राजनीति

वाम गठबन्धनको अन्योलका बीच रुकुमबाट कोको होलान् उम्मेदवार?
SHARES

असोज २६, २०७४

    रुकुमः रुकुम जिल्लामा क्रियाशील चार दलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आआफ्नै तरिकाले आफ्ना उम्मेदवारहरू पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिसकेका छन्। वाम गठबन्धनका अबका अन्तिम उम्मेदवार कोको हुन्छन्? भनेर यस जिल्लामा अन्योल भएको छ। 

    केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी वाम गठबन्धन हुनुभन्दा पहिले नै जिल्लास्तरबाट पार्टीले उम्मेदवारहरू केन्द्रमा सिफारिस गरेका कारण थप अन्योल भएको हो। 

    जिल्लाबाट नयाँ शक्ति पार्टी नेपालले मात्र आवश्यक पदका लागि उम्मेदवार सिफारिस गरे पनि अन्य प्रमुख दलहरूले भने आवश्यक पदमा एक दर्जन बढीको नाम सिफारिस गरेका छन्। नेपाली कांग्रेस रुकुमले केन्द्रमा उम्मेदवारहरूको नाम सिफारिस गरेर केही फरक नपर्ने भए पनि वाम गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच भने यसअघि पठाएको सिफारिस संशोधन गरेर तीन पार्टीको तर्फबाट एउटै उम्मेदवार सिफारिस गर्नुपर्ने हुन्छ।

    यसका कारण केही उम्मेदवार सिफारिस भएर आफ्नो चुनावी प्रचार प्रसारमा समेत जुटिरहेका बेला अब वाम गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार कोको होलान् भनेर अन्योल मात्र छाएको छैन, महत्त्वपूर्ण छलफलको विषयसमेत बनेको छ। 

    रुकुमबाट कुन पार्टीबाट सिफारिस उम्मेदवारले पाउलान् टिकट?
    रुकुमबाट नेपाली कांग्रेसका उम्मेदवारहरूको यस विषयमा सम्बन्ध नभए पनि वाम गठबन्धनमा रहेका तीन पार्टीबीचबाट सिफारिसमा परेका कुनकुन उम्मेदवारहरूले चुनावमा टिकट पाउँछन् त भन्ने अहिले चासोको विषय बनेको छ। 

    केन्द्रमा गठबन्धनमा रहेका शीर्ष नेताहरूबीच उम्मेदवारहरूको टुंगो कसरी लगाउने भन्ने विषयमा दिनरात बैठक तथा छलफल भइरहेका छन् तर पनि अन्तिम गर्न भने अझै सकिरहेका छैनन्। रुकुममा सबै उम्मेदवारहरू नेकपा माओवादी केन्द्रका नै हुनुपर्ने नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएको छ भने वाम गठबन्धनमा रहेका अन्य नेकपा एमाले र नयाँ शक्तिले पनि केही सिटमा भए पनि आफ्ना उम्मेदवारहरूले पनि टिकट पाउनुपर्ने धारणा राख्दै आएका छन्। 

    तर रुकुम पश्चिमको प्रतिनिधिसभा निर्वाचनका लागि भने माओवादी केन्द्रका उम्मेदवार नै अन्तिम उम्मेदवारका रूपमा गठबन्धनबाट टुंगो लगाइएको नेताहरूको भनाइ छ। पश्चिम रुकुमबाट प्रतिनिधिसभाका लागि गृहमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा माओवादीबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। 

    सामान्यतयाः स्थानीय चुनावमा भारी मतका साथ विजयी भएको स्थानमा उक्त पार्टीका उम्मेदवारहरू नै उठाउने सहमति भए पनि अझै केही टुंगो नलागेको माओवादी नेतृ तथा पूर्व मन्त्री कमला रोकाले जानकारी दिइन्। ‘रुकुम, रोल्पामा माओवादी केन्द्रकै उम्मेदवारहरू बनाउनुपर्छ भन्ने हाम्रो पार्टीको भनाइ रहेको छ, सायद हुने पनि त्यही नै अन्तिम निर्णय हुन्छ होला’, उनले भनिन्, ‘यो समस्या रुकुमको मात्र नभई देशैभरको भएका कारण समग्र रूपमा गठबन्धनका शीर्ष नेताहरूबीच छलफल जारी रहेको छ। देशभरको टुंगो लागाउँदा रुकुममा पनि केही हेरफेर हुन पनि सक्छ।’

    नेकपा एमाले रुकुमका अध्यक्ष बिमल पुनले प्रतिनिधिसभाका लागि रुकुममा माओवादी उम्मेदवारलाई दिइने केन्द्रमा सहमति भएको बुझिन आएको भए पनि प्रदेशसभा उम्मेदवारमा भने माओवादी र एमालेबीच आधाआधा उम्मेदवार उठाउने विषयमा नै छलफल भइरहेको बताए। ‘रुकुममा माओवादीको वर्चश्व भए पनि प्रतिनिधिसभाका लागि माओवादी र एमालेले सिट बाँड्ने बुझिएको छ’, उनले भने, ‘माओवादीको पकड रहेको रुकुममा एमालेलाई पनि ठाउँ दिनुप¥यो भने एमालेको पकड रहेको जिल्लामा पनि माओवादीलाई ठाउँ दिनुपर्छ।’

    कांग्रेस रुकुमको जम्बो उम्मेदवार सिफारिसमा कसरी लाग्ला टुंगो?
    नेपाली कांग्रेस रुकुमले आगामी निर्वाचनका लागि उम्मेदवारहरू सिफारिस गरेर केन्द्रमा पठाएको भए पनि एक सिटका लागि धेरै जनाको नाम पठाएपछि कुन उम्मेदवारले चुनावमा टिकट पाउँछ भनेर अन्योल नै रहेको छ। माओवादी एक्लै लड्दा पनि भारी मतका साथ विजयी हुने रुकुममा एमाले र नयाँ शक्तिसहितको वाम गठबन्धन भए पनि कांग्रेसलाई झनै समस्या पर्ने देखिएको छ। तर पनि कांग्रेसले २७ जनाको नाम सिफारिस गरेर पठाएको छ। यसअनुसार आफ्नो टिकट सुरक्षित गर्न उम्मेदवारमा सिफारिस परेकाहरू विभिन्न गुटमार्फत् कुरा चलाइरहेका छन्। 

    यसैबीच कांग्रेसको बैठकबाट उम्मेदवारमा सिफारिसमा नपरे पनि आफू नि कांग्रेस रुकुमको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएको कांग्रेसका नेता तथा पूर्व सांसद कृष्णप्रसाद गौतमले बताए। २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर १ बाट जीत हाँसिल गरेका शर्माले नेपाली कांग्रेसले आफूलाई जिल्लाबाट सिफारिस नगरे पनि केन्द्रबाट सिधै आफ्नो पक्षमा टिकट आउने र त्यसका लागि छलफल जारी रहेको बताए।

    ‘मेरो जिल्लाबाट त सिफारिस भएको छैन तर केन्द्रबाट सिधै मलाई प्रतिनिधिसभाको लागि टिकट आउँछ भन्नेमा म विश्वस्त छु’, उनले भने, ‘पार्टीका अन्य नेताहरू पनि मेरो कुरामा सकारात्मक हुनुहुन्छ, जित्ने मान्छेलाई पनि उम्मेदवार बनाएर चुनाव जितिन्छ।’

मेगराज खड्का

मेगराज खड्का थाहाखबरका रुकुम सम्वाददाता हुन्। इमेल : sancharkarmi.megraj@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]