थाहा संवाद : स्थानीय सरकार

जिल्लाकै 'कर्णाली' गाउँलाई नमुना बनाउँछौँ
SHARES

असोज २४, २०७६

    इस्तियाक अहमद शाह, नरैनापुर गाउँपालिकाका अध्यक्ष हुन्। उनलाई स्थानीयले शम्भु मिँया उपनामले पनि चिन्दछन्। मुस्लिम समुदायबाट गाउँपालिकाको नेतृत्व गर्दै आएका उनी विकासप्रेमी नेताको रुपमा चिनिन्छन्। मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिका सुगम जिल्लाको दुर्गम र बाँकेको कर्णाली भनेर परिचित छ। नेपाली रुपैयाँ समेत चलन चल्ती नहुने गाउँपालिकाका अधिकांश नागरिक भारतीय बजारमा निर्भर हुँदै आएका छन्। अधिकांश मुस्लिम र मधेसी समुदायको मात्र बसोबास रहेको उक्त गाउँपालिकाको समग्र विकासका लागि के कस्ता प्रयास भइरहेका छन् भन्ने विषयमा गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहसँग गरिएको कुराकानीको सम्पादित अंश।

    तपाइँले नेतृत्व गरेको गाउँपालिका विकासको दृष्टिले बाँकेको कर्णाली भनेर चिनिन्छ। तपाइँले नरैनापुरको समग्र विकासका लागि कुन योजनालाई पहिलो प्राथमिकता दिनु भएको छ? 

    नरैनापुर गाउँपालिका बाँकेको कर्णाली भनेर चिनिन्छ। यहाँ यो वा त्यो विषय पहिलो प्राथमिकतामा छ भन्ने नै छैन। शिक्षाको अवस्था यहाँ एकदमै कमजोर छ। विद्यालयभन्दा घरमा बस्ने बालबालिकाको संख्या यहाँ धेरै छ। सरकारी शिक्षाभन्दा मदरसा शिक्षामा यहाँका बालबालिका र अभिभावकको आकर्षण देखिन्छ। 
    शिक्षा बिना नरैनापुरको समग्र विकासको परिकल्पना गर्न सकिदैन भन्ने मान्यताका साथ हामी अगाडी बढेका छौँ। नरैनापुर गाउँपालिकालाई साक्षर घोषणा गर्न विभिन्न खालका योजना र कार्यक्रम ल्याइएको छ।

    बालिकालाई शिक्षामा आकर्षित गर्न विद्यालय जाने बुहारीलाई साइकल प्रदान गर्ने योजना गाउँपालिकाले अगाडी सारेको छ। बालिकालाई विद्यालयमा टिकाई राख्ने गाह्रो छ। शिक्षाको कमीका कारण समग्र विकासमा पछाडि परेको भन्ने बुझेर गाउँपालिकाले पहिलो पटक नरैनापुरमा ११ कक्षाको पढाई सुरु गरेको छ। यस अर्थमा गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ भन्न सकिन्छ।  

    विकासका लागि तपाइँको स्थानीय तहले कसरी काम गरिरहेको छ?

    नरैनापुर शदीयौँदेखि विकासको भोको छ। यहाँ राज्यको सबै संयन्त्र भएर पनि राज्यबाट टाढा रहनुपर्ने अवस्था छ। मधेसी र मुस्लिम बाहुल्य क्षेत्र भएकोले राज्यबाट हेपाहा दृष्टिले हेर्ने गरिन्छ। जसका कारण बजेट विनियोजन गर्दा पनि विभेद गरिन्छ। जनप्रतिनिधि आउनु अघि नरैनापुर गाउँपालिकामा एक मिटर पनि पक्की सडक थिएन। नेपालगन्ज आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। अहिले नरैनापुर गाउँपालिकामा १० किलोमिटर भित्री सडक पक्की भएको छ। हुलाकी सडकले नरैनापुरलाई नेपालगन्जसँग जोडेको छ। हरेक सडकलाई हुलाकी सडकसँग जोडिएको छ। स्वास्थ्यको कुरै नगरौँ। अत्याधुनिक भवनसहित प्राथमिक स्वास्थ्य केन्द्र छ। तर, दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मी छैनन्।

