विचार

नेपालमा सेयर लगानी कति सुरक्षित?

सरकार र दलले नै सेयर बजारलाई सही दिशा लैजानुपर्छ

साउन २४, २०७७

    सेक्युरिटी खरिद बिक्री ऐन २०४० अनुसार नेपाल स्टक एक्सचेन्ज २०५० सालदेखि सुरु भएको हो। नेपालमा सेयरको सुरुवात विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडको सेयर बिक्रीबाट भएको देखिन्छ।

    सुरुका दिनमा सेयर खरिद बिक्रीका लागि २३ वटा दलाल कम्पनी स्थापना गरिएको थियो। पछि यसलाई बढाएर ३२ पुर्‍याइएको हो। हाल सेयर दलाल कम्पनीको संख्या ५० पुगेको छ। पछिल्लो समय सेयरमा अत्यधिक उतार चढाव आउन थालेपछि  स्टक एक्सचेन्जले २०६४ सालदेखि बजारलाई सर्किट ब्रेकर लगाउने व्यवस्था गरेको हो।

    अहिले अघिल्लो दिनको तुलनामा भोलिपल्ट कारोबार भएको १ घण्टामा नेप्से ४ प्रतिशत तलमाथि भए २० मिनेटका लागि कारोबार बन्द गरिन्छ भने त्यसपछिको अर्को घण्टामा ५ प्रतिशतले तलमाथि भए ४० मिनेट र ६ प्रतिशतले नेप्से थपघट भए दिनभरका लागि कारोबार बन्द गरिन्छ। बजारलाई धेरै बढ्न र धेरै घट्नबाट बचाउन स्टक एक्सचेन्जले त्यस्तो व्यवस्था गरेको हो।

    पछिल्लो समय हाम्रो सेयर बजारमा एकैदिन २ अर्ब  रुपैयाँसम्मको कारोबार भएको थियो। अहिले १ अर्ब ५० करोड रुपैयाँभन्दा तल झरेर कारोबार हुन थालेको छ। हाम्रो सेयर कारोबार सुरु भएको अवधिमा नेप्से ३ सय अंकभन्दा तल र बढेर झन्डै १ हजार ९ सय अंकसम्म पुगेको थियो। 

    विश्वमा सेयर कारोबार

    समुद्री डाँकाबाट सम्पत्ति जोगाउन सेयरको सुरुवात भएको हो। यसको उद्देश्य पैसा कमाउने थिएन। इस्ट इन्डियनहरु धनी छन् र त्यहाँ व्यवसायका थुप्रै अवसर छन् भन्ने कुरासँगै अन्वेषक र व्यापारी त्यसतर्फ आकर्षित भएपछि धेरै यात्री र जहाजहरू लुटिन थाले।

    लगानीकर्ताले त्यस्तो जोखिम न्यूनीकरणका लागि सन् १६०० मा अनौठो खालको कम्पनी खडा गरे। जसको नाम ‘गभर्नर एण्ड कम्पनी अफ मर्चेन्टस अफ लण्डन ट्रेडिङ विथ द इस्ट इन्डिज’ राखियो। यही इस्ट इन्डिया कम्पनीले सेयर कारोबार सुरु गरेको हो। विश्वका कैयौं देशहरुले पुँजी संकलनको सबैभन्दा भरपर्दो माध्यमको रुपमा सेयर बजारलाई लिएको कारण समग्र देशकै आर्थिक वृद्धि सेयर बजारमै निर्भर रहने अवस्था सिर्जना हुन पुग्यो।

    तर केही समयपछि लगानीकर्ताले सबै अण्डा एउटै टोकरीमा हाले जस्तो गरी इस्ट इन्डिज ट्रेडिङमा लगानी गर्नु उपयुक्त तरिका होइन भन्ने महसुस गरे। सबै लगानी एउटै जहाजमा गरेर आफ्ना सबै रकम जोखिममा पार्नुभन्दा लगानीकर्ताले धेरै जहाज वा कम्पनीका सेयर किनेर आफ्नो जोखिम न्यूनीकरण गर्न थाले।

