन्मिएकै कारण पनि पन्तमा सानैदेखि लोक संगीतप्रति रुचि थियो। गाउँमा मेला हुँदा होस वा भजन गाउनु पर्दा नै किन नहोस्, मादल र मुरली बजाउन पुग्थे उनी। यद्यपि उनमा कलाकार बन्छु भन्ने नै थिएन। उनी वि.सं. २०५३ सालमा नेपाल प्रहरीको सञ्चार विभागमा भर्ती भए।

    ‘घरकाले राखेको उद्देश्य त हरिद्वार गएर आचार्य पास गरेर आइदिए हुन्थ्यो भन्ने थियो होला?’ कस्तुप भन्छन्, ‘तर मेरो ध्यान के के मा गयाे खोई? हजुरबादेखि बुबासम्म सबैले भजन गाउँदा संगीतमा रुचि बस्यो, तर यता भर्ती भएँ।’

    प्रहरीबाट आएको तलबले न उनलाई खर्च धानेन। आर्थिक अभावमा नै जीवन गुज्रिन थालेपछि उनलाई लाग्यो - नेपाल पुलिस छोडेर धेरै आम्दानी हुने आबुधावी पुलिसमा जान्छु। पाँचवर्ष गरेको जागिर छोडेका उनले त्यहाँका लागि नाम निकालेपछि नेपाल प्रहरीबाट राजीनामा दिए।

    इन्द्र जिसीको बोलीले बनायो कलाकार

    विदेश जानका लागि उनी काठमाडौँको अनामनगरमा फुपूको घरमा बसे। फुपूका छोराहरू हरि र शिव अनि पर्वतको पाङका प्रभात किरणले सानोमा कलाकार  भइसकेको मान्छेले गीतको एल्बम निकाल्न भनी सुझाएपछि उनले गीत निकाल्ने बिचार गरे। गीत निकाल्ने सोच बोकेर २०५९ सालमा कलाकार इन्द्र जिसीको शिला क्यासेट सेन्टरमा पुगे। 

    पन्तको स्वर सुनिसकेपछि जिसीले सम्भावना बोकेको मान्छे भन्दै गीत निकाल्न सुझाए। जिसीको बोलीले नै कस्तुपलाई गीत निकाल्न आँट दियो। ‘इन्द्र दाइमा यति मीठो बोली थियो कि मलाई यो क्षेत्रमा हुने मान्छे त यति राम्रो हुने रहेछन् भन्ने भयो’ पन्त भन्छन्,‘उहाँको ठाउँमा अरू कोही भेटेर स्वर राम्रो लागेन। सम्भावना राम्रो छैन भनिदिएको भए मैले गीत निकाल्ने थिइन होला।’

    जिसीको सल्लाह बमोजिम प्रभात किरणसँग मिलेर ‘बागलुङ कालीमाई’ नामक एल्बम निकालेर उनले सागीतिक क्षेत्रमा हात हालेँ। यो गीतले केही नाम दियो। तर पछि आएका अङ्गुर अमिलो, के भनौँ र खोइ?, मधुवनैमा, फूलको थुँगामा, बिर्सियौ की कुन्नि? लगायतका गीतले राम्रो चर्चा पाएपछि जिसीले विदेश नजान अनुरोध गर्दै उनी विदेश नजाने भनेर कलाकारिता क्षेत्रमै रमाउन सुरु गरे।

    दशैंमा छोराछोरीलाई ‘कलाकार बन्नू’ भन्ने आशीर्वाद दिए हुन्छ

    केही वर्ष अघिसम्म कलाकारलाई बाँच्न नै कठिन हुने गरेको भएपनि अहिले भने हरेक कलाकारको दैनिकीमा राम्रो सुधार आएको कस्तुपले बताए। राम्रा गीतहरू निकाल्न सक्ने हो भने त्यस्ता कलाकारले सजिलै स्टेज पाउने र विदेशमा पनि गाउने अवसर पाउने भएकाले आर्थिक हैसियत पनि राम्रो बन्ने उनको भनाई छ।

    ‘हाम्रै छिमेकी देश भारतका कलाकारको आर्थिक-सामाजिक अवस्था कति राम्रो छ? देख्दा हामी नेपाली कलाकारलाई लोभ लाग्थ्यो’ उनले भने, ‘अहिले नेपालमा बाक्लै हुने गरेका मेला महोत्सव, टेलिभिजन रियालिटी सो लगायतले पनि कलाकारको महत्वलाई बाहिर ल्याएका छन्।’