    स्वास्थ्य सेवाका लागि गाउँपालिकाले आफ्नो बजेटबाट स्वास्थ्यकर्मी भर्ना गरेको छ भने स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि आवश्यक उपकरण खरिद गरी निशुल्क स्वास्थ्य सेवा पाउने जनताको नैसर्गिक अधिकारको प्रत्याभूति गराउने प्रयत्न गाउँपालिकाले गराई रहेको छ। सडक विस्तार विना विकास सम्भव नभएको निष्कर्षमा पुगेर बाटोघाटो पुलपुलेसा निर्माणलाई प्राथमिकता दिएका छौँ। कार्य गर्दै आएका छौं। पहिलेको भन्दा अहिले धेरै विकासमा अगाडि बढेको छ।

    विद्युतीकरणका लागि के भइरहेको छ?

    नरैनापुर गाउँपालिकाको कुनै पनि वडामा विद्युत पुगेको छैन। यहाँका जनता सौर्य ऊर्जाको सहायतामा उज्यालो लिइरहेका छन्। विद्युतको पोल छ, तर तार तानिएको छैन। तार तानिएको छ, तर करेन्ट छैन। सर्वसाधारण जनतालाई उज्यालो प्रदान गर्न निशुल्क सोलार वितरण गर्दै आएका छौँ। अहिले हरेक घरमा सोलारको उज्यालो भए पनि पुगेको छ। तर, विद्युतीकरण नहुँदा यहाँ अहिलेसम्म एउटा पनि उद्योग संचालनमा आउन सकेको छैन। यहाँसम्मकी यहाँ एउटा पेट्रोल पम्प पनि खुल्न सकेको छैन। विद्युत नभएका कारण कृषि क्षेत्रमा पनि असर परेको छ। समग्रमा भन्दा नरैनापुर विकासभन्दा कैयौँ कोश टाढा भएको अवस्था छ। जनताको अपेक्षा र आकांक्षालाई मध्यनजर गरि जनताको भावना अनुरुप योजना बनाउँदै अगाडी बढिरहेका छौँ।

    जनप्रतिनिधि आएको दुई वर्ष वित्दा पनि विकासको अनुभूति गर्न नपाएको जनताको गुनासो छ, किन?

    स्थानीय तहको पहिलो अभ्यास भएकोले अहिले पनि हामी सिक्ने प्रक्रियामै छौँ। सिक्दै अघि बढेकोले पहिलो वर्ष काम गर्न असजिलो भयो। एक वर्षसम्म कानुन बनाउन र सिक्दासिक्दै बित्यो। तै पनि हामीले जाने जति र हाम्रो बलबुताले भ्याएसम्म काम गर्ने प्रयत्न गरेका छौँ। सडकको अवस्था एकदमै नाजुक थियो अहिले धेरै सुधार भएको छ। सडकमा सुधार भएपछि नेपालगन्ज आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। 

    शिक्षामा पनि सुधार आएको छ। विद्यालय जाने बालबालिकाको संख्या बढेको छ भने विद्यालयमा टिकाउन मुस्किल पर्ने अवस्था थियो त्यो पनि धेरै हदसम्म हामी सफल भएका छौँ। भारतीय अस्पतालको मुख ताक्नु पर्ने अवस्थामा पनि सुधार भएको छ। 

    टेलिफोन पनि गुणस्तरीय थिएन। कुनै बेला भारतीय फोनमात्र प्रयोग गर्ने नरैनापुरका अधिकांशले नेपाली मोवाइल फोन प्रयोग गर्न थालेका छन्। पहिले नरैनापुर क्षेत्रमा आउन डराउने अवस्था थियो। नरैनापुर क्षेत्रमा गए मारेर फालिदिन्छन् भन्ने भ्रम थियो। त्यो पनि अन्त्य भएको छ। सवैभन्दा ठूलो उपलब्धि नरैनापुर क्षेत्रमा नेपाली रुपैयाँ चलन चल्तीमा ल्याउन सफल भएका छौँ। नरैनापुरमा बैंक स्थापना गरेर नेपाली रुपैयाँको कारोवार गराउन सफल मात्र भएका छैनौँ नरैनापुरबासीलाई नेपाली भएको महशुस गराउन सफल भएका छौँ। 

    गाउँपालिकालाई कस्तो बनाउने योजना छ?

