ब्लग

इतिहासको किनाराको साक्षी
SHARES

असोज १९, २०७४

    सानोमा पढ्दाखेरि पुरानो कुरा मात्र इतिहास हुन्छ र अब इतिहासमा हुन बाँकी केही छैन जस्तो लाग्थ्यो। मेरो वरिपरि जे थियो, त्यो त सामान्य नै थियो। इतिहास भनेर मरेका मान्छेहरूका जीवनी र उहिल्यै उहिल्यै घटेका घटनाहरू बारे मात्र पढाइन्थे। यस्तैमा कक्षा ९ को नेपाली पढ्दा नेल्सन मण्डेला र पेलेको बारेमा पनी पढ्नुप¥यो, जो जिउँदै थिए। 

    जिउँदा मान्छेहरूको बारेमा पनि किताबमा पढाइ हुन्छ? बाफ रे! यो त बहुत अचम्म भयो। मण्डेला र पेले दुवै जनाको व्यक्तित्व असाधारण थियो, प्रेरणादायी थियो, रोचक थियो। तिनीहरूको जीवनी पढेर निकै नै प्रभावित भएँ म। पहिलो पटक जिउँदा मान्छेको कथा पढेर प्रभावित भएको थिएँ। यस घटनाले इतिहास जिउँदो पनि हुँदोरहेछ भन्ने सिकायो। तर मण्डेला र पेले दुवै निकै परका व्यक्ति थिए, कता हो कताका। यसले हो सायद, मलाई के प¥यो भने इतिहास अलि परपर घट्छ। 

    सामाजिक शिक्षा र नेपाली विषय पढ्दाखेरी प्रसंगले ऐतिहासिक व्यक्तित्व र घटनाबारे पढाइ हुन्थे। ती कि काठमाडौँका हुन्थे कि भारतवर्षका हुन्थे कि अमेरिका कि अफ्रिकाका। केही त स्वर्ग नर्क माथितिरका पनि हुन्थे। समयक्रममा पढ्दै गएँ, बुझ्दै गएँ। दरबार हत्याकाण्ड, माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन, राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, भूकम्प, संविधानसभाबाट संविधान जारी, नाकाबन्दी, मधेस आन्दोलनको उत्कर्ष उठान र लज्जास्पद बैठान देखेँ। यी सब घटना नेपालभित्रै भएका थिए भने कतिपय त मेरै वरिपरि भएका थिए।

    विस्तारै विस्तारै मैले के बुझेँ भने इतिहास त आफ्नै वरिपरि पनि घट्दो रै’छ। इतिहास जिउँदो हुन्छ भन्नेबाट इतिहास आफ्नै वरिपरि पनि हुन्छ भन्ने बुझ्न मलाई १० वर्ष लाग्यो। इतिहास जिउँदो हुन्छबाट इतिहास वरिपरि हुन्छसम्म पुग्न मलाई १० वर्ष लाग्यो तर इतिहास चलायमान पनि हुन्छ भन्नेमा पुग्न मलाई धेरै समय लागेन। यो लेखको यस खण्डमा इतिहासको बुझाइसँगै कसरी म त्यस इतिहासको साक्षी पनि हुन पुगेँ भन्नेबारेमा केन्द्रित छ।

    विशेषगरी राजामहाराजाका अदभुत अदभुत घटना बढी हुन्थे पाठ्यक्रमभन्दा बाहिर पढेका इतिहासमा। राजा र सेनापतिका  वीरतापूर्ण कथा र उनीहरूको अलौकिक व्यक्तित्वबाट म धेरै नै रोमाञ्चित हुन्थेँ। उनीहरूले असंभवलाई पनि संभव तुल्याइदिएका हुन्थे। राजाका ३०० रानी, कुनै युद्ध नहारेका पराक्रमी राजा, राजाले एक हजार घोडा दान दिएका, राजाको बोली नै शासन, राजा, रानी र युवराजले जे पनि गर्न पाउने असीमित शक्ति भएको जस्ता इतिहास पढ्दै हुर्कंदै आएको मेरो बाल मस्तिष्कमा सामान्य कोट, टोपी र चस्मा लगाएको त्यस समयको नेपाली राजा अत्यन्त सामान्य देखिन्थे।

