विचार

मस्तिष्क विकासमा ध्यानको भूमिका
SHARES

बैशाख ४, २०७६

    ‘न्युरोप्लास्टिसिटी’ वा ‘न्युरोजेनेसिस्’ के हो?

    संसारको सबैभन्दा जटिलतम वस्तु भनेको ८६ अर्ब ‘न्युरोन्सहरू’को सञ्जालले बनेको मानव मस्तिष्क नै हो। सानो आकारको मानव मस्तिष्क वैज्ञानिकहरूका लागि विशाल अन्तरिक्ष भन्दा कम चुनौतीपूर्ण छैन। तथापि, केही वर्षयता वैज्ञानिकहरूले मस्तिष्कको रहस्यहरू यति प्रचुर मात्रामा उजागर गरेका छन् कि पाँच वर्षयता पत्ता लागेका कुराहरू पाँच हजार वर्षसम्म पत्ता लागेका कुराहरूका तुलनामा भारी हुन आउँछ। यसरी तीव्रत्तर रूपमा अनुसन्धान हुँदै गर्दा हिजो सत्य लाग्ने कतिपय कुराहरू आज मिथ्या साबित हुँदै छन्। केही वर्ष अगाडिसम्म किशोर अवस्थापश्चात् मस्तिष्कको विकासमा स्थिरता आउँछ भन्ने वैज्ञानिकहरूका लागि सत्य थियो। तर समयक्रममा मानव मस्तिष्क आजीवन निरन्तर विकास भइरहने कुरा पत्ता लाग्दा वैज्ञानिकहरू आश्चर्यमा परेका थिए। तर आज यो सामान्य विषय हो। मस्तिष्कको यही निरन्तर विकास हुनसक्ने स्वभावलाई ‘न्युरोप्लास्टिसिटी’ वा ‘न्युरोजेनेसिस्’ भनिन्छ। 

    ‘न्युरोप्लास्टिसिटी’लाई समान्यकरण गरेर बुझ्ने सन्दर्भमा सहरमा भएका बाटाहरूका उदाहरण एकदमै उपयुक्त हुन आउँछ। सहरमा हजारौँ चोकहरू अनि ती चोकहरूलाई जोड्न हजारौँ बाटाहरूका सञ्जाल भए जस्तै मस्तिष्कमा ८६ अर्ब न्यूरोन्स छन् र तिनहरू एक आपसमा ‘सिनाप्स’का (‘सिनाप्स’ न्युरानेहरूलाई जोड्ने कुरा) सञ्जालले जोडिएका हुन्छन्। जुन बाटोहरूमा जति मात्रामा सवारी आवत आवतजावत हुन्छन् त्यहीँ मात्रामा हामीले बाटोहरूलाई फराकिलो बनाउछौँ र पिच गर्छौँ अनि मानिसहरूले हिँड्न छाडेका गोरेटोहरू आफैँ हराउँदै जान्छन्। त्यस्तै प्रयोगमा आइरहेका ‘न्यूरलकनेक्सन्’ मजबुत हुँदै जाने हुन्छ भने प्रयोगमा नआएका ‘न्यूरलकनेक्सन्’ कमजोर हुँदै जान्छन्। जसरी बाटाहरू प्रयोगमा आउनुको अर्थ गाडीहरूले समान र मान्छे ओसारपसार गर्नु हो। त्यस्तै ‘न्यूरल कनेक्सन्’ प्रयोगमा आउनुको अर्थ ‘इलेक्ट्रिकल’ र ‘केमिकल सिग्नल’को माध्यमद्वारा ‘न्यूरोन’ र ‘न्यूरोन’का बीचमा सूचनाहरूको आदानप्रदान हुनु हो।  

    मस्तिष्कको यस्तो परिवर्तित स्वभावलाई नै ‘न्यूरोप्लास्टिसिटी’ भनिन्छ। तर सबै मानिसको हकमा मस्तिष्कको यस्तो परिवर्तित हुने स्वभाव उस्तै गतिको हुँदैन। मानिसमा भएको नयाँ कुरा ग्रहण गर्ने वा सिक्ने स्वभाव, शारीरिक कसरत, निदाउने मात्रा र समय तालिका, दैनिकी, मस्तिष्कलाई आवश्यक पर्ने तत्त्व भएका खानेकुराहरू खानुलगायतले ‘न्यूरोप्लास्टिसिटी’को गति निर्धारण गर्छ।      

