राजनीति

धार्मिक अभियन्तालाई तत्काल रिहा नगरे आन्दोलन गर्ने चेतावनी
SHARES

'पशुपतिनाथ मन्दिर त सुरक्षित छैन भने सिंहदरबार र बालुवाटार कसरी सुरक्षित हुन्छ?'

असोज ४, २०७६

    काठमाडौं : विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्तालाई रिहाई नगरे देशव्यापी रूपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले इन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रूपमा विरोध गर्दा धार्मिक अभियन्तालाई जबरजस्ती पक्राउ गरेर हिरासतमा राखिएकोमा विरोध जनाएको हो।

    शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लगायतका धार्मिक अभियन्तालाई राजनीतिक प्रतिशोध साँधेर सरकारले जबरजस्ती पक्राउ गरेको समितिको आरोप छ। पक्राउ परेकालाई आगामी ४८ घण्टाभित्र रिहाई नगरिए देशव्यापी रूपमा आन्दोलन गर्ने समितिका अध्यक्ष सागर थापाले चेतावनी दिए।

    समितिका महासचिव रोशनजंग बस्नेत र विश्व हिन्दू महासंघ नेपालका उपत्यका संयोजक दिनेश कुमार सिजापतिको संयुक्त नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ गरिएका शिव सेना नेपालका अध्यक्ष बस्नेतलगायत समस्त हिन्दु धार्मिक अभियान्ताहरुलाई ४८ घण्टाभित्र रिहाइ नगरिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।’

    सरकारले वर्तमान संविधान र प्रचलित अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य, मान्यता र ऐन कानुनविपरीत नागरिकले विरोध प्रदर्शन गरेकै आधारमा पक्राऊ गरि नागरिकको मानव अधिकारजस्तो मौलिक हक, वाक स्वतन्त्रता, विरोध गर्न पाउने अधिकारलाई समेत बन्देज लगाउने कार्य नरोकिए केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपालस्थित् संयुक्त राष्ट्रसंघको कार्यालयमासमेत मानवअधिकार हननको उजुरी दिने समेत उल्लेख गरिएको छ। 'वर्तमान होलीवाइन सरकारले सनातन धर्म र हिन्दु धार्मिक अभियान्ताहरुबिरुद्ध कानुनबिपरित पक्राउ गरि तर्साउने वा धम्क्याउने कुचेष्टा भविष्यका दिनहरुमा समेत नगर्न चेतावनी दिन चाहान्छौँ’ विज्ञप्तिमा भनिएको छ।

    कार्यक्रममा बैंकटेश्वर पिठाधिश स्वामी पद्यमधराचार्यले पशुपतिनाथ मन्दिर परिसरभित्र भएको बम आतंक सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरे। उनले धार्मिक अभियन्ताहरुलाई पनि बिना शर्त रिहाईको माग गरे। उनले विश्व हिन्दू महासंघ पूनर्जागरण अभियानलाई सबै क्षेत्रबाट साथ र सहयोग हुनुपर्ने बताए।

    त्यस्तै, सनातन हिन्दू धर्म शिरोमणि स्वामी राम बाबाले पशुपतिनाथजस्तो पवित्र क्षेत्रमा भक्तजनलाई त्रसित तुल्याउन बम आतंक सिर्जना गरिएको भन्दै सरकारले दोषी पत्ता लगाएर कडा कारबाही गर्नुपर्ने माग गरे।

    कार्यक्रममा हिन्दू जागरण नेपालका अध्यक्ष पण्डित रामकृष्ण उपाध्यायले मेचिदेखि महाकालीसम्म आम हिन्दूहरु जाग्नुपर्ने बेला आएको सुनाए। उनले भने, ‘संसारकै हिन्दूको आस्थाको धरोहरको रूपमा रहेको पशुपतिनाथ क्षेत्रभित्र बम राख्नेले तपाईंको घरमा पनि बम राख्न सक्छन्। त्यो भनेको बालुवाटार र सिंहदरबारपनि सुरक्षित छैन्।’

    कार्यक्रममा कीर्तिपुर नगरपालिका पूर्वमेयर तथा धर्म, संस्कृति, परम्परा संरक्षण समितिका केन्द्रीय संयोजक ध्रुव महर्जनले धार्मिक अभियन्तालाई २४ घण्टाभित्र रिहाई नगरे गुठी विधेयकविरुद्धमा काठमाडौंवासी उर्लिए झैँ सशक्त आन्दोलन गर्ने चेतावनी दिए। उनले भने, ‘हामी उपत्यकावासीलाई सरकारले नजिस्काओस्, हामी जाग्यौं भने सरकारले हाम्रो आन्दोलन थेग्न सक्दैन्। त्यसैले सरकारले बेलैमा बुद्धि पुर्‍याओस्।’

    कार्यक्रममा राष्ट्रिय एकता परिषदका सदस्य दिनेश नापित, परने पासा र कपिलमान खड्गीले काठमाडौं उपत्यकाका नेवार समूदायको आफ्नो धर्म, संस्कृति र परम्पराको रक्षा गर्न लागिपर्ने बताए। उनीहरूले आफूहरूको धर्म र संस्कृतिमाथि कोही, कतैबाट प्रहार भए टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए। उनीहरूले आफूहरुबीच एकता रहेको पनि सन्देश प्रवाह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]