    कथाहरूमा जस्तो नेपाली राजाले ऐतिहासिक भार बोकेको देख्दिनथेँ। किनभने राजा त भयंकर र अर्कै हुन्छ भन्ने थियो। गह्रौँ र अग्ला इतिहासका अघि मैले हाम्रा राजा एकदम फुच्चे देखेँ। पृथ्वीनारायण शाहको पछिल्लो पुस्ता यही हो भन्ने कुरा मलाई अपत्यारिलो लागेको थियो। त्यसबेला किताबहरूमा त्रिभुवन, पैसाहरूमा महेन्द्र र पत्रिकाहरूमा वीरेन्द्रलाई देखेको थिएँ। यिनीहरूको फोटोमा कुनै भयानकता देख्दिनथेँ। यस कारण पनि मेरा लागि इतिहास निकै परको कुरा भयो।

    अझै पनि म यिनीहरूलाई इतिहास मानिरहेकै थिएँ। त्यसमा दुई कारण छन्। पहिलो, यिनीहरूलाई मैले देखेको थिइनँ, किनकि इतिहास टाढा मात्र घट्थ्यो। एटम बम जापानमा खस्थ्यो, विश्वयुद्ध जर्मनी–फ्रान्सबीच हुन्थ्यो, गान्धी भारतमा मर्थे। दोस्रो हो, कुनै राजालाई कानुन लाग्दैनथ्यो। त्यो किताबमै लेखिएको थियो, त्यसबेलाको पाठ्यक्रममै। राजा टाढा हुनु र राजालाई कानुन नलाग्नु यी दुई कारण मैले राजालाई इतिहास मानिरहेँ। 

    मैले हुर्कने क्रममा आजसम्म भनुँ न, जे जति देखेँ, आखिर ती पनि त ऐतिहासिक घटना रहेछन्। इतिहासमा दर्ज भइसकेका रहेछन्। इतिहास त मेरै वरिपरि घटिरहेको रहेछ। नजानिँदो पाराले म पनि कतै न कतै यस इतिहासको एक हिस्सा भएको रहेछु। यी घटनाक्रम मेरा कारण सिर्जित नभए पनि, ती घटनाको प्रभाव सोझै मलाई नपरे पनि, मैले आफूलाई ती सबैको साक्षी भने मानेको छु किनभने अप्रत्यक्ष रूपमा मैले त्यो सब हेरिरहेँ।

    कक्षा ६ पढ्दै गर्दाको मध्य जेठको एक बिहान म पिसाबले च्यापेर साढे ६ बजेतिर उठेँ। पिसाब फेरेर फर्किंदा छिमेकी घरकी सीता भण्डारी दिदीले ‘ओई किरण, तँलाई था’ छ, राजारानी त मरे नि, गोलि लागेर’ भनिन्। म हासेँ, हावा कुरा भनेर। ‘त्यत्रो ठूलो कुरो तपाईंलाइ कसरी थाहा भयो त दिदी?’ भनेर सोध्दै म केही मिनेट बसेँ। म हाँस्दैहाँस्दै कोठातिर गएँ र बाबाआमालाई सुनाएँ र फेरि सुत्न गएँ। 

    बिहान उठेर बजार गएँ, यहाँ राजारानीको हत्याको कुराले प्रवेश पाइसकेको थियो। अनेक अड्कलबाजी भइरहेथ्यो। गाउँले मत प्रकट भइरहेथ्यो। संभवतः मैले धेरैको कुरा पत्याएँ हुँला।  यसपछिचाहिँ राजारानी गोली लागेर मरेकोमा ढुक्क भएँ।

