समाज

हाकिमले स्यालुट गर्ने ती ट्राफिक प्रहरी

असोज २३, २०७४

    पोखरा : घर गएका यात्रुहरुलाई राजधानी फर्कन निक्कै हतार थियो। दसैं भर्खर सकिएकाले सवारी साधन पाउन हम्मेहम्मे थियो। नजिकैको माइक्रोबसको टिकट काउण्टरमा दुई जना कर्मचारी छन्। टिकट खोज्नेहरुको भीड छ। अगाडि पट्टी दुईवटा माइक्रोबस छ। तर काउण्टरका कर्मचारी न टिकट दिन्छन् न कुनै जवाफ!

    केहीबेरमा अर्को माइक्रोबस आइपुग्यो। पोखरा–काठमाडौं लेखेको देखेपछि कोचाकोच गर्दै यात्रुहरु चढे। केहीबेरमै माइक्रोबस हुँइकियो। पोखराको पृथ्वीचोकबाट झण्डै ५०० मिटरमा गएर एक जना ट्राफिकले सिठ्ठी फुक्दै माइक्रोबस रोके।

    मैले सोचेँ पक्कै पनि घुसको कारोबार हुनेछ, ड्राइभरले केही रकम हातमा थमाइदिनेछन्, अनि माइक्रो आफ्नो गन्तब्यमा अघि बढ्नेछ। त्यसैले ध्यान दिएर त्यो दृष्य र वार्तालाई नियालिरहेको थिएँ।

    ट्राफिकः बिल बुक देखाउनुस्।

    ड्राइभरले फट्टाफट बिल बुक देखाउँछन्।

    ट्राफिकः लाइसेन्स?

    ड्राइभरले नसुने झै गरे।

    तीन पटक लाइसेन्स मागेपछि ड्राइभरलाई लाइसेन्स ननिकाली सुखै भएन।

    लाइसेन्स हातमा लिएर ती ट्राफिकले माइक्रोबसभित्र नियाल्छन्।

    यात्रुसँग ट्राफिकले सोधे, तपाईहरुसँग कति भाडा लिएको छ?

    एक छिन कोही बोल्दैनन्।

    ट्राफिकले फेरी दोहोर्‍याएर सोधे पछि ढोकाको छेवैमा बसेका एक जनाले भने, ‘हामीले त भाडा दिएकै छैनौं।’

    कति लिने भनेको छ?

    अर्का यात्रुले भने, 'हामीलाई त गाडी पाउनै समस्या थियो, त्यसैले अहिलेसम्म भाडा नै सोधेका छैनौं।'

    'हो तपाईहरु यस्तै गल्ती गर्नुहुन्छ' भन्दै ट्राफिकले हपारेपछि अघिल्लो सिटमा बसेकी एक महिलाले भनिन्, ‘म सँग त ५०० भनेको छ।’

    अa भने ट्राफिकले गल्ती पत्ता लगाइसकेका थिए। किनकी पोखरा–काठमाडौंको भाडा ४७० रुपैयाँ मात्र थियो।

    अब भने ट्राफिकको प्रश्न ड्राइभरतिर तेर्सियो।

    ‘किन ५०० भनेको?’

    ‘३० रुपैयाँ फिर्ता गर्छौं', ट्राफिकको प्रश्नको तात्तातो जवाफ दिए ड्राइभरले ।

    तर त्यो विश्वासयोग्य जवाफ थिएन।

    ‘३० रुपैयाँ फिर्ता गर्ने भए भाडा ५०० किन भनेको?’

    एकै छिन त ड्राइभर अक्क नमक्क भए।

    फेरि जवाफ दिए, ‘होइन सबै यात्रुलाई ३० रुपैयाँको त पानी दिन्छौं।’

    ‘तपाईलाई यात्रुलाई पानी दिने, खाना खुवाउने गरी बढी पैसा उठाउने अधिकार कसले दियो?’

    अक्न न बक्क पार्ने ट्राफिकको यो प्रश्नबाट कसरी उम्किने जवाफ खोजिरहेका थिए ड्राइभर। एक छिन सोचेर फेरि अर्को बनिबनाउ जवाफ निस्क्यो उनको मुखबाट।

    भने, ‘५०० मैले त भनेकै होइन।’

    अब भने ट्राफिक केही आक्रोशित हुदै थिए।

    ‘अँ तपाईले भन्न पर्छ र? तपाईले दानापानी दिएर पालेका ती चुल्ठेमुन्द्रे छन् नि, उनीहरुले भने होलान नि! यात्रुलाई अप्ठ्यारो परेको मौका छोपेर जथाभावी गर्ने अधिकार छैन तपाईलाई। ख्याल गर्नुस्।'

    हरेक यात्रुबाट ४७० भन्दा बढी भाडा लिन नपाउने र यात्रुलाई पनि त्यो भन्दा बढी भाडा नदिन अनुरोध गर्दै ट्राफिकको नजर माइक्रोको सिट संख्या र यात्रु तिर तेर्स्यो।

    ढोकासँगैको सिटमा ४ जना राखिएको थियो। जुन ३ जनाको सिट हो।

    ‘तीन जनाको क्षमता भएको सिटमा किन चार जना राखेको?’

