राजनीति

‘समृद्ध नेपाल, सुखी नेपाली’ संकल्प साकार पार्न बंगलादेशले सघाउने

कात्तिक २६, २०७६

    काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्ने नेपाल सरकारको संकल्प साकार पार्न आफ्नो  देशले नेपाललाई सक्दो सहयोग गर्ने बताए।  

    राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बंगलादेशका विशिष्ट अतिथिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग मंगलबार भएको भेटमा नेपालको उक्त लक्ष्य हासिल गर्ने परिकल्पना पूरा गर्न  बंगलादेशले हातेमालो गर्दै अघि बढ्न चाहेको  बताए। 

    उनले बंगलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बंगलादेशलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गरे। मन्त्री ज्ञवालीले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको पनि सरकारी सञ्चारमाध्यमका प्रतिनिधिलाई जानकारी दिए।

    उनले राष्ट्रपति हमिदले बंगलादेशबाट अधिकतम लाभ लिन तथा द्विपक्षीय सहकार्य र साझेदारीलाई अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिएको जानकारी पनि दिए। उनले सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बंगलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवर्द्धनलगायत आपसी चासोका विविध विषयमा आफूहरूबीच विचारविमर्श भएको बताए। 

    मन्त्री ज्ञवालीले बंगलादेशसँगको सुसम्बन्धलाई अझ सार्थक तुल्याएर त्यसलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्न नेपालले चाहेको जानकारी राष्ट्रपतिलाई दिए।

    परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति हमिदको यस भ्रमणबाट नेपाल र बंगलादेशबीचको परम्परागत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको बताए।  

    भेटमा परराष्ट्र सचिव शंकरदास वैरागी, बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै बंगलादेशका परराष्ट्र सचिव, राष्ट्रपति कार्यालयका सचिव, सञ्चार सचिव तथा नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्ते शाम्सको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]