विचार

सशक्त नारीवादी कविता संग्रह
SHARES

असोज २१, २०७६

    हिजोआज कवि र कविताको चर्चा बढ्दै छ। मनमा लागेका विचार, भावना र सन्दर्भलाई गद्यमा या पद्यमा कहिले तत्कालै त कहिले समय र सन्दर्भमा अभिव्यक्त गरिने एउटा छोटो मीठो साहित्यिक विधा हो कविता। सामान्यतः आख्यानको तुलनामा धेरै लेखिने, सुनिने र कम पढिने विधाझै लाग्छ कविता।

    अरू विधाभन्दा अली गहिरो, अर्थपूर्ण, विम्बमा र कलात्मक समेत हुने भएकाले पनि कहिले काहीँ  कुनै कविता बुझ्न अली कठिन र कम पढिने हुनसक्छ। तर, पनि साहित्यको सबैभन्दा सुन्दर सशक्त विधा भने कविता नै हो। आख्यानमा एक हजार शब्दमा वर्णन गरिने भावना, विचार र मनका कोमल अनुभूतिलाई कविताले पचास शब्दमै सशक्त अभिव्यक्ति गरिसकेको हुन्छ।

    त्यस्तै, सशक्त भाव र अनुभूतिको अभिव्यक्ति हो डा. बिन्दु शर्माको कविता संग्रह 'ओक्कल दोक्कल पीपल पात'। श्रष्टा डा. बिन्दु शर्माले समाजमा विद्यमान महिला हिंसा, दमन, अत्याचार, दुराचार, शोषण र विभेदलाई यस कविता संग्रहमा संग्रहित कविताको माध्यमबाट अभिव्यक्ति गरेकी छन्। यसरी हेर्दा भन्‍न सकिन्छ यो एउटा नारीवादी कविता संग्रह हो।

    कविता धेरै लेखिन्छन्, सुनिन्छन् र छापिन्छन् पनि। तर, सबै कविता उद्देश्यमूलक र विचार प्रधान हुँदैनन्। यहाँ भने बिन्दु शर्माका कविता फरक ढंगले प्रस्तुत भएका छन् र सबै कविता उद्देश्य मूलक छन्। संग्रहमा संग्रहित २४ वटा कवितालाई समालोचकीय दृष्टिले फरक–फरक चार भागमा विभाजन गरिएको छ। जसअनुसार, देशको दृष्य, सम्बन्धको यात्रा विम्ब, समविधानको स्वरूप र नाङ्गिएको समय गरी १ सय ४ पृष्ठमा सबै कविता समेटिएका छन्।

    नारी अवला र कायर हुन्छन् , पर निर्भर हुन्छन् , बेसहारा हुन्छन् भन्ने गरिएको भएपनि समाजका चेली हिजोआज दिनहुँ परदेशिदैछन् जीवन निर्वाहका लागि। लम्किरहेका छन् बैदेशिक रोजगारीमा आफ्ना लाला–बाला र घर–परिवारको लागि आर्थिक उपार्जन गर्न। त्यसलाई कविता संग्रहको पहिलो कविता ‘आकांक्षाको अवतरण’शीर्षकमा यसरी समेटिएको छ–

    “...स्वर्णिम सपनाहरुलाई समाउन

    विछ्याएकी हुँ

    मेरा सुकोमल पाईतालाहरूलाई

    रेगिस्तानको यो तातो वालुवामा।” (पृष्ठ १८)

    यस्तै यस्तै वर्गीय असमानता, लैगिक विभेद, सांस्कृतिक विभेद, सामाजिक शोषण, सशस्त्र द्वन्द्वको नकारात्मक प्रभाव, शामन्ती संस्कार र पितृशत्ताको दमनको शिकार भएका नारी सम्वेदनालाई सुसुप्त ढंगले उठाइएको छ। नेपाली समाज अझ धेरै आञ्चलिकतालाई प्रधानता दिँदै समाजमा विद्यमान नारी शोषण र उत्पिडन प्रतिको चर्को आक्रोस र विद्रोहको अभिव्यक्ति हो प्रस्तुत कविता संग्रह।

    “ठकुन्र्या !

