फिचर

विश्वकप छनोटमा नेपालको ३४ वर्ष : आशाभन्दा बढी निराशा
SHARES

भदौ २५, २०७६

    काठमाडौं : विश्व फुटबलको महाकुम्भव विश्वकप फुटबलमा सहभागीताको अवसर आफैँमा गर्वको कुरा हो। विश्व फुटबल महासंघ (फिफा) का २१० राष्ट्रको एउटै लक्ष्य हो विश्वकप खेल्नु। यसबाट नेपाल पनि टाढा रहन सक्दैन्। भनिन्छ, विश्वकपमा सहभागीता जनाउनुभन्दा पनि छनोट खेल्न अत्यान्तै गाह्रो हुन्छ।

    सन १९३० मा उरुग्बेबाट सुरु भएको विश्व फुटबलको महाकुम्भ छनोटमा योग्य हुन सवैभन्दा पहिलो फिफाको सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ। जुन सौभाग्य नेपालले सन् १९७० पायो। तर १५ वर्षपछि मात्र विश्वकप छनोटमा नेपालको सहभागीता सुनिश्चित भयो। अर्थात् सन् १९८६ को मेक्सिकको विश्वकपका लागि नेपालले छनोट खेल्यो।

    उत्साहजनक पहिलो सहभागीता– सन १९८५

    सन् २ मार्च १९८५ नेपाली पुरुष फुटबलमा स्वर्ण अक्षरले लेखिनुपर्ने मिति। अर्थात् पहिलो विश्वकप छनोट सहभागीता। नेपालले गृहमैदान दशरथ रंगशालाबाट विश्वकप छनोट यात्रा सुरु गर्‍यो। नेपाल रहेको समूहमा दक्षिण कोरिया र मलेसिया थिए। एसियाको पावरहाउस मानिएको कोरियासँग नेपालले लज्जास्पद हार व्यहोर्ने अनुमान गरिएको थियो।

    पूर्वफिफा रेफ्री स्वर्गीय रूपकराज शर्मा नेतृत्वको नेपाली टिमले अप्रत्यासित नतिजा निकाल्दै २-० गोल अन्तरको हार व्यहोर्‍यो। तर पहिलो खेल खल्लो रहयो। आत्मघाती गोलबाट नेपालको विश्वकप छनोट यात्रा सुरु भयो। शर्माले खेलको ३५औँ मिनेटमा आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगे।

    दोश्रो खेल नेपालले मलेसियासँग खेल्नुपर्ने थियो। कोरियामाथि जित दर्ता गरेको मलेसियालाई घरेलु टिमले गोलरहीत बराबरीमा रोक्यो। नेपाली फुटबल इतिहासकै बलियो पुस्ताको अवे प्रर्दशन भने निराशाजनक रहयो। कप्तान रूपकराज शर्माविना नै मलेसियासँग उसको गृहमैदानमा ५-० ले पराजय भोग्यो भने कोरियाले नेपालविरुद्ध ४ गोल थप्यो। अन्ततः जापानलाई पछि पार्दै कोरियाले पहिलो पटक विश्वकपमा सहभागीता जनायो।

    निराशाजनक प्रर्दशन वर्ष-१९८९

    पहिलो सहभागीतामा आफूलाई प्रमाणित गरेको नेपाली टोलीको दोश्रो सहभागीता अपेक्षाकृत रहेन। सन् १९९० को इटाली विश्वकपको लागि पुनः नेपाली टोलीले प्रतिद्वन्दीको रूपमा कोरिया र मलेसियालाई पायो। समूह ४ मा रहेको नेपाली टोलीका लागि अर्को नयाँ प्रतिद्वन्दी थपियो सिंगापुर।

    २३ मेदेखि ७ जुन १९८९ मा भएको छनोटमा भारतसमेत नेपालकै समूहमा थियो। तर, अन्तिम समयमा सहभागीताबाट उसले हात झिके पनि ४ टोलीले प्रतिस्पर्धा गरे। एन्फाका पूर्वअध्यक्ष गणेश थापाको नेतृत्वमा दक्षिण कोरियाको सियोल पुगेको नेपाली टिमले सन् १९८६ को प्रदर्शन कायम राख्न सकेन।