    ‘के गर्नु सर, यात्रुको खचाखच छ।’

    ‘त्यो तपाईको समस्या होइन, समस्या समाधान समितिले गर्छ', ट्राफिकले भने,' कि एक जनालाई अर्को गाडीमा पठाउनुस् कि तीन जनाको मात्र भाडा लिनुस्।'

    ‘अहिलेको समस्या समाधान गरियो भने त पछि त कस्ले चेक गर्छ र’ सायद ड्राइभरले त्यही सोचे, त्यसैले उनले भने, ‘हुन्छ सर। म तीन जनाको मात्र भाडा लिन्छु।’

    ड्राइभरको यति आश्वासन सुनेपछि ट्राफिकले पनि निक्कै नम्र हुँदै भने, ‘ल तपाईलाई एक पटकलाई म कारबाही गर्दैन। फेरि पनि यस्तै गल्ती नदोहोर्‍याउनुहोला। राम्रोसँग गन्तब्यमा पुग्नुस्,  शुभ यात्रा।’

    यो वार्तालापको साक्षी म पनि थिएँ। घुस माग्यो वा दियो भने फोटो र भिडियो खिच्छु र समाचार बनाउँछु भन्ने सोचेको थिएँ। मैले भिडियो खिच्न थाले भने ट्राफिकको कुरा बनावटी हुन्छ भन्ने सोचेर फोटो र भिडियो खिच्न सकिन। त्यसैले एक अन्जान यात्रु बनेर मोवाइलमा अडियो मात्र रेकर्ड गरिरहे।

    साँच्ची ती ट्राफिकको बोली र व्यवहारले मेरो मात्र होइन सबै यात्रुको मन छोयो। मैले उनको छातीमा टाँसेको नेम प्लेट नजिकबाट नियाले, उनको नाम केशरबहादुर मल्ल रहेछ, कुममा एक तारे फुली। मलाई उनीसँग धेरै कुरा गर्न मन थियो, तर सम्भव थिएन।

    जब त्यहाँबाट माइक्रो काठमाडौंका लागि छुट्यो, सबै यात्रुले उनको प्रशंसा गरे। वाह ट्राफिक होस् त यस्तो! यिनी जस्तै अरु दुई चार जना भइदिए! देशको विकास गर्न, भ्रष्टाचार र वेतिथिको अन्त्य गर्न धेरै मान्छे किन चाहिन्थ्यो र?

    मेरो छेवैको सिटमा प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एक जना ट्राफिक सई विन्दुकुमार सिग्देल रहेछन्। उनी भन्दै थिए, ‘पोष्टका हिसाबले त उनले मलाई स्यालुट गर्नुपर्छ तर आज मैले मेरो पोष्ट विर्सेर मनैदेखि उनको व्यवहारलाई स्यालुट गरें। साँच्चिकै उनी एक असल प्रहरी रहेछन्।’

    तर यात्रुहरुको यो कुराले ग १ ख २७९६ नम्बरको माइक्रो बसका ड्राइभरको रिसले पारो तातेको थियो। ‘मैले चाहेको भए गाडीबाट ओर्लेर गाडी चलाउँदैन भन्दै आन्दोलन गर्न पनि सक्थेँ। तर मैले त्यसो गरिनँ। किनकी उसले मेरो रिन्यु नगरेको लाइसेन्सको डेट समेत देखेन। (लाइसेन्स माग्ने वित्तिकै नदिएर आनाकानी गर्नुको रहस्य बल्ल थाहा भयो कि उनको लाइसेन्सको डेट सकिएको रहेछ।)

    ‘गुरुजी तपाई एक छिन आफू बसेको सिट बिर्सेर हामी जस्तै यात्रु भएर सोच्नुस्, यात्रुहरु भन्दै थिए, ‘के त्यो ट्राफिकले गरेको कुन चाहिँ काम नाजायज थियो?’

    तर कोचाकोच हुने गरी यात्रु हालेर टन्न पैसा उठाउन नपाएकोले ड्राइभरको रिस थामिएको थिएन, आक्रोसित हुँदै यात्रुलाई सुनाउँदै ड्राइभरले प्रहरी सहायक निरीक्षक केशरबहादुर मल्ललाई चुनौती दिँदै थिए, 'अब हेर्नुस्। मान्छे कसरी कति हाल्नुपर्छ।’

    अलि पर पुगेपछि खलासीले सिटमुनिबाट पिर्का जस्ता काठका टुक्रा निकाले। दुईतिरको सिटमा तेर्स्याए, यात्रुको सिट मुनिबाट चकटी निकाले तीन वटा थप सिट तयार गरे। अनि तनहुँको दमौलीबाट तीन जना मान्छे चढाए। डुम्रे पुगेपछि एउटा होटलबाट दुईवटा मुढा ल्याए अनि मलेखुबाट ती मुढा पनि प्याक गराए।

    तर दुर्भाग्य! थुप्रै प्रहरी चेक पोष्ट पार गर्दै कलंकीसम्म आइपुग्दा कोही प्रहरीले पनि ती ड्राइभरको अनैतिक काम देखेन। ड्राइभरको दादागिरी सामू ती सच्चा, इमान्दार अनि कर्मठ प्रहरी सहायक निरीक्षक मल्लको एक्लो प्रयास निरर्थक रह्यो।

बोमलाल गिरी

लामो समय रेडियो पत्रकारिता गरेका गिरी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]