फिचर

मिछुर्लुङ मगर होमस्टेः कौह्राको स्वाद

माघ ८, २०७५

    काठमाडौं : हाम्रो घरमा आउनुहुने अतिथी र पाहुनालाई, 

           फूलैफूलले स्वागत गरौंला

    मगर तथा गुरूङ जातिको मौलिक नाचमा गाइने कौह्राको एक लाइन हो यो। तनहुँको भिमादस्थित मगर होमस्टेमा जाँदा पाहुनाले यस्तै कौह्रा गीत र नाचबाट स्वागत हुने मौका पाउँछन्।

    काठमाडौंबाट करिब पाँच घण्टाको यात्रा पूरा गरेपछि पुगिन्छ तनहुँ जिल्लाको भिमादस्थित एउटा सुन्दर मगर गाउँ। तनहुँ आफैमा मगर जातिको बसोबास भएको क्षेत्र हो। मगर  भाषा, संस्कृति, संस्कारको सिंगो पहिचान बोकेको क्षेत्र समेत हो तनहुँ।

    यही जिल्लाको भिमाद नगरपालिका ५ स्थित मिछुर्लुङ गाउँ मगर गाउँ हो। मगर भाषामा मि-आगो। छुरू-चामल। धुम-ढुंगा। यी तिन शब्द मिछुरूधुम अपभ्रंश भएर मिछुर्लुङ भएको स्थानीय बताउछन्।

    केही वर्ष यता मिछुर्लुङको नयाँ परिचय थपिएको छ। 'मिछुर्लुङ सामुदायिक होमस्टे'। ६४ घरधुरी रहेको यो गाउँमा २/४ घर दलित बाहेक सबै मगर जाति छन्। जसमध्ये १४ घरमा अहिले होमस्टे अर्थात् 'घरबास' सञ्चालन गरिएको छ।

    २०७१ सालबाट मिछुर्लुङमा होमस्टे बनाउन पहल गरिएको हो। सोही अन्तर्गत ०७१ सालको भदौ २६ गते समिति गठन गरियो। होमस्टे भने कार्तिक महिनाबाट सुरु भयो। होमस्टेको मापदण्डअनुसार मात्रै सञ्चालन गर्नुपर्ने भएकाले त्यसअनुसार नै होमस्टे सुरु गरिएको मिछुर्लुङ सामुदायिक होमस्टे सञ्चालन समितिका अध्यक्ष नरेन्द्र थापामगर बताउछन्। यसलाई भिमादको मगर होमस्टे भनेर समेत धेरैले चिन्ने गर्छन्। सुरुमा १२ घरबाट सुरु गरिएको होमस्टे अहिले १४ घरमा सञ्चालन भइरहेको छ।

    कसरी पुग्ने ?

    काठमाडौंबाट १८३ किलोमिटरको यात्रा पार गरेपछि तनहुँको खैरेनिटार पुगिन्छ। भने पोखराबाट ३३ किलोमिटर यात्रा गरेपछि खैरेनी पुगिन्छ। खैरेनीबाट १२ किलोमिटर यात्रा गरेपछि मिछुर्लुङ होमस्टेमा पुग्न सकिन्छ। केही पक्की र केही ग्राभेल सडक रहेको यस क्षेत्रमा सहजै गाडी जानसक्ने अवस्था छ।

    के खाने ?

    मिछुर्लुङ मगर होमस्टे हो। त्यसकारण यहाँ मगर समुदायले खाने परिकार नै खान पाइन्छ। कोदो, मकैका परिकारहरू ढिंडो, रोटी, गुन्द्रुक यहाँका विशेष परिकार हुन्। मगर गाउँ भएकाले बंगुरको मासु, लोकल खुकुरा खान पाइन्छ पाहुनाको मागअनुसार। यो होमस्टेमा बाहिरको कुरा प्रायः चल्दैन। दाल, भात, तरकारी सबै कुरा स्थानीय उत्पादनको हुनुपर्छ।

    के हेर्ने ?

    यो होमस्टेमा गएपछि मगर संस्कृति हेर्न पाउछौँ। होमस्टे समितिले छुट्टै सांस्कृतिक उपसमिति बनाएको छ। जसले पाहुनाको मागअनुसार बेलुकी २ घण्टा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्छ। समितिले मगर जातिको मौलिक संस्कृति कौह्रा, झ्याउरे, सालैजो, नचरी नाच देखाउने गर्छ। त्यसबापत पाहुनाले ३ हजार रूपैयाँ शुल्क तिर्नुपर्छ।

    समुहका लागि उक्त शुल्क तोकिएको हो। १/२ जनाको समुह भएमा भने अनिवार्य शुल्क लाग्दैन तर सांस्कृतिक समुहको मेहनत हेरेर पाहुनाले आफ्नो इच्छाले केही रकम भने दिन सक्छन्। यो होमस्टेमा जाने भनेकै मगर संस्कृति हेर्न जाने हो। सँगै यस आसपासका रिसिङ घिरिङको डाँडा (राजाहरू बसेको ठाउँ) पनि हेर्न सकिन्छ।

    होमस्टे सञ्चालन समितिको आफ्नै नियम छ। होमस्टेमा जाँदा के पालना गर्ने र पाहुनालाई कसरी सन्तुष्ट पार्ने भन्ने। यहासम्म पुगेपछि पाहुनाका लागि प्याकेज सुबिधा छ। एक रात दुई दिनको प्रतिव्यक्ति ८ सय रूपैयाँ मात्रै लाग्छ। जसमा बेलुकीको खाजा, बेलुकीको खाना र बिहानको खाजा हुन्छ। माग बढी भएमा त्यसैअनुसार होमस्टे समितिले निर्णय गर्छ।

    यसबाहेक यस होमस्टेमा एउटा नियम छ जो समितिका सदस्यलाई मात्र लागु हुन्छ। जसअनुसार सुंगुर र खसी सबै घरले अनिवार्य रूपले पाल्नुपर्ने नियम छ। जो बाहिर बेच्न पाइदैन। समितिले निर्धारण गरेको दररेटमा सोही गाउँमा मात्र बेच्न पाउने नियम बनाइएको छ।

    स्थानीय सरकार आएपछि होमस्टे अहिले दर्ता गरेर व्यवस्थित रूपमा सञ्चालन गरिएको समितिका अध्यक्ष थापामगर बताउँछन्। पछिल्लो समय पाहुनाहरू आउनेक्रम बढेको उनले बताए। विशेषतः समुहमा आउने गरेको समितिको भनाइ छ।

    भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा मगर होमस्टेलाई नमुना बनाउन नगरपालिकाले पनि सहयोग गरिरहेको बताए। उनले यसलाई अझ व्यवस्थित बनाउनेगरी लागिएको बताए।

    थप तस्विरहरूः

देविका घर्ती मगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]