विचार

सरकारले नदेखेको र अदालतले छेकेको इम्बोस्ड नम्बर लिपि विवाद

भदौ २९, २०७७

    सवारी साधनमा  प्रयोग गर्न लागिएको इम्बोस्ड नम्बर अङ्ग्रेजीमा राख्नु पर्दछ भन्ने संवैधानिक इजलासले गरेको फैसलाले राष्ट्रप्रेमी, भाषाप्रेमी सबै नेपालीलाई दु:खी बनाएको छ।

    यस फैसलाले दिने परिणाम सही हुन्छ त ?  यस्तै कुरा भइरहेकै बेला दुई वर्ष अघि चिनियाँ भाषा सिक्नका लागि बेइजिङ पुगेको सम्झना आयो। विश्व आर्थिक बजारमा आफ्नो आधिपत्य जमाइसकेको चीनले आफ्नो भाषालाई विश्वव्यापी बनाउन विभिन्न मुलुकका नागरिकलाइ निःशुल्क खाने, बस्ने र घुमाइदिने गरी भाषा सिकाउन लाने गर्छ। त्यसरी लगेको टोलीमा आफू पनि परेकाले मलाई त्यसको सम्झना भएको हो।

    आफ्नो देश र आफ्नो भाषा सबैलाइ प्यारो हुन्छ म पनि त्यो सोचबाट बाहिर निस्कने मानिस अवश्य होइन। एकातिरको छिमेकी चीन आफ्नो भाषा विस्तार गर्न हर सम्भव लागिपरेको छ भने अर्को छिमेकी भारतले हिन्दी दिवस भारतीय नागरिक पुगेका हरेक मुलुकमा  मनाउने गर्छ। हामी चाहिँ आफ्नै देशभित्र आफ्नै भाषामा इम्बोस्ड नम्बर राखियोस् भनेर आवाज उठाउन बाध्य भएका छौँ।

    विकसित मुलुकको दाँजोमा पुगेर हाम्रो भाषालाई विश्वव्यापी बनाउन नसके पनि हामीले आफ्नै मुलुकभित्र पनि नेपाली भाषालाई जोगाएर राख्न नसक्ने स्थितिमा पुगिसकेका हौ त ?

    इम्बोस्ड नम्बर नेपालीमा हुँदा नेपाली भाषा लेखिने देवनागरी लिपिका अक्षर बनोटले गर्दा अप्ठ्यारो परेकाले र अक्षरको सानो ठूलो आकारले गर्दा नम्बर प्लेटको साइजमा एकरूपता ल्याउन सकिँदैन भन्ने जस्ता पत्यार नलाग्ने तर्क अगाडि सारिएको छ।

    सामान्य  प्राविधिक सहजताका लागि अङ्ग्रेजीमा राख्नुपर्ने तर्क दिएर सर्वच्चले गरेको फैसला हेर्दा चौवन्नी मुस्कानका साथ हाँस्न मनलाग्छअनि भन्न मन लाग्छ हे न्यायमूर्ति के तिम्रो यो निर्णय न्यायसङ्गत ? नेपाली भाषाको उकार इकारभन्दा बढी फुलको बुट्टा देखिने चिनियाँ भाषा उनीहरूको गाडिको नम्बर प्लेटमा कसरी राखिएको होला ? चीन मात्र होइन आफ्नै राष्ट्रभाषामा भुटान तथा बङ्गलादेश लगायत धेरै देशले पनि राखेका छन्

    हालसम्म सवारी साधनको नम्बर प्लेट देवनागरी लिपिमा लेखिँदै आएको थियो त्यसलाई परिवर्तन गरेर अंग्रेजी रोमन लिपिको मात्र प्रयोग गर्नु पर्ने व्यवस्था किन गरियो होला ?

    इम्बोस्ड नम्बर राख्नुका फाइदाहरू जस्तो कम्प्युटराइज हुनु, सवारी साधन ट्र्याक गर्न सजिलो हुनेजस्ता कारणले यसमा सबै खुसी नै हुने कुरा आउँछ। तर नेपाली भाषा हाम्रो पहिचान, राष्ट्रको गौरव हो। यसलाई नै थिच्नेमिच्ने काम नगरियोस भन्ने सम्पूर्ण नेपालीको अपेक्षा हो।

    नेपाली राहदानी, सवारी चालक अनुमतिपत्र, नागरिकताको प्रमाणपत्र र अन्तर्राष्ट्रिय बोलपत्रहरु अङ्ग्रेजीमा तयार गरिएको कारण देखाएर इम्बोस्ड नम्बर प्लेट पनि अंग्रेजी रोमनमा हुनसक्ने भन्ने तर्क राखिएको देखिन्छ। तर नागरिकता प्रमाणपत्र र राहदानीमा अङ्ग्रेजी तथा नेपाली दुबै भाषाको प्रयोग भएको छ। अहिले उठिरहेको माग पनि इम्बोस्ड नम्बर पनि नेपाली र अङ्ग्रेजी दुबै भाषामा बनाऊँ भन्ने मात्रै हो।

