थाहा संवाद

नेपाली आमाले पदक जितेर देखाइदिए महिला सशक्तीकरण

मेडलले जीवन चल्दैन, रोजीरोटीको बन्दोबस्त गर्नुपर्छ

मंसिर २१, २०७६

    काठमाडौं : नेपालले आयोजना गरेको जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सागको सुरुका तीन दिन नेपालले पदकको बहार ल्यायो। तेक्वान्दो, कराँते, उसु, साइक्लिङ, भारत्तोलन, स्विमिङ लगायतका खेलबाट नेपालले अहिलेसम्म ४१ वटा स्वर्ण पदक हात पारिसकेको   छ।

    आयोजकले यसपटक ५० स्वर्ण पदक हात पार्ने लक्ष्य लिएको छ। यसपटक विशेषगरी व्यक्तिगत र टिमगत विधामा महिला खेलाडीहरूको प्रदर्शन निकै सुध्रिएको विश्लेषण पनि गरिएको छ। यसैबीचमा थाहासञ्‍चारकर्मी सरस्वती अधिकारीले खेल मनोविज्ञ एवं विश्लेषक रमेशनाथ खनालसँग गरेको कुराकानीको सम्पादित अंश : 

    जारी सागमा नेपाली खेलकुद र खेलाडीको प्रदर्शन कत्तिको सन्तोषजनक देखिएको छ

    खेलाडीहरूको अहिलेसम्मको प्रदर्शन हेर्दा आशातीत देखिएको छ। नेपालमा साग गेम हुन्छ कि हुँदैन भन्ने धुकचुकबीच ६–७ महिनादेखि खेलाडीहरू निरन्तर तालिममा रहेर राम्रो प्रदर्शन दिन तम्तयार थिए। यति राम्रो सफलता पाउला भनेर नेपालीहरूले सायदै सोचेका थिए। 

    विगतको तुलना गर्ने हो भने चाहिँ आइरहेको नतिजालाई मिश्रितभन्दा पनि हुन्छ। विगतमा १०–१२ वटा खेलमा पनि नेपालीहरूले स्वर्ण पदक ल्याएका थिए अहिले २६ वटा खेल हुँदा यो फ्लोमा पदक आउनु स्वाभाविक हो। तर, खेलाडीको प्रदर्शन निकै सुधारिएको छ। राखेपका सदस्यसचिवले भनेजस्तो ५० वटा स्वर्ण पदक पुग्छ भन्ने लागेको छ। 

    यसलाई लगानीअनुसारको प्रतिफल मान्न सकिन्छ कि त्योभन्दा तल वा माथि मान्ने?

    लगानी त थोरै नै थियो। खेलाडीमाथि जति लगानी गरे पनि थोरै नै हुन्छ। तर, उपलब्धि चाहिँ धेरै नै हो। 

    लामो विश्रामपछि खेलेका, आमा भएकाहरूले पनि जमेर स्वर्ण हात पारे। खेलाडीहरूलाई कस्तो कुराले प्रभाव पार्नेरहेछ? त्यो मोटिभेटिङ फ्याक्टर चाहि के हो?

    खेलाडीमा सबैभन्दा ठूलो इच्छाशक्ति नै हो। यस्तैगरी प्रेरणा (मोटिभेसन) फ्याक्टर हो। खेलाडीहरूमा विश्वास, आत्मविश्वास, भावना हुन्छ। इच्छाशक्ति नै चाहिन्छ भन्ने आयशा शाक्यले पनि नमुना भएर प्रष्ट्याइदिइन्। दुई/दुईवटा बच्चाको आमाले नेपालको इतिहासमा  दुई/दुईवटा स्वर्ण जित्नु सामान्य होइन। यो ठूलो प्रेरणा हो।

    छोरीहरूलाई विवाह गरिदिएर अनि रङरोगनमै थन्काइदिने चलन छ। विवाहपछि महिलाहरू पनि मेरो सबै सकियो भनेर बस्ने गर्छन्। विगतका कतिपय खेलाडीहरू जो विवाह गरेपछि म खेल्न सक्दिनँ भनेर खेल छाडेर बसेका पनि छन्। तर आयशा लगायतका आमाहरूको प्रदर्शनले दृढ इच्छाशक्ति, म खेल्छु, गरेर देखाउँछु भन्ने दृढता भयो भने कुनै पनि कुरा बाधक हुने रहेनछ भन्ने देखाइदियो। यसबाट सबै छोरीले, खेलकुदमा लाग्न चाहने खेलाडीले विवाह गरेर गएपछि त्वं शरणम् भनेर  हातखुट्टा छोडेर जानुभएन। आएर तालिम गर्नुपर्‍यो।