    त्यसमध्ये ३ वा ४ जहाजमध्ये एउटा हरायो भने पनि लगानीकर्ताले फाइदा लिन सक्ने अवस्था महसुस गरे। यो नै सेयर बजारको सफल सूत्रको रुपमा विकास भयो। त्यसको एक दशकभित्रै फ्रान्स, इङ्ल्याण्ड, बेल्जियम र नेदरल्याण्ड्स अन्य व्यवसाय गर्ने कम्पनीहरुले पनि यस्तै मोडलअनुसार गर्न पुगे।

    पहिलो स्टक एक्सचेन्ज

    सन १८१७ मा न्युयोर्क स्टक एक्सचेन्जको स्थापना हुनुलाई ऐतिहासिक घटनाको रुपमा लिइने गरिएको छ। न्युयोर्क स्टक एक्सचेन्जले स्थापना भएको पहिलो दिनदेखि नै कारोबार सुरु गरेको थियो। तर केहीले भने अमेरिकाको पहिलो सेयर बजारको रुपमा न्युयोर्क स्टक एक्सचेन्जको सट्टा फेलाडेल्फिया स्टक एक्सचेन्जलाई लिए पनि न्युयोर्क स्टक एक्सचेन्ज छिट्टै नै अमेरिकाको सबैभन्दा शक्तिशाली सेयर मार्केटको रुपमा उदाउन पुग्यो।

    प्रतिस्पर्धा खासै नहुनु र व्यापारिक केन्द्र न्युर्योकमा अवस्थित हुनु नै न्युयोर्क स्टक एक्सचेन्ज छिट्टै उदाउनुको कारण थियो। समय क्रमसँगै लण्डन स्टक एक्सचेन्च युरोपको महत्वपूर्ण सेयर बजार भयो भने न्युयोर्क स्टक एक्सचेन्ज अमेरिका र बाँकी विश्वको सेयर बजारमा विभाजन हुन पुग्यो। तर पनि सन १८०१ मा स्थापना भएको लण्डन स्टकलाई आधिकारिक मानिएको छ।

    सेयरको वर्तमान अवस्था

    नेप्से परिसूचकमा उतार चढाव आउने क्रम अधिक बढेको छ। दैनिक २ अर्ब सम्मको कारोवार भएको सेयर बजारमा अहिले संकुचन आएको छ। सेयर बजारका खेलाडीहरु बजारबाट निस्किन खोजेको जस्तो कारोबारले देखाएको छ। धेरै कम्पनीको सेयर मुल्य बोनस र हकप्रदको कारण ओभर भ्यालुड भएको देखिन्छ। सेयरमा जहिले पनि आधारभूत पक्ष हेरेर सेयर किन्दा बढी नाफा आर्जन गर्न सकिन्छ। त्यसैले सुचीकृत कम्पनीको आधारभूत पक्ष हेरेर सेयर किन्ने, प्राविधिक पक्ष हेरेर होल्ड तथा बिक्री गर्दा सेयरबाट लाभ आर्जन गर्न सकिन्छ।

    सेयरमा जबसम्म उत्पादनमूलक उद्योग बढ्दैन र देशको अर्थतन्त्रमा उद्योग, सेवा, कृषि, पर्यटन आदिको हिस्सा बढेर जाँदैन, तबसम्म कुनै एक प्रकारको सूचीकृत कम्पनीको मात्र सेयर मूल्य बढ्न सक्दैन।

    बजारमा उत्तारचढाव आउन थालेपछि नयाँ लगानीकर्तामा निराशा छाएको छ। उनीहरुको लगानीको प्रतिफल आउने सम्भावनामा समेत ढुक्क हुने अवस्था छैन। त्यसैले सेयरमा हुने लगानी असुरक्षित हुन थालेको छ। असुरक्षित लगानी रहेसम्म बजारमा थप लगानीको वातावरण बन्न सक्दैन। त्यसैले लगानीको सुनिश्चितता नभएसम्म लगानी गर्नु उपयुक्त नहुन सक्छ। सबै लगानीकर्ताले आफूले गरेको लगानीको प्रतिफल आउने वातावरण नबनेसम्म बजार सुरक्षित हुन सक्दैन।

    खासगरी सेयर बजार बैंकको ब्याजदरमा निर्भर रहेन गर्छ। ब्याजदर बढी भयो भने सेयर बजार खस्कन्छ र ब्याजदर कम भयो भने सेयर बजार बढ्छ। तर हामीकहाँ अधिक तरलताको अवस्था सृजना हुँदासम्म पनि बजार खासै चलायमान हुन सकेको छैन।