    हामीले गरेका कार्य, सोचाइ र भावनात्मक अनुभुतिहरूका कारण, क्षणक्षणमा मस्तिष्कमा केही न केही ‘न्यूरल कनेक्सन्’ हुँदै र हराउँदै गरेको हुन्छ। दोहोरिएका कार्य, सोचाइ र भावनात्मक अनुभूतिहरूका कारण केही ‘न्यूरल कनेन्सन’हरू झन् मजबुत हुँदै जान्छन् भने अन्य ‘न्यूरल कनेक्सन’हरू कम्जोर हुँदै जान्छन्। जस्तो कि सधैँ किताब पढ्ने गरेको छ भने पढ्दा प्रयोगमा आउने ‘न्यूरल कनेक्सन’ मजबुत हुँदै आउँछ। अनि क्रमशः पढ्न छाड्दै गएमा त्यो ‘न्यूरल कनेक्स’ पुनः कम्जोर हुँदै जान्छ। त्यस्तै कहिल्यै सङ्गीत नसिकेको मानिसको मस्तिष्कमा सङ्गीत सिक्दा प्रयोगमा आउने ‘न्यूरल कनेक्सन’ देखा पर्दैन। तर पनि पछि गएर निरन्तर सङ्गीत सिक्दै गएमा सङ्गीत सिक्दा आवश्यक पर्ने ‘न्यूरल कनेन्सन’ देखा पर्ने र क्रमशः मजबुत हुँदै आउने हुन्छ। मस्तिष्कको यस्तो परिवर्तित स्वभावलाई नै ‘न्यूरोप्लास्टिसिटी’ भनिन्छ। तर सबै मानिसको हकमा मस्तिष्कको यस्तो परिवर्तित हुने स्वभाव उस्तै गतिको हुँदैन। मानिसमा भएको नयाँ कुरा ग्रहण गर्ने वा सिक्ने स्वभाव, शारीरिक कसरत, निदाउने मात्रा र समय तालिका, दैनिकी, मस्तिष्कलाई आवश्यक पर्ने तत्त्व भएका खानेकुराहरू खानुलगायतले ‘न्यूरोप्लास्टिसिटी’को गति निर्धारण गर्छ।      

    मस्तिष्कमा हुने अन्तरसंघर्ष हरू जसका कारण ‘न्यूरोप्लास्टिसिटी’ मा अवरोध हुन्छ: 

    मस्तिष्कमा चार प्रकारका अन्तरसंघर्ष  हुन्छन्। त्यस्ता अन्तरसंघर्ष का कारण नै मस्तिष्कले पूर्ण रूपमा काम गर्न नसक्ने हुन्छ।

    पहिलो, जब हामी दोमनमा हुन्छौँ वा जब हामीमा एकै समयमा विपरीत विचार वा भाव आउँछ तब हाम्रो मस्तिष्कमा त्यस्ता दुवै किसिमका विचार वा भावनालाई प्रतिनिधित्व गर्ने ‘न्यूरल कनेक्सन’ देखा पर्दछ। यसरी विपरीत प्रवृत्तिका सूचना बोकेका ‘न्यूरल कनेक्स’का अन्तरसङ्घर्षका कारण हाम्रो मस्तिष्कको क्षमतामा ह्रास आउँछ। 

    दोस्रो, मस्तिष्कको देब्रे गोलार्द्ध र दाहिने गोलार्द्धबीचमा हुने अन्तरसंघर्ष हो। मस्तिष्कको देब्रे गोलार्द्ध र दाहिने गोलार्द्ध पृथक् मात्रै छैनन्, विपरीत पनि छन्। देब्रे गोलार्द्ध विचार प्रधान हुन्छ भने दाहिने भावना प्रधान। मस्तिष्कका यी दुई विपरीत भागले एकै घटना वा विषयमा, एकै समयमा विपरीत तरिकाले प्रतिक्रिया दिने हुँदा यी दुई मस्तिष्कमा अन्तरसंघर्ष भइरहन्छ।