    पहिलो लेगमा ३ टिमविरुद्ध १४ गोल व्यहोर्न पुग्यो। पहिलो खेलमा मलेसियासँग २-० ले पराजित बनेको टोली दोश्रो खेलमा विश्वकपको अनुभव बटुलेको घरेलु टिमले ९-० गोल अन्तरको लज्जास्पद हार चखायो। सिंगापुरले समेत पहिलो लेगमा ३-० ले नेपाली टिमलाई हरायो। पहिलो लेगमा कमजोर प्रर्दशन गरेको नेपाली टिमले दोश्रो लेगमा समेत १४ गोल नै व्यहोर्‍यो।

    कोरियाविरुद्ध सुधारिएको खेल देखाउँदै ४-० ले पराजित नेपाली टिमलाई सिंगापुरले ७–० र मलेसियाले ३–० ले हरायो। एसियाबाट दक्षिण कोरिया र युएईले विश्वकपमा स्थान बनाए। नेपालले विश्वकप छनोटको एउटै संस्करणमा खाएको यो नै सबैभन्दा धेरै गोल हो।

    ८ वर्षपछिको सहभागीता–१९९७

    दोश्रो छनोट जनाएको ८ वर्षपछि नेपालले तेश्रो पटक फ्रान्स विश्वकपको लागि छनोट खेल्यो। १९९३ को सागमा दोश्रो पटक स्वर्ण पदक जितेको नेपाली टोली फर्ममा थियो। तर अघिल्ला २ संस्करणको विश्वकप छनोटमा लज्जास्पद प्रर्दशन लगायतका अन्य कारणले नेपालले सन् १९९४ को विश्वकपको छनोटमा सहभागीता जनाएन।

    सन् १९९८ को फ्रान्स विश्वकपका लागि एसियाली क्षेत्रको छनोट समूह ४ मा रहेको नेपालले पहिलो लेग ओमानमा खेल्यो। नेपाल रहेको समूहमा घरेलु टोलीसँगै जापान र मकाउ पनि थिए। सो संस्करणको छनोट नेपालको लागि यादगार बन्यो पहिलो पटक नेपालले विश्वकप छनोटमा गोल गर्न सफल भयो।

    २३ मार्च १९९७ नेपालका लागि ऐतिहासिक रहृयो। ओमानको राजधानी मस्कटमा मकाउविरुद्धको खेल १–१ गोलको बराबरीमा सकिए पनि नेपालले विश्वकप छनोट चरणमा पहिलो पटक गोलको स्वाद चाख्यो। त्यो सौभाग्य पाउने खेलाडी थिए, हालका नेपाली महिला टिमका प्रशिक्षक हरि खड्का।

    छनोट खेल्न मस्कट पुगेको टोलीका लागि २३औँ मिनेटमा खड्काले बराबरी गोल गरेका थिए। दोश्रो खेलमा घरेलु टोलीविरुद्ध १–० ले पराजित बन्यो। आफूभन्दा निकै शक्तिशाली ओमानलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोश्रो हाफमा गोल खान पुग्यो।

    पहिलो लेगको अन्तिम खेलमा जापानसँग ६-० ले पराजित हुन पुग्यो। टोकियोमा भएको दोश्रो लेगमा ओमानले ६-०, जापानले ४-० र मकाउले २-१ ले नेपाली टिमलाई हरायो। खेलको १९औँ मिनेटमा मकाउविरुद्ध दीपक अमात्यले अग्रता दिलाए पनि जोगाउन नसक्दा नेपाल पराजित बन्यो।

    नेतृत्व विवादले पिल्सिएको वर्ष–२००१

    सन २००२ को जापान-दक्षिण कोरिया विश्वकप छनोट नेपालको लागि मिश्रित रहयो। अखिल नेपाल फुटबल संघमा गणेश थापा र गीता राणाबीचको नेतृत्व विवादका कारण नेपालले छनोट प्रतियोगिता आयोजनाको अवसर गुमायो।

    २५ देखि २९ मार्च २००१ मा छनोटका ६ खेल काठमाडौंमा संचालन हुने तय भएको थियो। तर, अन्त्यमा एएफसीले आयोजना कजाकस्तानको अल्माटीमा गर्ने निर्णय गर्‍यो। इराकले फिफामा प्रोटेस्ट गरेपछि खेल अल्माटी र बग्दादमा भयो। 