    नेप्से तलमाथि हुनुलाई बजारमा सामान्य रुपमा हेर्ने गरिन्छ र हेर्नुपर्छ। तर आफूले लगानी गरेको कम्पनीको मूल्यको उतारचढाव कस्तो छ? त्यस्ता सेयरको कारोबार कति भयो? लगानीकर्ताको मनस्थिति लगायतका विषयमा भने सबै लगानीकर्ताले अध्ययन गर्नै पर्छ।

    बजारमा सेयर किन्न र बेच्न खोज्ने बीचको सहमतिको विन्दुलाई लगानीकर्ताले अवलोकन गर्नुपर्छ। किन्ने र बेच्नेले अनेक उपाय अपनाएर सेयरको मूल्य प्रभावित गर्नु बजारको प्रक्रियाभित्रै पर्छ। ‘बियरिस’ अवस्थामा किन्नेहरू हाबी हुन्छन भने ‘बुल’ पिरियडमा बेच्ने समुह बढी हुन्छन्। त्यसैले सेयर बिक्री गर्ने र किन्ने बिचको बिन्दुको आकलन लगानीकर्ताले गर्नुपर्छ। २० प्रतिशत वा सोभन्दा बढीले घटेको वा ६० दिनसम्म ओरालो लागेको बजारलाई बियरिस ट्रेन्ड मान्ने अन्तराष्ट्रिय प्रचलन छ। याे अवस्थामा समग्र लगानीकर्ताले बजारप्रतिको भरोसा गुमाउने हुँदा सेयरको मागमा उच्च गिरावट आउनु स्वाभाविक हो।

    सेयर बजारलाई अर्थतन्त्रको धडकनको रुपमा लिने गरिन्छ। सेयर बजार ओरालो लागेको बेला सट्टेबाज र च्याँखे थाप्नेहरुका लागि निकै रााम्रो समय मानिन्छ। उनीहरु यस्तो अवस्थामा बजारमा सल्बलाइरहेका हुन्छन्। नियमित कारोबारी तथा लगानीकर्ताहरु यस्ता व्यक्तिसँग सधैं सचेत हुनु पर्छ। कुनै पनि देशमा लगानीको वातावरण छ, छैन भनेर त्यही देशको सेयर बजारलाई हेर्ने गरिन्छ।

    सेयर बजारलाई विश्वभर नै अति संवेदनशील क्षेत्रको रूपमा हेर्ने गरिन्छ। सेयर बजारलाई कमजोर राजनीति संयन्त्रले सबैभन्दा बढी प्रभाव पार्ने परिपाटी विगतमा थियो। तरल राजनीति अवस्थामा नीति नियममा हुने हेरफेरले सेयरबजारलाई बढी प्रभावित बनाउने देखिएको थियो। माओवादी नेतृत्वमा सरकार बनेपछि सेयर बजारमा एक किसिमको ‘स्लो पोइजन’ देखा परेको थियो। दुई तिहाई प्राप्त सरकार रहँदासम्म पनि लगानीकर्ताको मनोबलमा कमी आइरहेको अवस्था छ। यस्तो हुनुमा सत्ता राजनीतिमा देखिएको खटपटलाई पनि लिन सकिन्छ।

    हाम्रो पुँजी बजार धेरै भोलाटाइल भएको नियामक निकायले स्विकार गरिसकेकोले आधुनिक अर्थतन्त्रमा भुक्तानी प्रणाली , अधिक तरलताजस्ता कुरामा सरकार संवेदनशील बन्नुपर्छ। अधिक तरलता भयो भने अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुन्छ। यसले अर्थतन्त्रलाई धराशयी बनाउन सक्छ। अधिक तरलता र न्यून तरलताको समयमै व्यवस्थापन गर्न सकिएन भने यसले समग्र बैंकिङ क्षेत्रलाई नै  प्रभावित बनाउने निश्चित छ।

    चालु आबको लागि ल्याइएको मौद्रिक नीतिले बजारमा अधिक तरलता ल्याउन सहयोग गरेको छ। जसको कारण मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट खुलेको बजारमा ८४ अंकले बजार बढ्यो।

