विज्ञान प्रविधि

क्लिन फिड नीति साउन १ बाटै लागू गर्न सरकारलाई दबाब

नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापनरहित

असार २८, २०७७

    काठमाडौं : बहु प्रतिक्षित क्लिन फिड नीति यही साउन १ देखि नै लागू गर्न सरकारमाथि दबाब परेको छ। सरोकारवाला संस्थाले आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित क्लिन फिड नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

    नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन सङ्घ, ब्रोडकाष्टिङ एसोशिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै देश र जनताको हितमा रहेको उक्त नीति अविलम्ब कार्यान्वयन गर्न माग गरेका हुन्।
     
    धेरै वर्षदेखि नेपाली मिडियाले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको सन्दर्भमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०७३ साउन ७ गतेको बैठकद्वारा नेपालमा वितरण भइरहेका विदेशी टिभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो। 

    वर्तमान सरकार बनेपछि विज्ञापनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने स्पष्ट कानूनी व्यवस्था गरेकामा ती सङ्घसंस्थाले स्वागत गरेका थिए।

    विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमाभित्र प्रसारण, वितरण हुने विदेशी टिभी च्यानल पूर्णरुपमा विज्ञापनरहित हुनुपर्दछ भन्‍ने हो। 

    स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवद्र्धन गर्नुका साथै परनिर्भरतालाई समेत कम गर्न सघाउ पुर्‍याउने भनेर आफूहरुले बारम्बार पैरवी गर्दै र नीति लागू गर्न माग गर्दै आएको ज्ञापनपत्रमा उल्लेख छ। 
     
    केही समययता नेपालले आफ्नो परिमार्जित नक्सा जारी गरेपछि केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर कपोलकल्पित र भ्रामक समाचार  प्रसारित गरेको कार्यलाई समेत धेरै हदसम्म रोक्नका लागि पनि सो नीति नयाँ आर्थिक वर्षदेखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने उक्त संस्थाको ठहर छ। 

    विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेको आयात निरूत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम पनि भएको ज्ञापनपत्रमा उल्लेख छ। 


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]