    उक्त छनोट प्रतियोगितामा अभ्यास बिना नै इराक र कजाकस्तान पुगेको नेपालले निकै राम्रो प्रदर्शन गर्‍यो। नेपालको समूहमा इराक, कजाकिस्तान र मकाउ थिए। उक्त खेलमा मकाउ विरुद्ध १९९७ को हारको बदला नेपाली टिमले लियो। मकाउलाई उछिन्दै विश्वकप छनोटको समूह चरण सहभागीतामा पहिलो पटक अन्तिम स्थानबाट माथि उक्लियो।

    मकाउविरुद्धको दुवै खेल नेपालको पक्षमा रहयो। पहिलो लेग ४-१ ले जितेको नेपाली टिमले दोश्रो लेग ६-१ ले जित्यो। मकाउविरुद्धको पहिलो जित विश्वकप छनोटमा नेपालको पहिलो सफलता थियो। पूरा छनोट चरणमा निराजन रायमाझीले सात गोल गरेका थिए जसमा इराकविरुद्धको पहिलो ऐतिहासिक गोल पनि थियो। अन्य सबै गोल भने मकाउविरुद्ध थिए।

    मकाउविरुद्धको अन्तिम खेलमा निराजनले ह्याट्रिक गरे भने वसन्त थापा र हरि खड्काले २/२ गोल गरेका थिए। बालगोपाल महर्जन र दीपक लामाको नाममा एक/एक गोल थियो। प्रतियोगिताको कजाकस्तानसँग ६-० र ४-०, इराकसँग ९-१ र ४-२ गोल अन्तरले पराजित भएपछि नेपाल समूहको ४ राष्ट्रमध्ये तेश्रो भयो।

    अभागी वर्ष–२००३

    सन २००२ को छनोटमा उत्साहजनक प्रर्दशन गरेको नेपाली फुटबलले त्यसपछिका ५ वर्षमा खासै उल्लेख्य प्रर्दशन गर्न सकेन्। गणेश थापाको अखिल नेपाल फुटबल संघमा एकाधिकार रहेकै बेला सन २००६ को जर्मनी विश्वकपका लागि भने नेपाली खेलाडी छनोट चरणमा भाग लिनबाट वञ्चित गराइए। सो संस्करणको विश्वकप छनोटमा नयाँ प्रयोगको सुरुवात गरिएको थियो।

    एसियाका ४४ मध्ये ३९ राष्ट्रले मात्र छनोटमा भाग लिएका थिए। अन्तिम १४ वरियतामा रहेका टिमहरूबिच प्रतिस्पर्धा गराएर दोश्रो चरणमा समूह बनाएर खेलाउने। जस अनुसार अन्तिम १४ मा रहेको नेपालले एसियाकै सवैभन्दा कमजोर टोली गुआम प्रतिद्वन्दी पाएको थियो। तर थापा नेतृत्वले विश्वकप छनोटमा सहभागी नगराउँदा पहिलो पटक दोश्रो चरण पुग्ने मौका नेपालले गुमाएको थियो।

    नेपालको अनुपस्थितीमा गुआमले दोश्रो चरणमा स्थान बनाएपनि अन्तमा उस्ले पनि सहभागीता नजनाउँदा लाओसले फाइदा उठायो। फिफाले ‘लक्की लुजर’ टिमको चयन गर्‍यो। पहिलो चरणमा पराजित हुने मध्येको उत्कृष्ट टोलीको रूपमा लाओस दोश्रो चरण पुग्यो।

    पाँचौ सहभागीता वर्ष–२००७

    सन २०१० को दक्षिण अफ्रिका विश्वकपको लागि फिफाले सन २००७ बाटै छनोट थाल्यो।  वरियताका शिर्ष ५ टिमले सीधै तेश्रो चरणमा स्थान बनाउँदा ६ देखि २४ वरीयताका टोलीले २५ देखि ४३ वरीयताका एक टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो। जसअनुसार नेपालले ओमानलाई प्रतिद्वन्दीको रूपमा पाएको थियो। दुवै लेगमा समान २–० ले पराजित बन्दा नेपालको यात्रा पहिलो चरणमा नै समाप्त भयो।