     केही समय अघि वडिबिल्डिङ वर्ल्ड च्याम्पियनसिप एकजना नेपाली महिलाले जितिन् उनी पनि आमा भइसकेकी खेलाडी  हुन्। त्यति ठूलो प्रतिस्पर्धा आमाले जितेको छ। त्यसले गर्दा गर्‍यो भने जे पनि हुन्छ। शरीर त हो, यो शरीलाई इच्छाशक्तिले माझ्ने हो।

    गुरुले तालिम दिएर माझिदिन्छ माझेपछि पर्फमेन्स निस्किहाल्छ। क्षमता भएर पनि लुकाएर बसेकाहरूले बाहिर निकाल्न चाहन्छु भनेर लाग्नुपर्‍यो।

    सागमा महिला खेलाडीहरूको प्रदर्शनले इच्छाशक्ति बढेको नै देखायो हैन

    २१ वर्षअघि बृहत खेलकुद प्रतियोगिता एसियन गेम्समा सविता राजभण्डारीले नेपाललाई सबैभन्दा ठूलो पदक रजत दिलाएपछि खेलकुदमा महिलाहरूको सिलसिला सुरु भयो।

    अहिले नेपाली महिलाहरू सशक्त रहेछन् भन्ने प्रमाणित भयो। महिलाहरूलाई बढीभन्दा बढी प्रोत्साहन, सुविधा, अवसर दियो भने राष्ट्रको नाक राख्छन् भन्ने कुरा यसपटक महिलाले देखाइदिए।

    महिला भलिबलले पनि देखाइदियो, अन्तिममा मात्र झिनो कुराले हारेको हो। तर, दोस्रो हुनु पनि इतिहास रचेको हो। त्यसकारण राष्ट्रले महिला खेलाडीका लागि ध्यान दिनुपर्‍यो।

    पुरुष भलिबलभन्दा महिला भलिबलको स्तर माथि उकासिँदै गएको हो?

    हाँस्दै...हो हो। किनभने बंगलादेशमा एभिसी सेन्ट्रल जोनको उपाधिदेखि सागको फाइनलसम्म पुग्नुले यो प्रष्टै देखिएकै हो। महिला भलिबलको खेलाडी, टिम पनि मिलेको, राम्रो कोअर्डिनेशन, म्युचल अन्डरस्ट्यान्डिङ पनि देखियो।

    प्रदर्शन राम्रो भइरहेको थियो तर अन्तिममा कोचले अलि राम्रो काउन्सिलिङ गर्न नसक्दा मात्रै हारेको हो। पाँचौँ सेटमा खेलाडीमा ओभर कन्फिडेन्स विकास हुँदा सर्भिस नै बिगार्न थाले तर कोचले समन्वय मिलेको छैन भनेर सिकाउन र राम्रो काउन्सिलिङ गरेनन्।

    नेपाली खेलाडीहरू नर्भस भएको देख्‍नेबित्तिकै भारतीय खेलाडीहरूले प्रोफेसनल तरिकाले खेले र जिते। हामीबाट त्रुटि भयो तर दोस्रो हुनु पनि नेपालले इतिहास रचेको हो। 

    राम्रा खेलाडीहरू विदेश पलायन भइरहेका छन्। यसपटक पनि पदकको आशा गरिएका खेलाडी सागको मुखमै खाडी मुलुक पसेको समाचार आए। यो अवस्थामा सरकारले खेलाडी टिकाउन नसकेको हो कि, खेलाडीहरूले नै खेलकुदमा आफ्नो भविष्य नदेखेको हो?

    खेलाडीले नै खेलमा आफ्नो भविष्य नदेखेको हो। अनि राष्ट्रले भविष्य बनाउन नसकेको    हो। पहिले कृण्णप्रसाद भट्टटराईको पालामा एसियन गेम्स, साफ गेम्समा जितेर आउनेलाई एउटा घर दिने, प्याकेज कार्यक्रम दिने भन्ने घोषणा गरिन्थ्यो।

    जसलाई पनि रोजी रोटीको समस्या हुन्छ नै। मेडल जितेर ल्याउँदैमा पूरै जीवन चल्दैन, घर परिवार पाल्न सकिँदैन। हामीले व्यस्थित तरिकाले खेलाडीको भविष्य सुनिश्चित गर्न सकिरहेका छैनौँ। 

    सरकारले केही रकम त पुरस्कार भनेर दिन्छ त?