    नेपाल टेलिभिजनबाट शनिबार नियमित आउनुपर्ने फिल्म आएन। बुधबार चन्द्रकान्ता नाटक आएन। रेडियोमा नमीठो धून बजिरह्यो भने टिभीमा झिरझिर मात्र आइरह्यो।

    सर्वशक्तिमान राजारानी कसरी मारि? त्यो पनि पूरै परिवार सखाप हुने गरी? भन्ने कुराचाहिँ मेरो मनमा पछिसम्म खेलिरह्यो, अद्यापि खेलिरहेकै छ। त्यसपछि मैले राजाको भाइ नयाँ राजा भएको भन्नेबाहेक अरू केही सुनिनँ। सबै नियमित नै थिए अवस्था। विस्तारै मैले सुन्ने शब्दहरूमा ‘माओवादी’ भन्ने शब्द बढिरहेको थियो। डर, त्राससहित यो शब्द उच्चारण हुन्थ्यो। 

    म हरेक शुक्रबार बुटवल जान्थेँ रुद्रपुर गरगरेबाट।  बाटोमा हाम्रो बसलाई उछिनेर गएको पुलिसको जिपलाई माओवादीहरूले बीच जंगलमा पुलको ठ्याक्कै अघि बमले उडाउन खोजेछन्। जम्मा २ सेकेन्ड छिटो स्विच दबाउँदा जिप उड्न सकेन तर त्यसले बनाएको खाल्डोमा पर्‍यो। अरूले जस्तै मैले पनि डुम्म आवाज सुनेको थिएँ तर त्यो कसैको चासोमा परेन। पिपिरिचापा कटेर अगाडि जाँदा पो साइकलमा आउनेले पुलिस एम्बुसमा पर्‍यो, उता फायरिङ चलिरहेको छ, पुलिस घाइते छन्, क्षतविक्षत छन् भन्ने सुनायो। सबै डराए पनि मलाई भने लडाइँ हेर्ने रहर जाग्यो। एम्बुस भनेको बुझ्दिनथेँ, त्यो पनि हेर्ने र सके त बन्दुक लुकाएर ल्याउने रहर पलायो। तर गाडी फनक्कै फर्कियो।  

    समयक्रममा अरूअरू घटना पनि भए। ठूलो भइयो र जनयुद्धको सुरुवातदेखि अन्तसम्मका कुरा पनि मोटामोटी थाहा भए। मैले त्यति नै बेला कण्डोलिजा राइस, सद्दाम हुसेन, जर्ज डब्ल्यु बुस, ओसामा बिन लादेन, जेम्स एफ मोरियार्टी, फौजी दीपक गुरुङ जस्ता नामहरू बरोबर सुने। 

    राजा ज्ञानेन्द्र आफैँ प्रचण्ड भएको, राजाले नै पर्दा पछाडिबाट माओवादी चलाएको, बाबुरामले पाँचवटा विषयमा पीएचडी गरेको, अझ बाबुरामले त एकै पटक दुईवटा भाषा सोचेर दुई भाषा लेख्न सक्ने, प्रचण्डले घण्टाघण्टामा रूप बदल्न सक्ने आदिआदि कुराहरू पनि सुन्दै आएँ। रेडियोमा अचानक समाचार आउन छाड्यो भने कर्डलेस पनि चल्न छोड्यो, सेनाको गस्ती बढ्न थाल्यो। बहुत त्रासद समय थियो त्यो।

    म हुर्किंदै थिएँ, त्यसैगरी मेरो बुझाइको स्तर पनि फराकिलो हुँदै गइरहेको थियो, यद्यपि, आम रूपमा माओवादी ठीक भन्नेसँग म पनि सहमत थिएँ त्यसबेला किनभने तिनीहरू गरिबका लागि र धनीका विरुद्ध लडेका थिए भनिन्थ्यो। हामी जस्ता गरिबको लागि लडेका थिए भन्ने थियो त्यसबेला त। 

    देशमा गणतन्त्र आयो। यसबीचमा किस्ताबन्दीमा धेरै कुरा आए। प्रचण्डको नेतृत्वमा सरकार बन्यो, ढल्यो। त्यसरी नै संविधानसभा बन्यो, ढल्यो।

