विचार

मानसिक रूपान्तरणको एक मात्रै मार्ग ध्यान
SHARES

चैत १५, २०७५

    मानसिक सन्तुलन गुमाएको मानिसले बोलेका कुरा पाँच मिनेट रेकड गर्नुहोस्। अब तपाईँ स्वयं पाँच मिनेटका लागि आँखा चिम्म गर्नुहोस्। अनि मनमा आएका सबै विचारहरूलाई नछुटाई लेख्नुहोस्। अनि आफूले लेखेका कुराहरूलाई पढ्दै अडियो रेकर्ड गर्नुहोस्। अनि पहिला रेकर्ड गरिएको अडियोसँग तपाईँको आफ्नो रेकर्ड दाज्नुहोस्। तपाईँ आश्चर्यमा पर्नुहुनेछ कि तपाईँमा त्यो मानसिक सन्तुलन गुमाएको मानिसमा भन्दा पागलपनको मात्रामा केही कमी देखिने छैन। 

    हाम्रो मनमा निरन्तर, निन्द्राको अवस्थामा पनि के के विचार आइरहेको हुन्छ, अहँ हामीलाई होसै हुँदैन। भौतिक रूपमा त यहाँ अहिले हुनुहुन्छ तर तपाईँको मन यतिखेर अर्कै दुनियाँमा हराइरहेको हुनसक्छ। खाना खाँदै गरिरहँदा तपाईँको मन चाहिँ साथीहरूसँग मनोहर ठाउँमा घुम्दै गरेको हुनसक्छ। वैज्ञानिकहरूका मतमा स्वस्थ मानिसमा औसत ४६ प्रतिशत अवस्थामा मानिसको मन अन्तै हुन्छ। यही तादव्यताको अभावलाई अध्यात्म जगतमा बेहोसी भनिएको हो। यही बेहोसी नै दुःखको कारण हो। 

    मन एक प्रक्रिया हो। आधुनिक विज्ञानका अनुसार एक स्वास्थ्य मानिसको मनमा एक दिनमा ६०,००० देखि ८०,००० विचारहरू आउँछन्। भगवान् बुद्धका अनुसार त झन् मानिसले एक चोटि आँखा झिमिक्क गर्दा करोडौँ पटक चित्तको उत्पत्ति हुन्छ। बुद्धले भनेको चित्तको प्रसङ्गमा चाहिँ विचार, भावना, अनुभूति, इच्छा आदि सबै कुरा समेटिएका छन्। यति बिग्न वेगवान मन शरीरसँग कसरी तालमेल हुनसक्छ? वस्तुतः मन नै दुःख हो। 

    मानसिक रूपान्तरणको एक मात्रै मार्ग ध्यान

    ध्यान स्व हुनुको अवस्था हो। मन ‘म’ भाव अर्थात् अहङ्कार हुनुको अवस्था हो। स्व हुनु र ‘म’ भाव हुनुमा आकाश जमिनको फरक छ। स्व अर्थात् तपाईँ अस्तित्व हो। तर तपाईँमा भएको ‘म’ भाव अर्थात् आफ्नै बारेमा ‘म’ यो र यस्तो हुँ भन्ने मन मनोवैज्ञानिक आयाम मात्रै हो। तपाईँ सत्य हो तर मन भ्रान्ति। ‘म’ भाव हुनु कै कारणले नै हामीलाई स्व हुनुको अनुभूति छैन। अथार्त मन हुनुको कारण नै ध्यान छैन। ध्यान अमनको अवस्था हो। अनि मनका कारण बहोसी छ। ध्यान होस्पूर्ण अवस्था हो। 

    जसरी अँध्यारो नहुनु नै उज्यालो हो, त्यस्तै बेहोसी नहुनु नै होसपूर्ण हुनु हो। होसपूर्ण अवस्था नै ध्यान हो। कर्ताभाव (कर्ममात्रै होइन विचार र भावना पनि कर्म नै हुन्) नहुनु नै निस्कर्मभावको अवस्था हो। निष्कर्मभावको अवस्था नै ध्यान हो। त्यस्तै भुक्तभाव नहुनुको अवस्था नै साक्षी हुनु हो। साक्षी हुनु नै ध्यान हो। मनमा व्याकुलता नहुनु नै आनन्द हो। अमनको आनन्द नै ध्यान हो। 

    बेहोसीमा मन बेलगाम दौडन्छ। प्रयत्न मनका लागि खाना हो। भोग्नु मनका लागि इन्धन हो। मनलाई बलियो बनाउने खुराकमा रोक लगाउनाले मन कमजोर हुँदै जान्छ। अर्थात केही गर्न सकिन्छ भने मनको सन्दर्भमा गर्न सकिन्छ। ध्यानको सन्दर्भमा केही गर्न सम्भव नै हुँदैन। ध्यान भन्नु नै समग्र अस्तित्वभन्दा मेरा अस्तित्व पृथक् छैन भन्ने बोध हो। अस्तित्वका सन्दर्भमा केही गर्न कसरी सम्भव हुन्छ? केही गर्न सम्भव छ भने मनोवैज्ञानिक आयाम मनको सन्दर्भमा मात्रै गर्न सकिन्छ। 

    ध्यान के हो?