    त्यो त बालुवामा पानी खनाए जस्तो मात्र भयो। दिँदै नदिनुभन्दा सुरुवातमा त्यो पनि नराम्रो होइन तर गोल्ड मेडल जिते ४–५ लाख दिने भनिन्छ यसले जीवन चल्छ? यतिले मात्र पुग्दैन।

    फेरि प्रोत्साहनको घोषणा गर्नै पनि अलि ढिला हुन्छ। एक वर्षअगाडि घोषणा गरे के हुन्छ? भविष्य कहाँ छ त खोई? भविष्यका लागि सबै खेलाडीलाई नासु, अधिकृत तहमा जागिर दिने भन्ने त छैन? खेल छोडेपछि के गरी पेट पाल्ने? यो विषयमा राष्ट्र नै मौन छ।

    पहिला–पहिला विभिन्न संघसंस्था, आरएनएसी, हिमाल सिमेन्ट, जनकपुर चुरोट कारखानामा पनि नोकरी लगाइदिन्थ्यौं। ग्रुप-ग्रुप खेलाडीहरू छिराइदिन्थ्यौं हामी। त्यसरी पनि गर्नुपर्‍यो, कुनै संस्थामा आबद्ध भएर नोकरी पायो भने त उसको भविष्य सुरक्षित भयो नि। उनीहरूको भविष्यको बारेमा कसरी रणनीति बनाउने, सरकारले, खेलकुद मन्त्रालयले, राखेपले बसेर सोच्नुपर्‍यो। 

    फेरि अलि अगाडि नै फर्किऔं सागमा प्रतिस्पर्धा गर्न लायक बनाउन, जुन प्रशिक्षण तालिम भए, ती तालिम पर्याप्त थिए?

    अधिकांश खेलाडी, टिमहरूलाई बाहिर पठाएको छ। यसले के जनाउँछ भने नेपाली खेलाडीलाई एक्सपोजर छैन। एक्सपोजर चाहियो। तालिम अलि बढेको छ। तर, भारत, पाकिस्तान, बंगलादेशका श्रीलंकामा गएर हेर्नुभयो भने त्यहाँ वर्ल्‍ड क्लास स्ट्यान्डर्डको सुविधा हुन्छ।

     खेल्ने सामान, मैदान सबै फस्ट क्लास हुन्छ। त्यो कुरा हामीले पनि विकास गर्नुपर्‍यो। यतिधेरै मेडल ल्याइसक्यौं आगामी दिनमा यही मेन्टन गर्न च्यालेन्ज भइसक्यो। 

    यदि यो प्रतियोगिता अन्य देशमा भएको भए सम्भव थियो होला यति धेरै पदक जित्न?

    नहुन पनि सक्छ। अहिले हामीसँग घेरलु मैदान, दर्शकको साथ छ। खेलकुदमा दर्शकको उत्साह आफ्नो मैदानमा जस्तो अन्य मुलुकमा त पाइँदैन नि। यसले पक्कै प्रभाव पार्छ।

    त्यसो भए, घरेलु मैदान, दर्शकलाई खेलाडीहरूले दबाबका रूपमा लिन्छन् कि हौसलाका रुपमा?

    कहिलेकाहीँ प्रेसर नै हुन्छ। जस्तो फुटबलमा पेनाल्टी किक हुन लाग्यो भने दबाब सिर्जना भइहाल्छ। लास्ट पेनाल्टी भयो भने त झन् डेन्जर नै हुन्छ खेलाडीका लागि। दर्शकले हुटिङ गर्छन्, त्यस्तो अवस्थामा खेलाडीलाई मैले गर्न सकिनँ भने घृणा गर्छन् भन्ने डर हुन्छ। जस्तो तेक्वान्दोको अन्तिम गोल्ड मेडलमा श्रेष्ठ भाइ निकै दबाबमा खेलिरहेका थिए।

    टन्नै दर्शक, नेपाल–नेपाल भनिरहेका थिए, समय घर्किंदै थियो। दबाबमा थिए उनी। दर्शकको रौनकताले त्यस्तो अवस्थामा खेलाडीको ढुकढुकी बढाउँछ। 

    सागमा दर्शकको समर्थन, उपस्थित हेर्दा नेपालमा खेलप्रतिको आकर्षण बढेको छ भन्न मिल्छ कि मिल्दैन?