    संविधानसभाको म्याद अघिल्लो दुई पटक थप्दा त म र मेरा साथीहरू बानेश्वर चोकमै भीड हेर्दै रमाइलो मान्दै थियौँ। हामी दोस्रो संविधानसभाबाट संविधान जारी हुँदा पनि बानेश्वर चोकको उत्सवमा सहभागी भयौँ। निकै खुसी भयौँ। हामीलाई व्यक्तिगत रूपमै ठूलै उपलब्धि भएजस्तो गर्‍यौँ। 

    अहिले आएर सोच्दा मैले हुर्कने क्रममा आजसम्म भनुँ न, जे जति देखेँ, आखिर ती पनि त ऐतिहासिक घटना रहेछन्। इतिहासमा दर्ज भइसकेका रहेछन्। इतिहास त मेरै वरिपरि घटिरहेको रहेछ। नजानिँदो पाराले म पनि कतै न कतै यस इतिहासको एक हिस्सा भएको रहेछु। यी घटनाक्रम मेरा कारण सिर्जित नभए पनि, ती घटनाको प्रभाव सोझै मलाई नपरे पनि, मैले आफूलाई ती सबैको साक्षी भने मानेको छु किनभने अप्रत्यक्ष रूपमा मैले त्यो सब हेरिरहेँ। मैले किताबमा सैयौँ वर्षपछि किताबमा पढ्नुपरेन, किंवदन्ती सुन्नुपरेन। मेरो समयमा यतिका धेरै इतिहास निर्माण भए। समग्रमा मेरो पुस्ता दरबार हत्याकाण्ड, माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन, गणतन्त्रको स्थापना, भूकम्प, संविधानसभाबाट संविधान र नाकाबन्दीको साक्षी भएको छ। 

    यस लेखको सुरुमा मैले इतिहास जिउँदो हुँदोरहेछ भनेँ अनि इतिहास आफ्नै वरीरिपरि हुँदोरहेछ भने अनि इतिहास चलायमान हुँदोरहेछ पनि भनेँ। इतिहास चलायमान हुँदोरहेछ किन भनेको भने मैले त गणतन्त्र चलिराखेको देखेँ। यसले घरि यताबाट धक्का खाएको छ, घरि उताबाट धक्का खाएको छ। अन्य ऐतिहासिक उपलब्धिले पनि धक्का खाएका छन्। घरि खुम्चिएको छ, घरि फैलिएको छ। वर्तमान इतिहास नै घरि अग्लिएको छ, घरि होचिएको छ। 

    जस्तो कि प्रचण्डको उदय र पतन, केपी ओलीको उदय। प्रचण्ड र केपी ओली आफैँमा एक इतिहास हुन्। तर उनीहरूको आयतन घटबढ हुने क्रममै छ, स्थिर छैन। ज्ञानेन्द्रले राजतन्त्र ढाल्न भूमिका खेलेको देखेपछि, प्रचण्डले ज्यानको बाजी लगाएर देश बदल्न हिँडेको देखेपछि इतिहास निर्माणमा व्यक्तिको भूमिकाबारे जान्न थालेँ। अनि म आफु पनि इतिहास निर्माणको लागि योग्य मान्छे हुन सक्छु भन्नेमा पुगेँ।

    एउटा मान्छेको क्रियाकलापले इतिहास निर्माणमा, इतिहासको बहाव बदल्नमा, इतिहासलाई गति प्रदान गर्नमा कस्तो र कत्रो प्रभाव पार्दोरहेछ भन्ने कुरा बुझेपछि म आफू पनि इतिहासमा ‘कर्ता’ भएर जोडिन सक्छु भन्नेमा पुगेको छु, यद्यपि इतिहासको आफ्नै नियम छ, त्यसमा मान्छेको भूमिका गौण विषय हो।

किरण विक

किरण विक समसामयिक विषयमा लेख लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]