    सामान्य रूपमा ध्यानको अर्थ मानसिक शक्ति अर्थात् चेतनालाई कुनै शारीरिक वा मानसिक कार्य गर्न केन्द्रीकृत गर्नु हो। अध्यात्ममा ध्यानको दुई अर्थ लाग्छ, एउटा अभ्यासका रूपमा र अर्को अवस्थाका रूपमा। 

    १. अभ्यासका रूपमा ध्यान

    अभ्यासका रूपमा ध्यानको अर्थ चेतनालाई परिश्रमपूर्वक आन्तरिक रूपमा शरीर र मनमा केन्द्रित गरी होस्पूर्वक हेर्नु हो। यो प्रक्रियामा सुरुको चरणमा चेतनालाई शरीरको कुनै एक भागमा केन्द्रित गर्नुपर्छ। यसरी केन्द्रित गरेको स्थानलाई अभ्याससँगै झन्झन् साँगुरो पार्दै सानोभन्दा सानो क्षेत्रमा चेतनालाई केन्द्रित गर्दै लैजानु पर्छ। शरीरमा यसरी चेतना केन्द्रित गरिरहँदा सो स्थानमा हुँदै गरेको संवेदना जस्तो छ त्यसलाई कुनै प्रतिक्रिया विना होस् राखेर नियाल्दै जानुपर्छ। 

    यसरी शरीर नियाल्दै जाँदा चेतना तृष्णा हुँदै जान्छ। दोस्रो चरणमा साधकले शरीर अझै मनप्रति पनि होस् राख्न सक्ने हुन्छ। मनप्रति होस् राख्नुको अर्थ विचार, भावना, अनुभूति र इच्छा आदिप्रति होस्‌पूर्ण हुनु हो।  

    यसबाहेक नित्यकर्मका दौरान हिँडेको, खाएको जस्ता क्रिया गर्दैगर्दा पनि शरीर र मनको अवस्थाप्रति होस् राख्नुपर्छ। यसकारण ध्यान शिविरहरूमा साधकहरूले आफ्ना नित्यकर्म कुनै रोगी मानिसले जस्तै निक्कै नै सुस्त रूपमा र एक पटकमा केवल एउटा मात्रै काम गर्नुपर्ने हुन्छ। यतिसम्म कि कुनै कामको दौरान विचार आयो भने गर्दै गरेको काम केही क्षणलाई स्थगित गरेर विचारप्रति होसपूर्ण हुनुपर्छ।     

    २. अवस्थाका रूपमा ध्यान

    हामीले बोल्दा, हेर्दा, सुन्दा, स्पर्श गर्दा, हिँड्दा, विचार गर्दा वा अन्य कुनै कार्य गर्दा निरन्तर रूपमा हाम्रो चेतना बाहिर गइरहेको हुन्छ, जसका करण हाम्रो शरीरमा उत्पन्न भएको ऊर्जा निरन्तर रूपमा शरीरबाट बाहिर बगिरहेको हुन्छ। ध्यानको अभ्यास गर्दा हामी आँखा बन्द गर्छौँ। मौन बस्छौँ। कुनै कुरा सुन्नुमा श्रम पनि गर्दैनौँ। नित्यकर्मबाहेक अरू कामहरू स्थगित गर्छौँ। सकेसम्म विचारमा नियन्त्रण गर्छौँ। यसरी ध्यानको अभ्यासका दौरान बाहिर जाने चेतना स्व केन्द्रित हुन थाल्छ। जब हामीले चेतनालाई स्व केन्द्रित गर्न थाल्दछौँ। स्वस्फूर्त रूपमा हाम्रो ऊर्जाको आन्तरिक बहाव सम्भव हुन्छ। ऊर्जा जता बग्छ हाम्रो चेतना आफसेआफ त्यतै केन्द्रित हुन्छ। ऊर्जा निरन्तर रूपमा शरीरबाट सुष्म शरीरतिर बहने अवस्था नै ध्यानको अवस्था हो। यस्तो अवस्थामा बिना परिश्रम चौबिसै घण्टा साधक आफ्नो शरीर र मनको अवस्थाप्रति होस्‌पूर्ण हुन्छ।

    जसरी एउटा अणुको अध्ययनले विशाल व्रम्हाण बुझ्न सकिन्छ। त्यस्तै स्वयंको अनुभूति गर्दा समग्र अस्तित्वबोध सम्भव हुन्छ। आजको अवस्थासम्म मानिस आइपुग्नुमा प्रकृतिको लाखौँ वर्षको क्रियाशीलता छ। मानव मस्तिष्क, लाखौँ वर्षसम्म अस्तित्वले सञ्चित गरेको चेतनाको वर्तमान रूप हो। स्वयंको गहिरो बोधले नै संसारको ज्ञान गराउँछ। अस्तित्वको बोध गराउँछ। 

    साक्षीभाव के हो?