    दोश्रो चरण खेलेको वर्ष–२०११

    सन् २०१० पछिको नेपाली फुटबल उत्कृषको वर्ष थियो। म्याच फिक्सिङले भित्रभित्रै गाज्दै गए पनि ग्राहम रोबर्टसको प्रशिक्षकत्वमा नेपाली फुटबलले एउटा गति लिएकै थियो। २९ जुलाई २०११ फेरि पनि नेपाली फुटबलले सन २००१ को झ-झल्को दियो। १० वर्षपछि विश्वकप छनोटमा नेपालले जित निकाल्यो नवप्रवेशी राष्ट्र इस्ट टिमोरविरुद्ध।

    घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो लेगमा २–१ ले जितेको नेपाली टिमले दोश्रो लेगमा ५–० ले जित्दै दोश्रो चरणमा स्थान बनायो। दोश्रो चरण नेपाली फुटबलमा बिर्सनै नसकिने बन्यो। जोडर्नसँग उसको घरेलु मैदानमा ९-० ले हारेको नेपाली टोलीले अप्रत्यासित रूपमा दशरथ रंगशालमा १–१ को बराबरी निकाल्यो। जुमानु राईको स्थानमा मैदान छिरेका भरत खवासले १-० ले पछि परेको खेललाई ८०औँ मिनेटमा बराबरीमा ल्याए।

    भारतसँग हारेको वर्ष–२०१५

    सन २०१८ को रसिया विश्वकपको छनोटका लागि पहिलो चरणमा एसियाका २५ देखी ४६ औ वरीयतामा रहेका १२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। जसअनुसार नेपालले प्रतिद्वन्दीको रूपमा भारतलाई पाएको थियो। सधै भारतसँग हारेको नेपाली टिमले पहिलो लेग २-० ले पराजय भोग्यो। दोश्रो लेगमा गोलरहीत बराबरी खेले पनि लगातार दोश्रो पटक दोश्रो चरण पुग्ने सपनामा धक्का लाग्यो।

    दबाबको वर्ष-२०१९

    सन् २०२२ को कतार विश्कपको लागि छनोट सुरु भइसकेको छ। एसियाका शीर्ष ३५ वरीयताका टिमले सोझै दोश्रो चरणमा स्थान बनाउने भएको कारण ३५औ स्थानमा रहँदै नेपाल भाग्यमानी सावित भयो। तर, दोश्रो चरणमा नेपालले प्रतिद्वन्दीको रूपमा पाएका ४ मध्ये २ टोलीले विश्वकपको अनुभव बटुलेका छन्। ती टोली हुन कुवेत र अष्ट्रेलिया।

    कुवेतविरुद्ध नेपालले ५ सेप्टेम्बरमा भएको अवे खेलमा ७–० को लज्जास्पद हार व्यहोर्‍यो। तर सेप्टेम्बर १० मा वरीयतामा आफूभन्दा माथि रहेको चाइनिज ताइपेइविरुद्ध २–० को ऐतिहासिक जित निकाल्दै ५ राष्ट्र सम्मिलित खेलमा चौथो स्थानमा उक्लिएको छ। नेपालको जितमा युवा खेलाडी अन्जन विष्टले डेव्यु गोल गरे। २ खेलबाट कुवेतसँग ३ अंक जोडे पनि गोलअन्तरको आधारमा नेपाल चौथो स्थानमा सीमित भएको हो।

    पहिलो खेलमा नै जित निकालेका अष्ट्रेलिया र जोडर्न क्रमशः पहिलो र दोश्रो स्थानमा छन्।  एक महिनापछि अष्ट्रेलियाको गृहमैदानमा नेपालले घरेलु टोलीको सामना गर्नेछ। १५ अक्टोबरमा जोडर्नसँग खेल्दै अबे समाप्त गर्नेछ। त्यसपछि सुरु हुनेछ 'होम गेम'।

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला पुनः निर्माण भइनसकेको कारण नेपालले होम गेम गराउन असर्मथता जनाएपछि फिफाले तालिका परिवर्तन गरी नेपालको अनुकूल बनाइदिएको छ। तर, अझै पनि होम गेमको मिति तय भए पनि स्थान यकिन हुन सकेको छैन। ३४ वर्षको विश्वकप छनोट यात्रा सुखद नरहे पनि केही ऐतिहासिक फडको नेपाली फुटबलले मारेको छ।   

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]