    तेस्रो, आजको मानव मस्तिष्क समयको क्रमसँगै विकास हुँदै आएको हो। मानव मस्तिष्कमा केही भाग हामी मानिसमा रूपान्तरित हुनुअघि अर्कै जनावरका रूपमा यो पृथ्वीमा रहेर क्रमशः विकास भएका छन्। त्यस्तै मस्तिष्कका केही भाग मानिस पूर्ण रूपमा सभ्य नभई जङ्गली युगताका विकास भएको थियो। अनि केही भाग पछिल्लो समयमा विकास भएको हो। विशेषतः प्राकृतिक स्वभावसँग सरोकार राख्ने भाग ‘बेसल ग्याङलिया’, त्यसपछि भावनासँग सरोकार राख्ने भाग ‘लिम्बिक सिस्टम’ र क्रमशः बुद्धिसँग सरोकार राख्ने भाग गरी मस्तिष्कको विकास भएको हो। मस्तिष्कको प्राकृतिक स्वभाव र भावनासँग सरोकार राख्ने भागहरू र विचारसँग सरोकार राख्ने भागहरू ‘सेरिब्रल निओकोर्टेक्स’बीच पनि अन्तर संघर्ष भइरहेको हुन्छ।

    चौथो, संघर्ष स्वयं र बाँकी जगतबीचको हो। तर स्वयंलाई बाँकी संसारभन्दा भिन्न ठान्ने मानिसको मस्तिष्कमा यस्तो संघर्ष निरन्तर हुन्छ भने आफ्नो अस्तित्व बाहिरी जगतको अस्तित्वसँग जोडिएको छ भन्ने विचार भएकाहरूमा स्वयं र बाँकी जगतबीचको संघर्ष रहँदैन। 

    हामी यो जगतको अस्तित्वसँग अभिन्न छौँ भन्ने कुरा केवल सिद्धान्त होइन। हाम्रो मस्तिष्कका विभिन्न भागहरूमा केही यस्ता ‘न्यूरोन’हरू छन् जसले अरू र आफूमा फरक छुट्टाउन सक्दैन, जसलाई ‘मिरर न्यूरोन’ भनिन्छ। स्वयंले केही कार्य गर्दै गरेको अवस्था र अरूले सोही कार्य गरेको अवस्थामा ‘मिरर न्यूरोनहरू’ उसै गरी क्रियाशील हुन्छन्। 

    मस्तिष्कमा देखिने यस्ता अन्तर सङ्घर्षहरूका कारण ऊर्जा खेर जाने भई ‘न्यूरोप्लास्टिसिटी’ अर्थात् मस्तिष्कको निरन्तरको विकास क्रममा बाधा पुगेको हुन्छ।  

    ‘न्युरोप्लास्टिसिटी’को गतिको तीव्रतामा ध्यानको भूमिका 

    हामीले गरेको कार्य, शरिरीक र भावनात्मक अवस्था, विचार, हाम्रो दैनिकी, खानपान, वातावरणलगायतले पनि हाम्रो मस्तिष्कमा उत्पन्न हुने न्यूरोन र न्यूरोनविचको विद्युतीय र रसायनिक सञ्चारलाई निरन्तर प्रभाव पारिरहेको हुन्छ।

    यसको अर्थ हाम्रो सोचाई र भावनामा प्रभाव परेको हुन्छ। यसरी स्वचालित रूपमा उत्पन्न हुने न्यूरोन र न्यूरोनबीचको विद्युतीय र रसायनिक सञ्चारका कारण विकास भएको विचारहरू र भावनाहरू तत् क्षणमा उत्पन्न मात्र नभई अचेतन मनमा भविष्यमा प्रभाव पार्ने गरेर सञ्चित भएर बसेको हुन्छ। जस्तै कोही मानिसप्रति नकारात्मक भाव आयो भने ती भावनाहरू सञ्चित भएर बस्छन्। अनि जब भविष्यमा सम्बन्धित मानिसले केही नराम्रो काम गरेको देख्दै गर्दा मस्तिष्कमा सञ्चित भएर बसेका नकारात्मक भावहरू अचेतनबाट चेतन मनमा आउँछन्।

    सामान्यतया हाम्रो मस्तिष्कले के कुरा ग्रहण गर्ने वा के कुरा ग्रहण नगर्ने भन्ने हाम्रो अधीनमा छैन। यसरी मस्तिष्कमा स्वचालित रूपमा परिचालित हुँदा विचार, भावना अनुकूल हुने मात्रै नभई थुप्रै पटक हाम्रो प्रतिकुल पनि हुन सक्छन्। त्यस्तै मस्तिष्कमा जम्मा भएर रहनाका कारण भविष्यमा पनि तिनले नकारात्मक असर पार्ने हुन्छ। मस्तिष्क स्वचालित भईदिँदा हाम्रो मनोदशा हाम्रो बसमा नभई हामीमा व्याकुलता आउँछ। धेरै कुराहरू हाम्रा नियन्त्रणमा नहुँदा हामीमा हीनभावको विकास हुन्छ। 