    साक्षीभाव के हो? यो बुझाउने सन्दर्भमा एउटा उदाहरण भन्न चाहन्छु। अमेरिकामा कुनै एक नागरिकको घर भत्कनु तपाईँको चासोको विषय हुँदैन। काठमाडौंमा बस्नुहुन्छ भने विराटनगरमा कुनै घर भत्कनु तपाईँका लागि सामान्य समाचार हो। तपाईँ कै टोलमा घर भत्कनु तपाईँको चासोको विषय बन्छ। तपाईँको छिमेकीको घर भत्कियो भने तपाईँलाई दुःख लाग्छ। तपाईँको दाइको घर भत्किए निक्कै नै दुःख लाग्छ। तपाईँको आफ्नै घर भत्किए सहनु नसक्नुको अचाक्ली पीडा हुन्छ। यसबाट के बुझिन्छ भने घर भत्कनु समस्या होइन। मेरो भन्ने भावना चाहिँ समस्या हो। जुन घर भत्कदा जति मात्रामा मेरो भन्ने भाव हुन्छ त्यही मात्रामा दुःख हुन्छ। मेरो देश, मेरो सहर, मेरो टोल, मेरो छिमेकी, मेरो दाइ र मेरोमा, क्रमशः मेरोको मात्रा बढ्दै जानुका कारणले क्रमशः दुःखको मात्रा बढ्दै गएको हो। वास्तवमा अमेरिकामा दुई सय जना मानिस मर्नुभन्दा मेरो मनपर्ने सटको टाक चुँडिदा मन दुख्छ। यही मेरो भन्ने भावना नै भुक्तभाव अर्थात् भोग्नु हो। यदि यी अवस्थाहरूमा मरो भन्ने भाव नहुँदो हो त जो सुकैको घर भत्के पनि कुरा एकै हुने थियो। साक्षी हुनुको अर्थ आफैँलाई दुख्दा नि सिनेमा हेरेको जसरी हेर्न सक्नु हो, जहाँ मेरो भन्ने भावना हुँदैन।   

    सुन्दा अचम्म लागे पनि यो अवस्थामा मानिस पुग्न सक्छ। ध्यानको उद्देश्य नै साक्षीभावको विकास गर्नु हो। ध्यान भन्नु आफैँलाई हेर्नु हो। आफूभित्रको संवेदना, चित्तको अवस्थालाई र स्वयंले गर्दै गरेको क्रियालाई तटस्थ भएर हेर्नु हो। यसरी होसपूर्णसँग आफैँलाई हेर्दै जाँदा नै साक्षीभावको विकास हुन्छ।

    उदाहरणका लागि, अस्कर हामीले कुनै वस्तु हेर्दा, हेर्ने र हेरेको वस्तु दुई फरक कुरा हुन्। तर त्यहाँ केही छुट्टिएको छ। जो आम सन्दर्भमा महसुस गरिएको हुँदैन। हामीभित्र कोही छ, जसलाई थाहा हुन्छ कि त्यहाँ हेरिएको वस्तुसँगै हेर्दै गर्ने पनि कोही छ। मानिलिँऊ हामीले सिनेमा हेर्दै छौँ। सामान्यतः हामीले सिनेमा हेर्दा आफैँप्रति र हेरिरहेको कार्यप्रति होस् नराखेर सिनेमा हेर्छौँ। यस्तो अवस्थामा हेर्न मानिस (द्रष्टा) र सिनेमा (दृश्य) दुई फरक कुरा हुन्। तर जब हामीले आफैँप्रति र हेर्दै गरेको क्रियाप्रति होस् राखेर आफू, आफ्नो क्रिया र सिनेमालाई एकैचोटि हेर्दछौँ, त्यस्तो बेला दृश्यका रूपमा हेर्ने मानिस, हेर्ने कर्म र सिनेमा संयुक्त रूपमा देखा पर्छ। अर्थात् यस्तो अवस्थामा द्रष्टा, क्रिया र दृश्य एउटै हो। अनि फेरि हेर्ने र हेरिएको मानिस दुई फरक मानिस नभएर एकै हुन्। कर्ता, क्रिया र वस्तु एकै हुने अवस्थामा कर्ताभाव अर्थात् मैले काम गरेको हुँ भन्ने भावको अस्तित्व नहुने हुँदा यस्तो अवस्था नै साक्षी हुनुको अवस्था हो।  

    साक्षीभावमा ‘म’ र ‘मेरो’ भाव नहुने कारण दुःख र सुखमा, उत्सव र शोकमा, जीवन र मृत्युमा कुनै विभेद हुँदैन। साक्षीभावमा परिवार र अपरिचितमा पनि विभेद हुँदैन। साक्षी भावमा सबै मानिस सबै अवस्था उस्तै हो। 

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]