    कारोबार सुरु भएको सात मिनेटको अवधिमा नेप्से परिसूचक ८४ अंकले बढेर १ हजार ४ सय ७९ दशमलव शुन्य ३ बिन्दुमा  पुगे पनि त्यसपछि यसले सोही गतिलाई निरन्तरता दिन सकेन। जसको कारण बजारमा उतार चढाव आउने क्रम हाबी भएको छ। एकै दिनमा पनि बजार माथि पुग्ने फेरि तल झर्ने क्रमका कारण सट्टेबाजहरु हाबी भएको देखिन्छ।

    पछिल्लो २/३ वर्ष देखि बैंक तथा वित्तीय संस्थाले निक्षेपअनुसार लगानी बढाउन सकेको देखिँदैन। सरकारले पनि निर्धारण गरेजति आन्तरिक ऋण उठाउन सकेको छैन। सरकारसँगै निजी क्षेत्रले पनि आवश्यक मात्रामा रकम खर्च गर्न सकेको छैन। तर अहिले न त कर्जाको माग छ न त लगानीका लागि नयाँ ग्राहक नै।

    बैंकिङ क्षेत्रले बचतमा ३-४ प्रतिशत मात्रै ब्याज दिइरहेको अवस्थामा छिमेकी मुलुकमा त्यस्ता बैंकले भने करिब ८-९ अझ भनौं मुद्दती निक्षेपमा त १० देखि १२  प्रतिशतसम्म ब्याज दिइरहेका छन्। यसले अन्तत: नेपालको पुँजी पलायनमा सहयोग पुग्ने देखिन्छ।

    कर्जामा बढी ब्याज लिने तर निक्षेपमा ब्याजदर बढाउन नसक्ने परिपाटीका कारण पुँजी पलायन हुन जाँदा लगानीयोग्य रकम अभाव चर्किंदै जाने हो भने भोलिका दिन हाम्रोजस्तो अर्थतन्त्रमा विदेशबाट आएको पैसा पुनः विदेशमै जान सक्छ। यस्तो भएमा देशमा अनिश्चित र अन्योल सिर्जना हुने निश्चित प्राय: छ। त्यसैले राज्यले तत्कालै यस्तो अवस्थाको अन्त्य गर्नेतर्फ ठोस कदम चाल्नै पर्छ।

    यस्ता समस्याको निराकरण हुन नसकेमा भोलिका दिन नेपाली पुँजीसँगै उद्योग व्यवसाय नै पलायन हुन सक्छ। लगानी गर्ने क्षेत्र अभाव भइरहेकै अवस्थामा उद्योग नै विस्थापित हुन थाल्यो भने हाम्रो सबै आर्थिक परिसूचक डामाडोल भई मुलुकलाई गम्भीर आघात पुग्न सक्छ।

    अहिलेको अवस्थामा सरकार, निजी क्षेत्र, साना लगानीकर्ता, नियामक संस्था सबैले बजारको मनोबल बढाउनुपर्छ। पुँजी बजारलाई देशको ऐना मानिन्छ, यसको वास्तविक विकासले मात्र अर्थतन्त्रको सही तस्बिर दिन सक्छ। जबसम्म देशमा उद्योग सञ्चालन गर्ने वातावरण र रोजगारीका अवसर बन्दैनन् तबसम्म सेयर बजारमा ओरालो लाग्ने क्रम राेकिँदैन। त्यसैले सरकार र दलले नै बजारलाई सही दिशातर्फ लानुपर्ने खाँचो बढेको छ।

    नेपाल पनि भारतजस्तै कोरोना संक्रमणको हब बन्न सक्ने संभावना बढ्दै गएको छ। आम नागरिकको पहिलो प्राथमिकता भनेको आफ्नो जीवन रक्षा गर्नु हो। जीउन सके मात्रै अरु सोच्न सकिन्छ। अहिलेको अवस्था हेर्दा भोलिका दिन योभन्दा पनि भयावह अवस्था आउन सक्छ। त्यसैले सेयरमा लगानी गर्नुपूर्व एकपल्ट सोच्नु उपयुक्त हुन सक्छ। किनकि हामीकहाँ कमाउने भन्दा गुमाउनेको संख्या अधिक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]