    अहिलेको पुस्तामा खेलप्रति एकदमै सकारात्मक भावना विकास भएर आएको छ। विद्यालयमा पनि खेल करिब–करिब अनिवार्य जसरी खेल खेलिन्छ।

    कलेजमा पनि खेल्छन्। मिडियाबाट अन्तर्राष्ट्रिय म्याच हेर्छन् यसले गर्दा यस्तो म्याच हाम्रो देशमा पनि भइदिए हुन्थ्यो भन्ने चाहना हुन्छ। त्यो मुटुमा राखेको चाहना अहिले दर्शकले पोख्न पाइरहेका छन्।

    भूकम्पपछि रंगशाला प्रयोगमा थिएन। अहिले अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्यो। भित्र पनि अन्तर्राष्ट्रिय राष्ट्रियस्तरको सुविधा छ। रंगशालामा गएर समर्थन, लाइभ हेर्नुको मज्जा छुट्टै छ। यसले थप उपस्थिति देखियो।

    श्रीलंकासँगको फुटबलमा नेपालले बुधबार अन्तिममा नतिजा बाँड्यो। विजयोत्सव मनाउन तयार भएको अवस्थामा दर्शक निराश हुन पुगे। त्योबेला खेलाडीहरूको मनस्थितिलाई कसरी मूल्यांकन गर्नुभयो?

    फुटबलमा गोल छिर्न सेकेण्‍डभर लाग्दैन। इन्जुरी टाइममा गोल खाइयो भने त्यो निकै दुर्भाग्य हुन्छ, फर्काउन पनि सकिन्न। त्यो दिन जुन एरियामा फल भयो त्यो एरियामा भएका खेलाडीहरू पनि सम्हालिन पर्थ्‍यो। हाम्रो ब्याड लक नै भन्छु म।

    अहिले आशा गरिएका खेलहरूबाटै पदक आएका हुन्?

    यसपटक केही खेल नयाँ भए। ट्रायथलन, डुवाथलन, साइक्लिङ माउन्टेन बाइक लगायतका खेल पनि राम्रा भइरहेका छन्। मेडल आइरहेको छ। मुख्य रूपमा पदक आउने भनेको तेक्वान्दो, उसु, कराँते नै हो।

    स्विमिङमा पनि धेरै पदक हुन्छ, वेटलिफ्टिङ, जुडो पनि छ। यस्ता खेलहरूमा भारतीय, पाकिस्तानी खेलाडी निकै तगडा छन्। अब केही तेक्वान्दो, कराँतेमा जस्तो पदकको फ्लो भने अब कम हुन्छ।  खेलाडीहरूको प्रदर्शन राम्रो छ। यही फ्लोबाट नआउला तर  अझै पदक आउँछन्।

    अहिले पदक बढ्नुको पछाडि खेलाडीहरू सुधारिएर आएको हो?

    अवश्य पनि खेलाडी सुधारिएर नै आएको हो। गुहावटीको गेममा ३ वटा पदक मात्र जितेको इख थियो खेलाडीहरूलाई।

    सबै अन्तर्राष्ट्रिय जजहरूको अगाडि खेलाडीहरूले मरेर पूर्णरूपमा परिश्रम गरेर जितिरहेका छन्। मुख्य कुरा खेलाडीले राष्ट्रको लागि खेलेको, जितेको छ। यसमा हामीले हौसला बढाउनुपर्छ। 

    साइक्लिङमा राम्रो प्रदर्शन देखियो हैन

    एकदम राम्रो छ।

    तर राष्ट्रको नाम फैलाउने खेलाडीहरूको घरायसी अवस्था, आर्थिक अवस्था निकै दयनीय भएका समाचारहरू पनि आइरहेका छन्। के गरिनुपर्छ?

    कसैको साइकल छैन। लाउने लुगा नै छैन। घर जीर्ण छ भन्ने छ। यो कुराहरूमा आयोजक संस्थाको ध्यान नपुगेको हो। यो सार्है सामान्य कुरा हो। यसलाई गम्भीरतापूर्वक लिएनन् उनीहरूले।

    ड्रेस नै जर्मनबाट ल्याएको रे। त्यो मात्र होइन। पेस्तोल नै प्रतिस्पर्धी देशसँग मागेर खेलेको देखियो। योजति लाचारीपन, लाजमर्दो के हुन्छ? मागेर खेल्ने भनेर हाम्रो देशलाई बदनाम गर्छ। समयमै खेलाडीलाई सामग्री नदिनु भनेको दुर्भाग्य हो। 

सरस्वती अधिकारी

पत्रकार अधिकारी थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]