    नरैनापुरलाई एउटा रोल मोडेल गाउँपालिकाको रुपमा विकास गर्ने हाम्रो योजना छ। राज्यले दुर्गम गाउँपालिका घोषणा गरेको छ। तर नरैनापुरलाई त्यो अनुसारको सेवा सुविधा राज्यले दिन सकेको छैन। दुर्गम गाउँपालिका घोषणा गरेर विकासका लागि योजना दिनुपर्ने हो त्यो नदिँदा बार्षिक रुपमा पाउने अनुदानको भरमा गाउँपालिकाको विकास गर्नुपर्ने अवस्था छ। तै पनि प्राथमिकताको आधारमा बजेट बाँडफाड गरी जनताको माग सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ। 

    तपाइँको कार्यकालमा सवैभन्दा उत्कृष्ट काम कुन भएको जस्तो लाग्छ?

    जनप्रतिनिधि आएपछि बघौडा क्षेत्रको रुपमा चिनिएको नरैनापुर गाउँपालिकाले विकासमा धेरै ठूलो फड्को मारेको छ। यस शैक्षिक सत्रबाट ११ कक्षाको पढाई सुरु गर्न सफल भएका छौँ। मेरो कार्यकालमा यो नै सबैभन्दा उत्कृष्ट काम भएको मलाई लागेको छ। यसले उच्च शिक्षाका लागि नेपालगन्ज आउनुपर्ने बाध्यता हटेको छ।स्वास्थ्य सेवा विस्तारमा पनि उल्लेख्य प्रगति भएको छ। १० वर्षदेखि निर्माण हुन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण पूरा भएको छ। यही भवनमा १५ शय्याको अस्पताल चलाउने प्रक्रिया पनि अगाडी बढिसकेको छ। यो पनि जनप्रतिनिधिको ठूलो उपलब्धिको रुपमा लिनु पर्छ। 

    प्रदेश सरकारको सहयोगमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अनुसार डिपिआर तयार भई निर्माण सुरु भएको छ। केन्द्र सरकारले रंगशालासम्म पुग्ने बाटो निर्माणका लागि सहयोग गरेको छ। उक्त सडक निर्माणको काम पनि सुरु भइसकेको छ। 

    तपाइँको गाउँपालिकाले भोग्नु परेका मुख्य समस्या के-के हुन्?

    सबैभन्दा ठूलो समस्या सडक सञ्जाल हो। सडकको अवस्था नाजुक रहेकोले सदरमुकाम पुग्न घण्टौँ लाग्ने अवस्था अझैँ विद्यमान छ। सिमानामा भारतले बनाएको बाँधरुपी सडक अर्को समस्याको रुपमा देखिएको छ। यसले डुवानको समस्या निम्त्याएको छ। कहिलै डुवान नहुने ठाउँ पनि भारतले बनाएको सडकका कारण डुवानमा पर्न थालेका छन्। यो गाउँपालिकाका लागि अर्को समस्याको रुपमा देखिएको छ। 

    सवैभन्दा ठूलो समस्या विजुली बत्तीको छ। विद्युत नहुँदा उद्योग धन्धा, कलकारखाना, सिँचाइ जस्ता अति आवश्यक काम अगाडि बढ्न सकेको छैन। विद्युत नभएका कारण अहिलेसम्म एउटा पनि उद्योग नरैनापुर गाउँपालिकामा खुल्न सकेको छैन। यो भन्दा ठूलो विडम्बना अरु के नै हुन सक्छ। नरैनापुर बाँकेको सुगम जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]