    ध्यान भन्नु नै हरेक क्षणमा शरीरमा आउने संवेदनालाई, हृदयमा आउने भावनालाई, मस्तिष्कमा आउने विचारलाई र हामीले गर्ने हरेक कार्यप्रति होसपूर्ण भएर हेर्नु हो। जब हामी होसपूर्ण भएर शरीर, भावना, विचार र कार्यलाई हेर्छौँ। यी कुराले हाम्रो मस्तिष्कमा पारिरहेको प्रभावबारे हामी जागरुक हुन्छौँ। 

    मैत्री भावनाको विकासले साधकमा ‘म’ भन्ने भाव हराएर स्वयंलाई सम्पूर्ण अस्तित्वको अंशको रूपमा स्विकार्ने चित्त विकास भएको हुन्छ। यसरी स्वयं र बाँकी जगतमा भिन्नता नदेख्दा स्वयं र बाँकी जगतबीच सघर्ष पनि हराएर जान्छ।

    यसरी जागरुक भइरहँदा केही हदसम्म मस्तिष्कलाई के कुरा दिने वा के नदिने भन्नेमा समेत हामीले नियन्त्रण गर्न सक्छौँ। यद्यपि मस्तिष्कमा प्रतिकुल हुने ‘न्यूरल कनेन्सन’ विकास भई प्रतिकुल विचार र भावना पनि उत्पन्न त भएका हुन्छन् तर जागरुकताका कारण प्रतिकुल हुने खालका प्रतिक्रियाहरू भविष्यका लागि भने सञ्चित भएका हुँदैनन्। जब हामीले धेरै हदसम्म विचार वा भावनालाई नियन्त्रणमा राख्न सक्छौँ। स्वनियन्त्रित हुन सक्ने भएकोले हामीमा आत्मविश्वास बढ्न गई मस्तिष्क शान्त हुन्छ। 

    मस्तिष्कलाई के ग्रहण गर्न दिने वा नदिने भन्ने कुराको निन्त्रणका कारण हामीलाई प्रतिकुल हुने कुराहरू मस्तिष्कमा संग्रहित हुँन नदिँदा विस्तारै मस्तिष्कमा देखिएका प्रतिकुल खालका ‘न्यूरल कनेक्सन’ कम्जोर हुँदै जान गई एउटा अवस्थामा विपरीत खालका ‘न्यूरल कनेक्स’बाट हुने सङ्घर्षको अन्त हुन्छ। त्यस्तै भावना र विचार नियन्त्रणमा आई मस्तिष्कको देब्रे गोलार्द्ध र दाहिने गोलार्द्ध पनि एक अर्कोमा संघर्ष नगरेर मिलेर काम गर्ने हुन्छ। त्यस्तै क्रमिक विकास भएको मस्तिष्कका तीन वटै भागहरू प्राकृतिक स्वभाव, भावना र बुद्धिसँग सरोकार राख्ने भागहरूका अन्तरसंघर्ष पनि हुँदै जान्छ।    

    ध्यानको दौरान साधकमा मैत्री भावना विकासको विशेष महत्त्व हुन्छ। मैत्री भावनाको अभ्यास विना कुनै पनि ध्यान अपूर्ण हुन्छ। मैत्रीभावको अर्थ यो चराचर जगतमा भएको देखिने र नदेखिने सम्पूर्ण सजीव प्राणीहरूको कल्याण गर्ने चित्तको विकास गर्नु हो। मैत्री भावनाको विकासले साधकमा ‘म’ भन्ने भाव हराएर स्वयंलाई सम्पूर्ण अस्तित्वको अंशको रूपमा स्विकार्ने चित्त विकास भएको हुन्छ। यसरी स्वयं र बाँकी जगतमा भिन्नता नदेख्दा स्वयं र बाँकी जगतबीच सघर्ष पनि हराएर जान्छ।

    यसरी ध्यानले मस्तिष्कमा देखिने अन्तरसंघर्ष हराउन गई मस्तिष्क शान्त हुन्छ। शान्त मस्तिष्कमा खुसी गराउने रसायनको मात्रा बढ्ने र अनावश्यक रूपमा मस्तिष्कमा उर्चाको खपत पनि घट्ने भई ‘न्यूरोप्लास्टिसिटी’को गतिले तीव्रता पाउने हुन्छ।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]