    तिम्रो विरासतको अनुष्ठानले

    हाम्रो घरको शिरमाथि

    सधैसधै तुसारो पारिरहँदा

    किन लाग्छ

    तिम्रो बार्दलीमा मात्र

    पारिलो घाम !...” (तिम्रो विरासतको अनुष्ठानमा, पृष्ठ–६३)

    यसरी कविताले आञ्चलिकता बोलेको छ। थारू किशोरीहरूको मनोभावना, व्यथा र उनीहरूप्रतिको शोषणलाई प्रस्तुत कविताले अभिव्यक्त गरेको छ।

    कविता संग्रहको नामैमा रहेको कविता “ओक्कल दोक्कल पिपल पात” जसको प्रत्येक शब्द-शब्दले जन्मबाटै छोरा र छोरीबीच हुने विभेदको पत्र पत्र केलाएको छ। लैंगिक विभेद कुनै प्राकृतिक विभेद हैन यो सामाजिक विभेद हो र हाम्रो सामाजिकीकरको प्रकृयाबाटै यो विभेदको आरम्भ हुन्छ भन्ने कुरा प्रस्तुत कविताले अभिव्यक्त गरेको छ। 

    “...मैले लुकेरै उडाउदा च्यातिएको

    भाइको पुरानो चंङ्गाको मोल

    चडकनले सम्झाएकी तिमीले

    थाँहा पाईनौ आमा !

    चङ्गासंगै उन्मुक्त हुन नपाई

    पाउजुको छमछमी पछुयाउदै

    अगेनामा खरानी भएका

    मेरा स्वप्निल रहरहरुको मोल के थियो ?

    प्रत्येक महिना केशसंगै छाँटिरहदा

    भाइले आफ्नो धीरता

    मैले भने चुल्ठोसंगै कस्दै लगें

    र रिबनको फूलजस्तै फुलाईरहें

    ओठमा बनावटी हाँसो

    तर पनि मौन भइरह्यौ तिमी...” (पृष्ठ ४४)

    लामो लेखमा नसमेटी भावको गहिराई र अर्थपूर्ण अभिव्यक्ति प्रस्तुत हरफहरूमा पाइन्छ। कविताको माध्यमबाट सामाजिक कुसंस्कार प्रति तिव्र प्रहार गरिएको छ। कविताहरू पढ्दा बिन्दु शर्माको लैगिक सचेतता, सामाजिक चेतना, जातीय–भाषिक र वर्गीय चेतना प्रखर रुपमा भएको पाइन्छ। सँगसँगै सांस्कृतिक, ऐतिहासिक–पुरातात्विक ज्ञान, काव्यिक प्रखरता अत्यन्त सवल रुपमा देखिन्छ।

    कतिपय कविता अत्यन्त निर्भिक र आक्रोशित भएर पोखिएका छन्। हुनत कविताको पृष्ठभूमिमा कवि बिन्दु शर्माको आफ्नै अभिव्यक्ति यस्तो छ, “...मेरो विचारमा उत्पिडनविरुद्ध अति शालिन अभिव्यक्ति दिनु भनेको बोलचाल बन्द भएकी सासुको मृत्युपछि रोएको अभिनय गर्ने बुहारीको कुटिल आडम्बरजस्तै हो। चरम दमनमा स्वभाविक रुपले अक्रोश पनि धेरै हुन्छ भने भोकको तीखो पीडामा छटपटीइरहेको मान्छे व्याकरण पढेर बोल्नु सम्भव नै हुँदैन।...”

    फेरि पनि त्यही अत्याचारका विरुद्ध निर्भिकताका साथ उनको अभिव्यक्ति छ,

    “...दुई दिने सेनीटरी प्याड जस्तै

    तिनीहरुले भिजाई दिएको

    मेरो नाईलनको चीसो कच्छासंगै

    टाङमुनिबाट स्वाट्ट थुती च्यातेर मिल्काईदिन्छु

    मुखियाको सन्दुकका तमसुक जसरी...”

    (गोधुलिमा मालती –पृष्ठ १०३)

    समग्रमा डा. बिन्दु शर्मा सशक्त समालोचक हुँदाहुँदै पनि प्रखर कविका रुपमा समेत प्रस्तुत भएकी छन्। उनका सवै कविता विचार र भाव प्रधान छन्। अत्यन्त रोचन प्रस्तुति, आञ्चलिकता, धार्मिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक सन्दर्भ र विविधता समेटिएका छन्। प्रशस्त स्थानीय भाषा–भाषी र शशक्त विम्महरूको प्रयोग गरिएको छ।

    “बाउचाले घुमाएको च्याम्पटीझै,

    निर्वासित हुन्छु म

    कुवाको भ्यागुतोजस्तै

    ठालुका घृणित दृष्टिबाट

    अनि,

    ‘इम्ब्रोइड्री’ गर्दाको रुमाललाई जसरी

    चसचसी घोचीरहन्छ मेरो हृदय... ”(गोधुलीमा मालती, पृष्ठ १०२)

    यसरी डा.शर्माको समालोचना, काव्यिक चेतना र प्रस्तुतिलाई अध्ययन गर्दा भन्न सकिन्छ उनी एउटी सशक्त नारीवादी साहित्यकारको श्रृंखलामा थपिएकी छन्।

कमला पराजुली

पराजुली सामाजिक न्याय र अधिकारका विषयमा कलम चलाउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]