|

मोरङ : कोरोना महामारीबाट सिर्जित समस्याका कारण झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीलाई खान र लाउने समस्या भएपछि उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ।

दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र लताकपडा लगायतका आवश्यक सामग्री दिन छाडेसकेकाले कोरोना महामारीपछि उनीहरुको दैनिकी थप कष्टकर बनेको हो। जसका कारण सबैभन्दा समस्यामा एकल महिला, वृद्धवद्धा र साहाराविहीन बालबालिका पारेका छन्।

झापा र मोरङ सात शिविरमा रहेका भुटानी शरणार्थीको तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रम सकिएसँगै शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको जीवनमा समस्याको चाङ थपिएको हो।

राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत पुनस्र्थापना कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रममा गइसकेपछि स्वदेश फिर्तीकै माग राखेर शिविरमा बसिरहेका भुटानी शरणार्थीमा खान, लाउन नै समस्या देखिएको हो। 

मोरङको पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले शिविरमा रहनेमा अधिकांश वृद्धवृद्धा,अशक्त र अपांग रहेकाले उनीहरुलाई आवश्यक खाध्यान्न,लता कपडा लगायत सामग्री नहुँदा उनीहरुको जीवन कष्टकर बनेको बताए। दातृ निकायले सहयोग गर्न छाडेको र आफन्तसमेत भएका बेसाहरा बनेका उनीहरुमा कोरोनाको महामारीले थप समस्या ल्याइदिएको उनले जानकारी दिए।

‘शिविरभित्र धेरै वृद्धवृद्धा,अशक्त र अपांग रहेका छन्’, क्याम्प सचिव राईले भने, ‘सहाराविहीन उनीहरुलाई महामारीको समयमा दैनिकी चलाउन नै समस्या छ।’ बस्नलाई छाप्रो त छ, तर चुलोमा पकाउने ग्यास, दाउरादेखि खाद्यान्न र शरीर ढाक्ने कपडाको समस्या लामो समयदेखि याथावत् छ।’ साहाराविहीन भएकाले उनीहरु छिमेकीको सहारामा बाँच्न परेको उनले बताए।

क्याम्प सचिव राईका अनुसार शिविरभित्र अहिले वृद्धवृद्धा, अशक्त र अपांग त्यसैगरी एकल महिला गरी करिव १ सय २० जना रहेका छन। साहाराविहिन बालबालिकाको संख्या २४ जना रहेका छन्।

भुटानी शरणार्थी तेश्रो मुलुक गएपछि हाल विश्व खाद्य कार्यक्रमले रासन वितरण रोकेका छ। युएनएचसिआरले वृद्धवृद्धा, अशक्त र अपांग त्यसैगरी एकल महिलाका लागि भने तीन÷तीन महिनामा सामान्य घर खर्चका लागि उनीहरुको बैंक खातामा केही रकम भने पठाइदिने गरेको छ।

एक लाख बढी शरणार्थी तेश्रो मुलुक गए

नेपालका विभिन्न सात वटा शिवरमा रहेको भुटानी शरणर्थीमध्ये एक लाख बढी तेश्रो मुलुकमा पुनस्र्थापित भइसकेका छन्। तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमअन्तर्गत एक लाख ६ हजार ३ सय ६८ मध्ये अमेरिकामा ९० हजार ३ सय ५८, क्यानाडामा ६ हजार ७ सय ५९, बेलायतमा ३ सय ५८, नेदरल्यान्ड्समा ३ सय २९, डेनमार्कमा ८ सय ७५, नर्वेमा ५ सय ७०, अस्ट्रेलियामा ६ हजार ६१ र न्युजिल्यान्डमा १ हजार ५८ भुटानी शरणार्थी छन्।

शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय युएनएचसीआरको अनुमानमा तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रम सकिएपछि करिब २ हजार भुटानी शरणार्थी भुटान फर्कन चाहन्छन् र बाँकी नेपालमै बस्न रुचाउने अनुमान युएनएचसीआरको छ।

युएनएचसीआरका अनुसार अहिले मोरङको शनिश्चरे र झापाको बेल्डाँगी शिविरमा गरी १२ हजार ६ सय १४ भुटानी शरणार्थी रहेका छन्। 

नेपालमै बस्न पाउने विकल्प माग

झापाको बेलगाँडी र मोरङको पथरी शनिश्चरे शिविरमा रहेका भुटानी शरणर्थीले नेपालमै बस्न पाउने विकल्पको माग अघि सार्न थालेका छन्। पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले पुनर्वास कार्यक्रमअन्तर्गत तेश्रो मुलुक नगएका र पुनर्वास कार्यक्रम रोकिसकेकाले भुटान फर्कने आशासमेत नरहेकाले उनीहरु नेपालमै बस्न चाहेका बताए।

‘शिविरमा धेरै लामो समयदेखि बस्दै आएका शरणार्थीहरुले भुटान फर्कन चाहेको भए पनि पूरा हुन सकेको छैन, क्याम्स सचिव राईले भने, ‘स्वदेश फर्कर्ने आशा जीवित रहेन, हामीले धेरै शरणार्थीसँग कुरा गर्दा नेपालमै बस्न पाउने विकल्पको माग अघि आएको हो।’

सचिव राईले अहिले पनि कतिपय बुढापाकाहरु भने अझै भुटान फर्कन पाउने आसमा बसेको बताए। तर नेपालमै जन्मेका अधिकांश युवा शरणार्थीले भने नदेखेको, नभोगेको भुटान जान नचाहेको सचिव राईले बताए।

सुनसान शरणार्थी शिविर

भूटानी शरणार्थीहरुको चापले एक समय झापा र मोरङका शरणार्थी शिविरमा निकै ठूलो चहल–पहल देखिन्थ्यो। अहिले शरणार्थी यी शिविरहरु अमेरिका क्यानडा लगायतका देशमा पुगिसकेका छन्।

पूर्वी नेपालका विभिन्न सातवटा शिविरमा रहेका उनीहरु तेश्रो मुलुक गएका छन्। विभिन्न कारणले तेश्रो मुलुक जान नपाएकाहरु मात्र अहिले ती शिविरमा बस्दै आएका छन्।

थोरै संख्यामा झापा र मोरङका यी शिविरहरु रहेका उनीहरुको कारण अहिले प्राय सुनसान छन्। शिविर क्षेत्रमा रुख रोपेर यसलाई जंगलमा रुपान्तरण गरिएका छन्। झापाको गरामनीस्थित भुटानी शरणार्थी शिविरमा वृक्षरोपण गर्न उमारिएका बिरुवा र बिउ उमारिएको छ।

झापाको बेलडाँगी, गोलधाप र खुदुनाबारीका शिविरहरुमा करिब १ लाख भुटानी शरणार्थी को बसोबास थियो। मोरङको पथरीमा १५ हजार बढी शरणार्थी थिए।
सन् १९९१ मा भारतको भूमि हुँदै नेपाल पसेका शरणार्थीलाई भुटान फर्काउन नेपाल सरकारले पटक–पकट भुटानसँग वार्ता गर्‍यो। तर, उनीहरुलाई स्वदेश फर्काउन भुटान सरकार तयार भएन। त्यसपछि करिब ८० प्रतिशतभन्दा बढी शरणार्थीहरु अमेरिकालगायत तेस्रो मुलुकमा सारिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.