फिचर

शरणार्थी छाप्रोमा हुर्किएका कलाकार राजेश भन्छन्: 'परिचयपत्र नहुँदा समस्यामा छौँ'
SHARES

असोज २६, २०७४

    दमकः झापाको दमक– ३ मा रहेको बेल्डाँगीबाट उत्तरतर्फ लागेपछि साना छाप्राहरू आउँछन्। एकअर्कामा जोडिएका बाक्ला छाप्रोलाई छिचोल्दै अलिक उत्तरबाट पूर्वतर्फ लागेपछि केही छाप्रा छिचोल्ना साथ एउटा छाप्रो आउँछ, बी २ छाप्रो नम्बर ६७। 

    उनको दैनिकी सधैँ यहीँबाट सुरु हुन्छ। बिहानै उठ्ने, दमकतर्फ लाग्ने र अरूलाई फाइट सिकाउने र आफू पनि गर्ने। उनको सपना नै चलचित्र खेल्ने र फाइट गर्ने बनेको छ अहिले। उनी दैनिकजसो एउटा न एउटा चलचित्रको छायांकनमै व्यस्त हुन्छन्। उनी अर्थात् ३६ वर्षका भुटानी शरणार्थी राजेश लेप्चा। 

    भुटानी शरणार्थी शिविर बेल्डाँगीमा विगत २६ वर्षदेखि उनी बस्दै आएका छन्। अनेकौँ दुःख पीडा भुलेर उनी संघर्ष गर्दै त्यहीँ छाप्रोमा बस्दै आएका छन्। श्रीमतीसँग बिछोड भएदेखि उनी आमा र आफ्नी १५ वर्षकी छोरीसँगै बस्दै आएका छन्, त्यही छाप्रोमा। उनी भुटानबाट नेपाल आउँदा नौ वर्षका थिए। उनलाई अहिले पनि प्रष्ट याद छ, भुटानी शासकहरूले आफूहरूलाई लखेटेको। उनी सम्झन्छन्, ‘त्यतिबेला नेपालीभाषीहरूलाई ज्यादती गरियो, दिदीबहिनीलाई बलात्कार गरे शासकहरूले।’ 

    उनी त्यसबेलादेखि नै कराँते सिक्दै थिए। सुरुमा शरणार्थी भएपछि उनले केही वर्ष त आफूले चाहेको खेल सिक्न पाएनन्। पछि फेरि शिविरमा सिक्न थाले। सानोमा चलचित्र हेर्दा उनलाई हिरो बन्न मन लाग्थ्यो। राजेश भन्छन्, ‘मलाई सानैदेखि फिल्म खेल्ने मन थियो, हिरो उडेको देख्दा मलाई पनि यसरी नै उड्न मन लाग्थ्यो।’ उनले सानै उमेरदेखि नाटक खेल्न थाले। शिविरमा जनचेतना जगाउने नाटक खेल्दै उनी स्टेजसम्म आए। सन् २००३ मा नाटक ‘अन्त्य’बाट उनी स्टेजमा आएका हुन्। 

    दमकमा देखाइएको यस नाटकबाट उनले सफलता पनि हात पारे। उनको पर्दामा देखिने सपना पनि सन् २००६ मा पूरा भयो। डिकेश लामा निर्देशित चलचित्र ‘टुक्रेको मटु’मा खलनायक पात्रमार्फत पर्दामा आए उनी। भुटानी शरणार्थीको कथामा आधारित चलचित्र हो ‘टुक्रेको मटु।’ उनी भन्छन्, ‘मेरो सानै उमेरदेखिको सपना पूरा भयो, यसमा खलनायकका रूपमा खेल्न पाएँ।’ 

    उनले चलचिमा जोखिमयुक्त काम गर्दै आएका छन्। उनी द्वन्द्व निर्देशक हुन् भने इफेक्ट डाइरेक्टरका रूपमा पनि काम गर्दै आएका छन्। उनले स्टन्ट म्यान (हिरो तथा अन्य कलाकारले गर्न नसकेको एक्सन) मात्र गर्ने गरेका छन्। उनी भन्छन्, ‘अब त जोखिममा खेल्ने बानी भएछ, अरूले त जिम्न्याष्टिक गर्दा, ठूलो ठाउँबाट हाम्फाल्दा डोरीको प्रयोग गर्छन् तर मैले अहिलेसम्म डोरीको प्रयोग गरेको छैन।’

    एक पटक चलचित्रमा कलाकारलाई डमी देखाउँदा उनको टाउको फुटेको थियो। उनी त्यो क्षण कहिल्यै बिर्सन सक्दैनन्। ‘चलचित्र ‘अस्तित्वको लडाइँ’मा डमी देखाउँदा एक पटक जिम्न्याष्टिक गर्दा टाउको फुटेको थियो’, उनी भन्छन्, ‘चार टाँका हान्नुपरेको थियो, त्यो क्षण कहिल्यै बिर्सन्नँ।’

    उनले करिब चार दर्जन चलचित्रमा काम गरिसकेका छन्। भर्खरै प्रदर्शनमा आएको ‘दुई रूपैयाँ’, ‘रिफ्युजी’, ‘हामी शरणार्थी’, ‘मंगोलियन हार्ट’, ‘एउटै भूल’, ‘सम्बन्ध’लगायत नेपाली चलचित्रमा काम गरिसकेका छन्। हिन्दी, मैथिली, आदिवासीलगायत चलचित्रमा समेत काम गरेका छन् राजेशले।

    उनले शरणार्थी भएर धेरै समस्या भोग्नुपरेको छ। आफू शरणार्थी भएकै कारण चलचित्र विकास बोर्डको परिचयपत्रसमेत पाएका छैनन् उनले। ‘अहिलेसम्म मैले चलचित्र विकास बोर्डको परिचयपत्र पाएको छैन’, उनी भन्छन्, ‘म भुटानी भएकै कारण चलचित्रमा काम गरेको एक दशकमा पनि परिचयपत्र पाएको छैन।’

    परिचयपत्र नभएका कारण धेरै शरणार्थीहरूले चलचित्रबाट पैसा नपाएका कारण विस्थापित भएको उनी बताउँछन्। 

    ‘धेरै त चलचित्रमा पैसा नपाएर शरणार्थीहरू विस्थापित भएका छन्’, राजेश भन्छन्, ‘चलचित्र परिचयपत्र नभएकै कारण चलचित्रमै सधैँ काम गर्छु भन्ने साथीहरू पनि तेस्रो मुलुक गएका छन्।’ अहिले त शिविरमा कलाकार पाउनै मुस्किल हुने गरेको उनी बताउँछन्। ‘पहिला धेरै कलाकार थिए, अहिले कलाकार पाउनै मुस्किल छ’, उनी भन्छन्, ‘त्यतिबेला हामी धेरै हुँदा रिहर्सल गर्न पनि रमाइलो हुन्थ्यो, अहिले त शिविरमै बस्न मन लाग्दैन।’

    कलाकारिताबाटै केही गर्न सकिने उनी बताउँछन्। ‘कलाकारिताबाट पनि केही गर्न सकिन्छ। म तेस्रो मुलुक पुनर्वास नहोऊँ भन्ने उद्देश्य हो’, राजेश भन्छन्, ‘तर आमा र छोरीका लागि भए पनि जानुपर्ने बाध्यता भएको छ।’

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]