    नेपाली भाषालाई नै स्थान नदिने भन्नू त आफ्नै आमालाई घरबाट तिरस्कार गर्दै आफ्नै सन्तानले गलहत्याएर निकालेको उदाहरण भन्दा फरक होइन।

    सवारी साधनमा अंग्रेजी लिपिको मात्र प्रयोग भएमा दुर्घटना गरेर भाग्ने मौका पनि प्रसस्तै देखिन्छ। अङ्ग्रेजी अक्षर पढन नजान्नेले दुर्घटना गरेर भाग्दै गरेको सवारीसाधन देखिहाले पनि नम्बर पढन सक्दैन। उसले प्रहरीलाई सूचना दिन सक्दैन। अर्को कुरा हामीले के प्रत्येक बाटोमा इम्बोस्ड नम्बर ट्र्याक गर्ने सिसि क्यामराको व्यवस्था गरिसकेका छैनौ भन्ने तथ्य छर्लङ्ग छ। नत नेपालका सबै स्थानमा सिसि क्यामेरा राख्न सकिने अबस्था छ।

    अङ्ग्रेजी भाषाको भुतले हामीलाई किन पच्छ्याइ रहेको छ ? अङ्ग्रेजी भाषाको प्रयोगबारे न हाम्रो संविधानमा लेखिएको छ न त यो भाषा नेपालको मूल भाषा वा सहायक भाषा नै हो।  त्यसमा पनि कति प्रतिशत नेपाली जनताले अङ्ग्रेजी बुझ्छन् ?

    संविधानमा नलेखिएको जनसङ्ख्याको लगभग आधा भन्दा बढी जनसङ्ख्याले नबुझ्ने भाषा अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने किन ? देशको संविधानले सरकारी कामकाजका लागि तोकिएको तथा सम्पूर्ण भाषा भाषीका बीच माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाले मान्यता नपाउने गरी गरिएको फैसलाले जनमानसमा वास्तव मैं नकारात्मक धारणा उत्पन्न गराएको छ।

    नयाँ प्रविधिहरुको प्रयोग गर्दै जानु विकासको लक्षण हो। प्रविधिले मानिसलाई बनाएको नभएर मानिसले प्रविधिलाई बनाएको हो। इम्बोस्ड नम्बर प्लेट पनि  एउटा प्रविधिमा आधारित वस्तु भएकाले प्रविधिलाई आफ्नो आवश्यकता अनुसार निर्माण र सञ्चालन गर्नसकिन्छ। यसमा कुनै कठिनाइ नै हुँदैन भन्ने पनि छैन।

    इम्बोस्ड नम्बर प्लेट मात्र होइन अन्य कतिपय त्यस्ता प्रविधि अन्य मुलुकका नागरिकले आफ्नो आवश्यकता अनुसार विकास गरेका हुन्छन्। त्यसैले प्रविधिले मानिसलाई निर्देशित गर्ने भन्दा पनि मानिसले आफ्नो आवश्यकता अनुसार प्रविधि निर्देशित गर्दै लगेका छन्।  जुन काम हामीले पनि गर्नु पर्ने छ। त्यसैले हामीले हाम्रो आवश्यकता अनुसार देवनागरी लिपिकै साइजमा इम्बोस्ड नम्बर बनाउन सक्नु पर्छ र बनाउनै पर्छ।

    सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम ५ मा संवैधानिक इजलासको आदेश वा फैसला अन्तिम हुने र त्यसउपर पुनरावलोकन गराइ पाऊँ भन्ने निवेदन नलाग्ने व्यवस्था गरेको छ।

    कानुनी प्रावधानका  कारण यो आदेश अदालतबाटै परिवर्तन गर्न मुस्किल देखिन्छ। तर नेपाल राष्ट्र नेपाली भाषाविरुद्ध गरिएका कुनै पनि निर्णय राष्ट्रप्रेमी एवं भाषाप्रेमी नेपाली जनतालाई सह्य हुन सक्दैन। नेपाली  भाषा बिरुद्धको यो हर्कतमा अदालत सहभागि हुन पुग्नु भाषाको मात्र होइन स्वयं अदालतको पनि दुर्भाग्य हो। कानुनले छेकेको बाटो र असन्तोषको  ज्वालाले सरकार वा अदालतको मर्यादा एवं विश्वास डढेलो नलगाउन राजनीतिक तहबाट विकल्प खोजिनु पर्छ।

    इम्बोस्ड नम्बर नेपालीमा पनि राखिनु पर्छ भन्ने कुरामा प्रधानमन्त्री के पी शर्मा ओलीको पनि ध्यानाकर्षण भएको कुरा सञ्चार माध्यमहरूमा आइरहेका छन्। अहिलेसम्म प्रधानमन्त्रीका बिचार र कदम हेर्दा यस बिषयमा पनि आशावादी हुन सकिन्छ।

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]