    आफूलाई दशैंमा आशीर्वाद दिँदा कसैले पनि कलाकार, गीतकार, संगीतकार बन्नु भनेर नदिएको भन्दै उनी अग्रज र नयाँ कलाकार सबैको अवस्था राम्रो भएकोले अब कलाकार बन्नु भन्ने आशीर्वाद दिए हुने बताउँछन्।

    पहिलेका गीतले दिल छुन्थे, अहिलेकाले आँखाको विष मार्छन्

    पहिलेका गीत क्यासेटमा आउथेँ, आनन्दले सुनेर बस्दा सिधै मन र मुटुमा छुने गरेको भएपनि प्रविधिको विकाससँगै कलाकारिता क्षेत्रमा पनि परिवर्तन आएको कस्तुपले बताए। ‘पहिलेका गीतहरू अडियोमा हुन्थेँ। सिधै दिलमा छुन्थे’ उनले भने, ‘अहिलेका गीतहरू डिजिटल भएका छन्। अब सुनेर मात्रै हुँदैन। हेरेर आँखाको विष पनि त मार्नु परेको छ।’

    सुन्नका लागि दृश्य नचाहिने भए पनि हेर्नका लागि दृश्य निर्माण गर्नुपर्दा र गीत चलाउने होडबाजी चल्दा कतिपय गीतहरू ‘भल्गर’ पनि भएको उनी स्वीकार्छन्। कतिपय गीतका शब्दमा राम्रा भए पनि निर्देशकले त्यस्तै खालका दृश्य निर्माण गरिदिँदा परिवारका सदस्यहरूसँग बसेर त्यस्ता गीतहरू हेर्न नसकिने उनको भनाई छ।

    मेला-महोत्सव आयोजना गर्नेहरूले महोत्सवलाई कला र गलाको प्रबर्द्धनमा सघाउने भनी नारा लेख्ने गरेको भए पनि कतिपयले भने दर्शक तान्नकै लागि हेर्न नसकिने खालका प्रस्तुति र गीतहरूलाई महत्व दिएको उनको भनाई छ।

    राज्यले कर लिओस् 

    कलाकार पन्त राज्यले कलाकारको विषयमा खासै केही कदम चाल्न नसकेको र कलाकारले स्टेजमा गाउँदा कमाएको पैसाको कर पनि तिर्न नपरेको अवस्थाले तालमेल नमिलेको जस्तो देखिएको बताउँछन्।

    उनले सांगीतिक क्षेत्रमा कसैले गलत काम गरेमा वा ‘सेन्सर’ लगाउनुपर्ने भएमा एकजना कलाकारले आँट गरेर त्यो काम गर्न नसकिने बताए। एक जनाबाट सम्भव पनि नहुने उनको भनाई छ। ‘अब राज्यले एउटा नियामक निकाय बनाउनुपर्छ’ उनी भन्छन्, ‘राज्यले कलाकारलाई राज्यका गहना भनेको छ। तर न त कलाकारबाट कर लिन्छ। न त कलाकारका लागि केही गर्छ।’

    राजनीतिक नेताले कलाकारलाई ‘मास कलेक्सन’ मा प्रयोग गर्छन्

    कुनै पनि सभा सम्मेलन, मेला वा कार्यक्रमको आयोजना गरिएको ठाउँमा कलाकारको माग पहिलो हुने गरेको उनी बताउँछन्। उनले विशेष गरी राजनीतिक नेताले आफ्नो पक्षमा मानिसको भीड जम्मा पार्न कलाकारको साथ लिने गरेका छन्। तिनै नेताहरूले कलाकारको विषयमा केही पनि कुरा नबोल्ने गरेको पन्तको गुनासो छ। 

    ‘हाम्रा नेताहरू आफैँले आफैँलाई विश्वास गर्न सक्दैनन्। आफैँले भाषण गर्ने ठाउँमा मानिसको भीड लाग्दैन की? भन्ने डरले कलाकारलाई खोजी-खोजी लैजानु हुन्छ। तर चुनाव जितेपछि कलाकारिता क्षेत्रको व्यवस्थापनको लागि आवाज उठाएको नेता कोही पनि छैन’ उनी भन्छन्, ‘उहाँहरूलाई जनताले पत्याउँदैनन् की? भन्ने डर हुनाले कलाकारको साथ लिनुहुन्छ। ‘मास कलेक्सन’ मा ‘प्रयोग’ गर्नुहुन्छ।’

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]